Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मन दुख्छ मेरो(कविता) -शारदा पौडेल 'निशा'

मन दुख्छ मेरो(कविता) -शारदा पौडेल 'निशा'

नेप्लिज डायस्पोरा

१८, मंसिर २०७६
images
  (छन्द : इन्द्रवज्रा) खोला र नाला झरना हजार सम्झन्छु मैले पनि बारबार यो देश हाम्रो किन भो अँधेरो सम्झे नि साँच्चै मन दुख्छ मेरो ।।१।। उद्योग धन्दा सब बन्द गर्ने सर्वत्र रैती भर अन्त पर्ने जागिर खोज्ने नरको छ घेरो सम्झे नि साँच्चै मन दुख्छ मेरो ।।२।। खेती र पाती पनि गर्न छोडे भन्दै पुरानो मन अन्त मोडे भो शून्य बेसी र कुवा पँधेरो सम्झे नि साँच्चै मन दुख्छ मेरो।।३।। ती फाँट चिर्दै घर बन्न थाले भैंसी र गाई अझ झ्याउ पाले बाँझो छ पाखा अनि त्यो पखेरो सम्झे नि साँच्चै मन दुख्छ मेरो ।।४।। सारा युवा छन् परदेश तर्फ को भन्छ खोई घरतर्फ फर्क भो शून्य साह्रै घर त्यो कटेरो सम्झे नि साँच्चै मन दुख्छ मेरो ।।५।। को गर्छ खेती र किसान बन्दै भो रोप्न छोडे अझ ह्रास भन्दै जाँतो हरायो अनि त्यो घटेरो सम्झे नि साँच्चै मन दुख्छ मेरो ।।६।। घाटा छ रोपी गहुँ धान अन्न गर्दैन कोही सजिलो छ भन्न माझी हराए अनि त्यो सपेरो सम्झे नि साँच्चै मन दुख्छ मेरो ।। ७।। - चितवन नेपाल हाल : स्पेन । (शारदा पौडेल 'निशा'को यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :मंसिर १८, २०७६ बुधवार - १९:००:३१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend