३, मंसिर २०७६
राजन त्रिपाठी, एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक हुन। विश्व सम्मेलनबाट निर्वाचित भएर आएपछि उनले काम पनि शुरु गरिसकेका छन् । त्रिपाठीसंग नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईंले गरेको कुराकानी प्रस्तुत छ ।
राजन जी कार्यकालको शुरुवात मै मिलेर जाउँ भन्ने खालको बिज्ञप्ति जारी गर्नु भो नि, किन ?
विजयी भएपछी आफ्ना मतदाता र सिंगो अमेरिकाज क्षेत्रलाई धन्यवाद दिनु मेरो कर्तब्य हो । यो एउटा औपचारिक बक्तब्य नै हो । निर्वाचनमा जाँदा हामी चार जना एकै पदमा आकांक्षी भयौं । त्यो बेला स्वाभाविक रुपमा फरक समुहमा रह्यौं । त्यो निर्वाचनको कुरा हो ।अब त हामी फेरी आफ्नो कार्य क्षेत्रमा फर्किएका छौं । हामी सबै मिलेर यो क्षेत्रको जिम्मा लिनुपर्छ । त्यसैले मैले सबैको साथ अगाडी बढ्नु पर्छ र बढ्छु भनेर त्यो विज्ञप्ति जारी गरेको हुँ ।
अबको तपाइको अभिष्ठ के हो?
अबको मेरो अभिष्ठ भनेको अमेरिकाज क्षेत्रको एकताबद्ध एनआरएन समुदाय नै हो । त्यसो भयो भने हामीले केन्द्रमा आफ्ना कुरा पुर्याउन र लागु गराउन सक्छौं । हामी विभक्त भयौं भने हाम्रो कुरा नसुन पनि सक्छ ।
संगै चुनाव लडेर पराजित भएका साथीहरुबाट कस्तो सहयोगको आशा गर्नुभएको छ ? तपाईले उहाँहरुसंग कुरा गर्नु भयो?
मेरो उहाँहरुसंग कुरा भयो । उहाँहरु सकारात्मक हुनुहुन्छ । प्रजातान्त्रिक संस्कारमा हुर्केका साथीहरु हुनुहुन्छ सबैजना । अमेरिकामा उहाँहरुको लामो समयको योगदान छ र बलियो उपस्थिति छ । मैले छोडेर उहांहरु छोडिनु हुन्न र मैले छोड्ने पनि छैन । त्यसैले मैले उहाँहरुलाई संगै लिएर जान्छु भनेको।
काम शुरु गर्नु भएको हो ?
हो । गैरआवासीय नेपाली सम्बन्धि ऐनमा सुझाव संकलन गर्नको लागि मेरो संयोजकत्वमा एउटा कार्यदल गठन भएको छ। बैठकमा उपसंयोजक (डिआर्सी) राम पोख्रेल, क्षेत्रीय महिला संयोजक उमा कार्की थापा, क्षेत्रीय युवा संयोजक बिमला सापकोटा, आइसीसी सदस्यहरु होम गौतम, स्वराज खाती, जेदु पोख्रेल, शंकर खड्का, शिवराज पौडेल र तुलसी सापकोटाको उपस्थिति रहेको थियो।
के निर्णय गर्नु भयो त ?
गैरआवासीय नेपाली संघका महासचिवले गैरआवासीय नेपाली संबन्धि ऐनमा सुझाव संकलन गर्नको लागि गरेको आब्हानलाइ समयमा नै सफलतापूर्वक सम्पन्न गर्नको लागि यो कार्यदल गठन गरिएको हो। मेरो संयोजकत्वमा गठन गरिएको ७ सदस्य कार्यदलले समयमा नै सुझाब संकलन गरि त्यसलाई कम्पायल गरेर आइइएसमा पठाउने छ। कार्यदलमा डिआरसी राम पोख्रेल, क्षेत्रीय महिला महिला संयोजक उमा कार्की थापा, क्षेत्रीय युवा संयोजक बिमला सापकोटा, आइसीसी सदस्यजेदु पोख्रेल, एनसीसी अमेरिकाका अध्यक्ष सुनिल साह र एनसीसी क्यानाडाका अध्यक्ष चिरन्जीवी घिमिरे रहेका छौं।
अमेरिकाजमा क्यानडा पनि पर्छ । यो पटक क्यानडाको प्रतिनिधित्व भएको छैन, कसरी चित्त बुझाउनु हुन्छ ?
त्यहाँका साथीहरुसंग चुनावमा हामी संगै छौं । मैले उहाँहरुको पनि राम्रो मत पाएको छु । क्यानडाका साथीहरुलाई पनि केन्द्रमा केहि जिम्मेवारी दिने बिषयमा कुरा भएको छ । म क्यानडाका साथीहरु र केन्द्रसंग नियमित छलफलमा छु ।
कत्तिको आशावादी हुनुहुन्छ ?
म त एकदम आशावादी छु । उत्साही छु ।
प्रकाशित मिति :मंसिर ३, २०७६ मंगलवार -
२०:०७:३३ बजे