Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

विदेशमा पनि म किन लेखिरहन्छु -प्रकाश श्रेष्ठ

विदेशमा पनि म किन लेखिरहन्छु -प्रकाश श्रेष्ठ

सतीश चापागाईं

१०, भाद्र २०७५
images
मेरो आफ्नो विगतलाई फर्केर हेर्दा मेरो विगत आफैमा एउटा लामो कथाको पुस्तक झै लाग्छ । त्यसो त सबैको जीवनको आ-आफ्नै कथा हुन्छ नै तर कसैको कथा लेखिन्छ र कसैको लेखिदैन । मलाई लाग्छ मैले आफ्नो विगतको अधिकांश कथा मेरा विभिन्न आलेख मार्फत सार्वजनिक गरिसकेको छु । आज भने मेरो अनलाईनहरुमा लेखनको आरम्भ र यसको विस्तार अनि यसमा आएको सुस्तता बारे छोटो कथा लेख्दै छु ।   हो मैले धेरै पटक सार्वजनिक गरिसकेको छु म विगत लामो समयदेखि ढाडको दुखाईको समस्याबाट ग्रसित भएर दुई दुई पटक सर्जरी गरेर पनि अझै ठिक नभएको अवस्था छ । खासगरि, सेप्टेम्बर २०१५ देखि जव मेरो ढाडको सर्जरी भयो तबदेखि म आफु सामाजिक संजालमा बढि क्रियाशील भए अनि फेसवुकमा स्टाटस लेख्ने, कमेन्ट लेख्ने काममा तल्लिन रहें ।     यसै सन्दर्भमा एकदिन डिसेम्बर २०१५ को अन्तिमतिर एउटा स्टाटस मैले फेसवुकमा राखेको थिए जसलाई “ द नेपाल टुडेका” प्रधान सम्पादक सतिश चापागाई जीले पढ्नु भएछ र मलाई मेसेन्जरमा फोन गरेर त्यो स्टाटसलाई आलेखको रुपमा प्रकाशित गर्ने मनशाय व्यक्त गर्नुभयो अनि मैले खुशी हुँदै सहर्ष स्वीकार गरे तब मेरो उक्त आलेख केही सम्पादन सहित उक्त अनलाईनमा प्रकाशित भयो । त्यसपछि ममा एउटा आत्मविश्वास के जाग्यो भने मैले पनि केही लेख्न सक्छु र समुदायमा केही न केही अनुभव सेयर गरेर सुचना एवं जानकारी प्रदान गर्न सक्छु भन्ने लाग्यो ।     मलाई त्यतिबेला समसामयिक विषयमा लेख्न उत्प्रेरणा दिने काम सतिश जीले गर्नु भयो र मेलै पनि सोही मुताविक हरेक क्षेत्रलाई समेट्ने गरि आलेख लेखे । खासगरि अमेरिकी जीवनका भोगाई र अमेरिकी जीवनमा आईपर्ने समसामयिक घटना, समस्या र समाधान बारे अधिकांश पाठकहरुले बढि मन पराएको पाए । त्यसो त नेपालको राजनिती, आर्थिक गतिविधि, विकाश निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत थुप्रै विषयसँग सम्बन्धित आलेख पनि लेख्ने गरेको थिए । यसरी लेख्ने क्रममा शुरुको केही महिना “ द नेपाल टुडे” मा आलेख लेखे पनि विस्तारै करिव २ दर्जन बढि अनलाईनमा मैले आफ्नो आलेख लेख्ने काम गरे । यसै क्रममा नेपालको चर्चित अनलाईनहरु “ अनलाईन खवर, सेतोपाटी, रातोपाटी “ लगायत अनलाईनमा समेत मेरा लेख छापिए, साथै नेपालमा र अमेरिकामा समेत नेपाली प्रिन्ट मेडियामा समेत लेखहरु छापिए जसले गर्दा मलाई झन् हौसला बढ्यो ।     यसरी लेख्ने क्रममा सबै भन्दा बढि मेरा आलेख “ ईनेप्लीज डट कम” बाट छापिए । मैले यति अभ्यस्त भएर आलेखहरु लेखें की कुनै कुनै समय दिनमै २-३ वटासम्म आलेख अनलाईनहरुमा प्रकाशित भए । एक किसिमले मलाई लेखनको नशा नै लाग्यो जसलाई मैले करिव २ बर्ष मज्जाले अनुसरण गरें र विस्तारै त्यसपछि भने अक्कल झुक्कल मुड चल्दा लेख्न थालें । यो २ बर्षको अवधीमा करिव करिव २ सय जति आलेख मैले विभिन्न अनलाईन मिडियामा लेखिसकेको छु ।     यसरी विविध विषयमा आफ्नै मनको आदेशमा स्वतन्त्र रुपमा लेखिएको मेरा आलेखहरु केवल लेख्नकै लागी मात्र नलेखिएर हरेक आलेखमा वास्तविक समस्या र समाधानका उपायहरु उल्लेख गरिएका थिए । मेरो सोचाईमा हामी समस्या पहिचान मात्र गर्ने नभएर समस्या समाधानको मार्ग र विकल्प पनि देखाउनु पर्छ भन्ने मान्यता रहेको छ र त्यसै कुरालाई सकभर अनुसरण आलेख लेख्ने क्रममा गरें । मेरो कतिपय आलेख बैमान राजनितीको विरुद्धमा, सामाजिक कुसंस्कारको विरुद्धमा पनि ईंकित थिए त अधिकांश विदेशको सेरेफेरोसँग सम्बन्धित थिए ।     मेलै आलेखहरु लेखेर कति ठिक गरे गरिन अलग पाटो हो तर समुदायमा सुचनामुलक लेख लेख्नु पर्छ भन्ने मान्यता स्थापित गराउन भने केही न केही प्रयास गरेको छु भन्ने हक दावा गर्न भने सक्छु । अझै अमेरिकामा पछिल्लो समय विविध समसामयिक सुचनामुलक आलेख लेखिने पद्धतिको थालनी बस्नुमा मेरो पनि केही न केही योगदान छ भन्दा आफैले आफैलाई मपाई गरेको कसैबाट आरोप लागेमा पनि आरोप खेप्न र आरोप प्रमाणित गर्न तयार छु । यद्दपी आजकल मेरो आलेख लेखनमा कमि आउनुमा मेरा आफ्नै भनाई र तर्कहरु छन् ।     त्यसो त अमेरिकामा अनलाईनहरुमा आलेख लेखेर नै जीवन गुजारा चलाउनेको संख्या कति छ ? मलाई यकिन छैन, तर मैले अहिलेसम्म कुनै अनलाईनमा लेखेर कसैबाट एक पेनी लिएको छैन र कसैले आलेख लेखे बापत कुनै स्यावासी स्वरुप कुनै कदरपत्र पनि दिएका छैनन् । यद्दपी म खुशी छु, मैले आफ्नै रहर र आत्मसन्तुष्टिका लागी लेखें अनि धेरै साथीहरु सामाजिक संजाल मार्फत बनाउने मौका पाए । अझैपनि धेरै मित्रहरुले समय समयमा सामाजिक संजालमा मेसेज गरेर संझनु हुन्छ । त्यसो त धेरै संचारकर्मी, पत्रकार एवं लेखकहरुसँग चिनजान हुने मौका मिल्यो । यस्तै समुदायमा उठाएका कतिपय आवाजहरुले स्थान क्रमश: लिएको देख्दा प्रत्यक्ष एवं अप्रत्यक्षरुपमा लेखनको समेत तागत हुने रहेछ भन्ने लागेको छ तर यसमा केवल मेरो एकल प्रयास नभई अन्य लेखकहरु, संचारकर्मीहरु एवं पत्रकारहरुको उल्लेखनीय भुमिका रहेको छ ।       यो मेरो लेखनको दौडानमा मलाई समसामयिक विषयमा लेख्न घच्घचाउने सतिश जी, गायक एवं संचारकर्मी श्रीजन ताम्राकार जी, समाजसेवी महेश भट्टराई दाई, गिनिज बुक रेकर्डहोल्डर उज्वल ठकुरी दाई, मित्र अमन राजभण्डारी प्रति विशेष आभारी छु । त्यसैगरि अन्य सबै साथीहरु, मिडियाकर्मी मित्रहरु, विभिन्न महानुभावहरु, पाठकहरु प्रति कृतज्ञ छु । अझै मलाई सधै जीवन जीउन थप बल दिने एवं लेखन कार्यमा हरपल साथ र सहयोग पुराउने मेरो जीवन संगिनी पार्वती प्रति आभारी छु ।     अन्तमा मेरो विगतको जुन स्पीडमा लेखन कार्य अगाडी बढिरहेको थियो त्यसमा केही सुस्ताउनुको खासै कारण छैन यद्दपी आजकल म विक्तिय विषयमा अध्ययन र व्यवहारिक प्रयोगमा केन्द्रित रहेको कारण पनि लेखन कार्यमा केन्द्रित हुन सकिरहेको छैन । आजकल मेरो खोज र अध्ययन भनेको अमेरिकी जीवनमा के कसरी विक्तिय स्वतन्त्रता( Financial freedom) मिल्न सक्छ, के कसरी पैसाले हाम्रो लागी काम गर्छ र के कसरी समुदायमा विक्तिय सचेतना फैलाउन सकिन्छ, के कसरी कामदार माईण्ड सेटलाई परिवर्तन गरेर रोजगारदाता माईण्ड सेट स्थापित गरि व्यवहारमा लागु गर्न सकिन्छ लगायतको विषयमा केन्द्रित रहेको छ । समुदायमा विक्तिय सचेतना फैलाउनु भनेको त्यति सजिलो कार्य हैन तर यस किसिमको चुनौती स्वीकार गरेर गहिरो अध्ययन एवं अनुसन्धानबाट उपयोगी ज्ञान समुदायमा फैलाउने प्रयासमा लागिरहेको छु र संभवत आगामी दिनमा मेरा आलेखहरु विक्तिय क्षेत्रलाई समेट्ने गरि लेखिने छ । यस प्रयासमा सबैको साथ र सहयोग अवस्य मिल्ने छ भन्ने पुर्ण विश्वास रहेको छ ।     अत: संक्षेपमा भन्नु पर्दा संचार जगत अति शक्तिशाली र संवेदनशील भएकोले सबै संचारकर्मी, पत्रकार, लेखकहरुले तथ्यगत, सत्यपुर्ण र सुचनामुलक समाचार, लेख, स्तम्भ मार्फत समाज एवं समुदायमा सुसुचित गर्ने कर्ममा लागौं । साथै, संचारकर्ममा लाग्नेहरुलाई समेत सम्मानित नजरले हेर्दै जीवनयापनको बाटोमा लाग्न सबैले सक्दो साथ एवं सहयोग दिने गरौँ । सबैको जय होस् ! बाल्टिमोर मेरिल्याण्ड

images
प्रकाशित मिति :भाद्र १०, २०७५ आइतवार - ०९:००:५८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend