"हजुरको हातबाट भाषा र बिषयवस्तुको सम्पादन नभई म यी रचना कतै प्रकाशन गर्दिनँ। यति हजुरले मेरा निम्ति गरिदिनै पर्छ ।"
प्राज्ञिक बिषय थियो । ठिकै छ, त्यत्तिको उचाइ भएको व्यक्तिले यसरी आग्रहसाथ भनेपछि उसले नाइँ भन्न सकेन ।
समय कहाँ थियो र, निकाल्नुपर्थ्यो । बारम्बार इमेल वा मेसेन्जरमा आउँदै जान्थे, ऊ रातबिरात गरेर हेरिदिन्थ्यो । उसको प्राइभेट अफिसमा भने यही कारणले सहकर्मीसित थोरै मनमुटाव पनि भयो, आफ्नो अफिसको कामका लागि समय नदिएको गुनासो आयो । उसले झेल्यो ती सबै । उसको कम्प्युटरमा एउटा फोल्डर उनै लेखकका नाममा रह्यो । हेर्दै पठाउँदै गर्ने क्रम चल्यो । आखिर एउटा असल सिर्जनात्मक कामका लागि थियो त्यो ।
पुस्तक नै निस्कने सूचना आयो । झन् राम्रो । आफूले सहयोग गरिदिएका कारण एउटा सिङ्गै पुस्तक निस्कँदै छ भन्दा जसलाई पनि हर्ष हुन्छ, उसलाई पनि भयो । लोकार्पण कार्यक्रमको निम्ताको कार्ड उसको मेलमा आयो - साथमा एउटा अनुरोध पनि "सर ! कृपापूर्वक यो निम्ता आफ्ना सम्पर्कमा भएका सबैलाई पठाइदिनु होस् । मेरो त सम्पर्क सूत्र नै हजुर त हो ।" उसले त्यस विनम्रताको कदर गरेर सबैलाई निम्ता पनि गरिदियो ।
कार्यक्रममा उपस्थित हुनेमध्ये साठी प्रतिशतजति उसैका निम्तालु थिए । ऊ दङ्गदास भयो ।
कार्यक्रम शुरु भयो, ऊ दर्शक दीर्घामा चुपचाप बसिरह्यो । सबैले उसलाई हेरेर गिज्याइरहेका जस्तो लाग्यो । अरू वक्तालाई त सरोकारको कुरा भएन लेखकले बोल्ने बेला त्यत्रो मिहिनेतको पक्कै सम्झना गर्लान्, र नाम लेलान् भनेर ऊ मख्ख परेको थियो। त्यो पनि स्वाहा भयो ।
कार्यक्रम सकेर निस्कने बेलामा उसले अधिकारपूर्वक लेखकलाई हातमा समातेर भन्यो "बधाई छ ल ! खै, किताब उपलब्ध गराउनुस् त !" लेखकले उल्टो उसको हात झट्कारेर बोले - "के मागिराख्या? उ त्यहाँ काउन्टरमा गएर किन्नुस् न ।"
- सातदोबाटो, ललितपुर ।
[email protected]
(- विधान आचार्यको यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)