Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

स्वार्थ (कथा) - रामकृष्ण पुडासैनी

स्वार्थ (कथा) - रामकृष्ण पुडासैनी

सतीश चापागाईं

२९, भाद्र २०७६
images
  बुबा सामान्य किसान, हुनुहुन्थ्यो । दैवको नियतीले उहाँ सानै छँदा टुहुरो हुनुभयो । जसको परिणाम स्वरुप उहाँले जीवनमा धेरै संघर्ष गरेर अगाडि बढ्नु पर्यो । आफ्नो अभिभावक नै नभएपछि उहाँले धेरै पढ्न पाउनु भएन। खेती किसानीमा नै आफ्नो जीवन व्यतित गर्नुभयो । आफू टुहुरो भए पनि आफूभन्दा सानालाई टुहुराको आभाष हुन दिनुभएन । समाजले आफूलाई भाइमारा नभनोस् भनेर चारपाटा मिलेका सम्म खेतबारी काकालाई दिएर आफूले चोसोपाटो राख्नु भयो । हाम्री आमा पनि सार्है सोझी र कडा परिश्रमी हुनुहुन्छ । बा र आमाको कडा परिश्रमले हामी चार वटा छोराछोरी सजिलै हुर्काउनु भयो । उहाँहरूको कडा परिश्रम नभएको भए सायद पुर्ख्यौली सम्पत्ति बच्दैनथ्यो होला । उहाँहरूको कडा परिश्रमले उक्त जायजेथा जस्ताको त्यस्तै छँदैछ । राजनीतिको 'र' पनि नजान्नु भएको हाम्रो बुबालाई टोल छिमेकले भने जे पर्दा पनि खोज्थे । छिमेकीमा परेका विवाह र ब्रतबन्ध सबै काममा बुबाले नै सक्नुहुन्थ्यो। काकालाई छर-छिमेकीले निकै आदर गर्दथे । पढे पनि काकाले बुबालाई आदर गर्नुहुन्थ्यो । हरेक कुरा बुबालाई सोधेर मात्रै गर्नुहुन्थ्यो । हामी ४ जना थियौँ । हामीमध्ये कान्छो भाइले पढाइ सकेर नोकरी खोज्दै थियो । मेरो भर्खरै लोक सेवामा नाम निक्लेको थियो । यो बेलामा आमा बुबाका अनुहारमा सन्तोषका घेराहरू देखिन्थे । उहाँहरू मुस्कुराएको देखेर हामीलाई संसार जिते जस्तो लाग्थ्यो। हाम्रो घरबाट बजार अलि टाढा थियो । गाडी घर नजिकैबाट चल्न थालेको धेरै भएको थिएन । हामी काम विशेषले परिवारका सबै जना बजार गएका थियौँ । घर फर्कदै गोधुली साँझ परेको थियो । म बसमा बजेको संगीतमा झुम्दै थिएँ । हामी करिब-करिब घर नजिकै पुग्न थालेका थियौँ । यत्तिकैमा ठूलो आवाज आयो । बसको पछाडि बसेको म उछिट्टिएर पर पुगेछु । मेरो खुट्टा र पाखुरामा चोट लागेको थियो । घर नजिकैको खहरे खोलाको पुलमा विद्रोहीहरूले राखेको एम्बुस पड्किएको आवाज रहेछ । उक्त एम्बुस पड्किँदा कोही बाँच्यौ जस्तो लागेको थिएन । तर हामी केही बाँच्न सफल भएका रहेछौँ । मैले आफ्नो चोट बिर्सेर उक्त बसमा रहनुभएका मेरा बुबा-आमा दिदीबहिनी र भाइको खोजी गरेँ । उहाँहरू यस धर्तीबाट बिदा भैसक्नु भएको रहेछ । बसको अगाडिको भागमा बस्ने कोही पनि जीवित हुनुहुँदैनथ्यो । मेरा सम्पूर्ण परिवार आफ्नै आँखा अगाडि एक चिहान हुँदा मन थाम्नै सकिन । रोएँ धेरै रोएँ । चिच्याएँ कराएँ तर मेरो चित्कार सुनेर ढाडस दिन उहाँहरू उठ्नुभएन । आखिर म एक्लै यो संसारमा बाँच्न बाध्य भएँ । मेरा सपरिवारको अनाहकमा ज्यान गएपछि मलाई केही समय काकाले लगेर राख्नुभयो । यही बेला आमाका सम्पूर्ण गहना काकीले आफ्ना बनाइसक्नु भएको थियो भने काकाले बुबाको सम्पूर्ण जमीन । जब मैले यो कुरा थाहा पाएँ तब उहाँहरूसँग बस्न मन लागेन र आफ्नै घरमा आएँ । सहानुभूति देखाउने निहुँमा मानिसहरू कतिसम्म गिर्न सक्दा रहेछन् भन्ने कुरा मेरा काका काकीबाट प्रष्ट थाहा पाएँ । उहाँहरूको नीच र स्वार्थी स्वभावले ममा केही साहस पलायो र संघर्षशील जीवनमा संघर्ष गर्न जुटेँ । जब उहाँको घरबाट निस्किएँ त्यसपछि मेरा घरमा थरि थरिका सैनिक आउन थाले । बिहान सरकारी सैनिक आउँथे र बाको राजनैतिक झुकावबारे सोध्थे । खाने बेलामा अर्को थरि आउँथे । तिनीहरूले बालाई मान्दथे । सञ्चो बिसञ्चो सोध्दथे । तर खाइस् कि खाइनस् भनेर सोध्दैनथे । काकाले ममाथि गरेको अन्यायका बारेमा बोल्दथे । पिर नगर हामी छौँ भन्थे । फेरि दिउँसो काकालाई राम्रो मान्ने सिपाही आउँथे । तेरो सम्पत्ति अरुले खाइदेलान् कि भनेर काकाले सुरक्षित राखिदिएको छ भन्थे । तर तेरो नाममा काकाले किन राखेन भन्दैनथे। रातमा एम्बुस राख्ने सिपाही आउँथे । तिनीहरूले जे भयो भयो अब तिमी हामीसँग आऊ भन्थे । यसरी दिनहरू गइरहेका थिए । मैले मेरा सारा आफन्त गुमाएको थिएँ । यस्तो बेलामा मलाई ढाडस दिने कोही थिएनन् । मेरो मनोभावना बुझ्न पनि कोही अगाडि परेनन् । बिना स्वार्थ कोही बोलेनन् । दुई चार दिन ढाडस दिने आफन्तहरू पनि क्रमशः पातलिँदै गए । उनीहरूको उपस्थिति प्राय: शून्य भयो । म नितान्त एक्लो हुँदै गएँ । एघारौँ दिनको काम गर्दा आँगनभरि जम्मा भएका आफन्त छर-छिमेकीहरू बिस्तारै कम हुँदै गए । यस्तो परिस्थितिमा आफ्नो भन्ने कोही नभएपछि व्यक्ति, समाज र राज्य व्यवस्थाप्रति नै मेरो भरोसा टुटेको थियो । बिनाकसुर मैले सर्वस्व गुमाएको थिएँ । त्यस्तो अवस्थामा पनि मेरो पक्षमा कसैले बोलेनन् । धन्न काकाको नजर नपरेको केही ठाउँको जग्गा थियो । मैले स्थायी जागिर हापेर विदेश जाने बन्दोबस्त मिलाएँ । मेरो नदेख्दा देख्न मन लाग्ने देखे झ्याउ लाग्ने खालको यौटा साथी थियो । मलाई त्यति मन पर्दैनथ्यो । तर पनि अरु कोही नहुनाले उसैकोमा घरमा जान्थेँ । तर उसकी आमाले मलाई देख्ने बित्तिकै आफ्नो छोरालाई गाली गर्थिन् । आमा चाहीँको सोच मेरो संगत नगरोस् भन्ने थियो । म सहाराबिनाको भएर होला नराम्रो दृष्टिकोणले हेर्थिन् । त्यसैले साथीको घरमा जाँदैनथेँ । उसलाई बाटैमा भेट्थेँ र फर्किन्थेँ । ऊ भने दिनहुँ मेरो घरमा आउँथ्यो । त्यही भएर सधैं त्यो साथीको घरमा नगइकन बाहिर नै भेटिन्थ्यो । विदेशको लागि भिसा आयो । एक मन रमायो भने अर्को मन दु:खी भयो । मलाई सम्पूर्ण अतीत बिर्सन र केही गर्नका लागि पनि विदेश जानू नै थियो । विदेश जानु अघि मैले मेरा सामानहरू उही साथीको घरमा छोड्न छोडेँ । मैले सामान छोडेको उसको आमाले पनि देख्नुभएको थियो । सारा सामान छोडेर हो कि उहाँले मप्रति सहानुभूति दर्शाउँदै, "प्युंसो , कस्तो अभागी रहेछ । यसलाई एक्लै छोड्न हुँदैन सधै साथ दिएस् बाबू भनेको सुनेँ । देखावटी माया ठानेँ । तर गला अवरुद्ध भएको थियो । आँसु नयनमा टिलपिल देखिन्थे । तर मैले कही वास्तै नगरीकन हिँडेँ । नेपाल छोड्दा कहिल्यै फर्किन्न जस्तै लागेको थियो । मेरा परिवार अनाहकमा मारिएका थिए । आफ्नै काकाले भए जति सम्पत्ति हडपे । भएका आफन्त टाढिए । यो देशमा आफ्नो भन्ने कोही थिएन । त्यसैले कहिल्यै नफर्कने बाचा गरेर म आफ्नै देशबाट बिदा भएर परदेशतिर लागेँ । परदेशमा पनि सुख कहाँ थियो र ? पढाइको ताप र कामको चाप थियो । जे होस् गर्दै गएँ । आफूलाई नितान्त एक्लो महसुस गर्दै परदेश लागे पनि देशमा रहेका ती आफन्तहरूको याद आउने रहेछ । आफूलाई सम्हालेर बस्नै गाह्राे हुने रहेछ । जतिसुकै जान्ने भए पनि बिना परिवार मानिस एक्लो मानिस भौतारिने रहेछ । सोच्थेँ मेरा पनि बा-आमा भैदिएको भए......मेरो जीवन अर्कै हुन्थ्यो । सारा इष्टमित्र आफ्ना हुन्थे । अहिलेसम्म मेरो बिहेवारी भैसक्थ्यो । बालबच्चा भैसक्थे । तर आज म नितान्त एक्लो छु । मेरो जिन्दगी कहाँ पुग्छ र कहाँ सकिन्छ थाहा थिएन । हुन त मानिस एक्लै भयो भने स्वतन्त्र र छाडा प्रवृत्तिको पनि हुन्छ । मेरो साथी समीर बढी नै स्वतन्त्रताको आभाष गर्दै सानै उमेर चार / चार वटा कन्यालाई श्रीमती बनाएर भित्र्याएको थियो । तर कुनै श्रीमती पनि स्थायी रुपमा ऊसँग बस्न सकेनन् । त्यसैले बिहे गरेर मात्र सबैथोक कहाँ पाइन्छ र ! बिहे नै जिन्दगीको सबथोक होइन र हो पनि । यस्तै कुरा सम्झँदा बिहे गर्न पनि मन नै लाग्दैनथ्यो । तर यो उमेरमा पनि पच्चीस बर्षे जवानले जस्तै गरेर काम गर्छु । कस्का लागि ? के गर्न ? मनभरि प्रश्न उब्जिन्छन् । अझै कति बर्ष यसरी नै दु:ख गर्नु पर्ने हो ! यस्तो बेलामा घरजम भएको भए भन्ने मात्रै लागिरहन्थ्यो । एकदिनको कुरा हो । काम गर्दागर्दै एक्कासी पाखुरा दुख्न थाल्यो । केही मिनेटमै त्यो दुखाइ छातीसम्म पुग्यो । सहनै गाह्रो भयो । सहन नसकेपछि बेस्सरी चिच्याएको थिएँ । त्यसपछि मलाई केही थाहा भएन । मलाई अस्पताल लगिएको रहेछ । दुई दिन पछि मात्रै होश आएको रहेछ । पछि सँगै काम गर्ने साथीबाट यो कुरा थाहा पाएँ । मलाई हृदयघात पो भएको रहेछ । जब जब म बिरामी पर्थेँ । तब तब घर-परिवारको बढी याद आउँथ्यो । बिरामी हुने बित्तिकै हाम्रा बा झारफुक गर्न अगाडि सर्नुहुन्थ्यो । हुन पनि उहाँले झारफुक गरेपछि बिमार सञ्चो हुन्थ्यो । उहाँले पहेँला अक्षता सँगसँगै बाटेको धूप बालेर अनुहार पट्टी पारेर फुक्दा कति आनन्द आउँथ्यो । र केही छिनमा सञ्चो हुन्थ्यो । जतिबेला म बिमारी हुन्थेँ त्यतिबेला नै बाटेका धुपका झिल्का सम्झन्थेँ । र यस्तो बेलामा नेपाल आफ्नो घर र आफ्नो माटोको मायाले निकै नै सताउँथ्यो । जति नै घृणा गरे तापनि मेरो साइनो आफ्नै देश नेपालसँग भन्दा अरु देशसँग छैन जस्तै लाग्थ्यो । बिरामी अवस्थाबाट भर्खरै केही छुटकारा पाएको थिएँ । आफ्नो जन्मभूमिको बेस्सरी याद आयो । त्यसैले डाक्टरसँग सल्लाह गरेँ र केही समय नेपाल बस्ने निर्णय गरेँ । हृदयाघातका सम्बन्धमा डाक्टरले मलाई दुई कुरा बताएका थिए । नियमित औषधी सेवन गर्नु पर्ने र समयमै अस्पताल नपूगे जे पनि हुन सक्ने अवस्था । मेरो मन एकतमासले अतालिएको हुँदा म जे परे पनि सहने हिसाबमा नेपाल जाने निर्णय गरेँ र हिँडे पनि । मेरो सरासर जाने ठाउँ कतै थिएन । काकाको घरमा जाऊँ भने उहाँ नै पराइ जस्तै बन्नुभएको थियो । त्यसैले उहाँसँग कुनै सम्बन्ध नराख्ने विचार गरेँ । म आफन्त भेट्न भन्दा पनि माटोको यादले नेपाल आएको थिएँ । मेरा आस्थाको र श्रद्धाको मन्दिर भनेको श्री पशुपतिनाथ मन्दिर हो । त्यसैले पशुपतिनाथ मन्दिरको दर्शन गरे। श्लेष्मान्तक वनको भित्तामा बसेर आर्यघाटमा जलाइएका लाशहरू हेरेँ । र सोचें, यसरी आफ्नो माटोमा आफन्तहरूका बीच जल्न पाउनु पनि भाग्य हो । यिनीहरू कति भाग्यमानी रहेछन् । आफ्नो मरण कहाँ र कसरी हुने हो ठेगान छैन । आफन्त भन्ने कोही छैनन् । अझसम्म घरजम गरेको छैन । कहिले घरजम गर्ने , बालबच्चा जन्माउने र हुर्काउने । यस्तै सोच्दै थिएँ । आर्यघाटमा बजेको शंखले झस्काइदियो । आर्यघासम्म ल्याउने कोही छैन मेरो । त्यहाँ हेरिरहँदा धेरै विरक्त लाग्यो । मानिसको दुईदिनको चोलामा तँछाडमछाड किन गर्छन् ? मरेर जाँदा के नै लान्छन् र ? हाम्रा काकाले हडपेको सम्पत्ति पनि छोडेर रित्तै हात उकालो लाग्ने हुन् । त्यही बसी-बसी आफ्ना सारा इष्टमित्र सम्झेँ । अनि सम्झे बा-आमा । बा-आमाको नाममा केही दान गर्न मन लाग्यो। छेवैको वृद्धाश्रमको हाकिमलाई के दान गर्दा उपयुक्त हुन्छ भनेर सोध्न ढोकाबाट छिर्न मात्र लागेको थिएँ । कानमा एक वृद्धको आवाज ठोकियो । "एउटा छोराको भविष्यको लागि दिनरात नभनी कति दु:ख गरियो । आज त्यही छोराले मलाई वृद्धाश्रममा छोडेर गयो ।" यी भनाइले मुटु चसक्क भयो । उभिएको धर्ती भासिए झैँ भयो । मन अमिलो भयो । यी नयन रसाएर आए । आफूले भने सानै उमेरमा अनाहकमा आफ्ना बाबू- आमा गुमाउनु परेको थियो । बुबा-आमा नहुँदाको चोट पीर र पीडा मैले भोगेको थिएँ । त्यसैले मलाई उहाँको अनुहार हेर्न मन लाग्यो । मुटुमाथि ढुङ्गा राखेर बूढा बाको आवाज आएतिरै फर्केर हेरेँ । जब उनलाई देखेँ । छाँगाबाट खसे जस्तै भए । हातखुट्टा लगलग काम्न थाले । सम्पूर्ण अतीतले मलाई चिथोर्न आयो । शक्ति हुँदा मानिसले किन अहम् गर्छ ? किन अरुलाई दु:ख दिन्छ ? किन भविष्य सोच्न सक्दैन ? आदि प्रश्न मनभित्र खेलिरहे । आखिर सन्तान भएर पनि के हुँदो रहेछ र ? संसारमा एक्लै आएँ र जीवनभर पनि एक्लै भएँ । आखिरमा एक्लै जानू नै छ । त्यसैले बिहे गर्ने जुन सोच बनाएको थिएँ । ती सारा सोच त्यागेँ । र ती अनुहार चाउरिएका । दुब्ला ख्याउटे बूढा बालाई केही रकम दिएँ । आश्रममा केही सहयोग गरेँ र त्यहाँबाट हिँडेँ । त्यहाँ एकछिन उभिन मन लागेन । किन कि ती बूढा मेरा काका (बाको भाई) थिए । काठमाण्डौ, हाल : स्पेन (पुडासैनी अनेसास स्पेनको संरक्षक हुनुहुन्छ । उहाँको यो कथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र २९, २०७६ आइतवार - ०९:०५:४१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend