काठमाडौं ।
म्युजिक नेपालको ३६ औं वार्षिकोत्सव समारोहमा एस्पी कोईराला र आलोक श्रीको समय लोकार्पण गरिएको छ ।
सोहि समारोहमा नेपाली सङ्गीत क्षेत्रका ४ सर्जकहरुलाई नगद सहित ‘म्युजिक नेपाल सम्मान’ र एकजना कर्मचारीलाई ‘दीर्घसेवा सम्मान’ अर्पण गरियो ।
वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा दरबारमार्गस्थित होटल याक एण्ड यतिको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

समारोहमा विशिष्ठ गीतकारद्वय रत्नसमशेर थापा र किरण खरेल एवं विशिष्ट सङ्गीतकारद्वय दीपक जंगम र शम्भूजीत बासकोटालाई जनही नगद रु।५० – ५० हजार र ट्रफिद्वारा सम्मान गरिएको थियो । यसैगरी ३५ वर्षदेखि म्युजिक नेपालमा सेवारत कर्मचारी कृष्ण खनाललाई ‘दीर्घसेवा सम्मान’ द्वारा कदर गरिएको थियो ।
विमोचित एल्बममा ‘एक बुँद पानी, वैंशालु व्यथा, म तिम्रो रोजाईको, भैगो मलाई, छिनको भेट, अरुले मेरो, घैया धान, न त कुनै, अन्तै हेरेजस्तो, काँधमा खकन, जिन्दगीलाई जिन्दगी, मायाको मामिला र नेपाली भई’ गरी १३ वटा गीत रहेका छन् भने गीतमा प्रमोद खरेल, रामकृष्ण ढकाल, राज सिग्देल, अन्जु पन्त, प्रेमध्वज प्रधान, दीपक लिम्बू, विवेक श्रेष्ठ, जिना रसाईली, यम बराल, प्रल्हाद तिमल्सिना, नरहरि प्रेमी, कृष्ण काफ्ले, सिर्जु अधिकारी र रुपक डोटेलले स्वर दिएका छन् ।

यसअघि गीतकार कोईरालाको ‘टाँकीको घाँस’, ‘निर्वस्त्र नगरीमा’ कवितासङ्ग्रह एवं ‘धड्कनभित्र’, ‘प्रहर’ र ‘उपमा’ शीर्षकमा एकल रचनाका गीति एल्बम प्रकाशन भईसकेका छन् ।
समारोहलाई सम्वोधन गर्दै म्युजिक नेपालका प्रवन्ध निर्देशक सन्तोष शर्माले भने "रेडियो नेपाल र रत्न रेकर्डिङ संस्थानले तयार पारेको जगमा म्युजिक नेपालको स्थापना भएको हो ।"
"म्युजिक नेपालको स्थापना पछि नै नेपालमा सङ्गीतको व्यवसायले गति लिएको हो । नेपाली सङ्गीतको जग बसाल्न र यो क्षेत्रलाई गति दिन महत्वपूर्ण भूमिका निर्वाह गरेका चार सर्जकहरुलाई सम्मान गर्न पाउँदा गर्वको अनुभूति भएको छ ।" शर्माले थपे ।
म्युजिक नेपाल निजी क्षेत्रमा स्थापित नेपालकै पहिलो म्युजिक कम्पनी हो । ३६ बर्ष अगाडी यसको स्थापना भएको थियो ।
तस्बिरहरु: आलोकश्रीको फेसबुकबाट