काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यस बर्षको विज्ञान तथा प्रविधि युवा पुरस्कार पाल्पाका डा. अच्युत अधिकारीलाई प्रदान गरेको छ ।
आयुर्वेद विज्ञानमा प्रयोग हुने जडीबुटीबाट मधुमेह, मुटु, कलेजो र क्यान्सर सम्वन्धी रोगहरुको उपचारका लागि औषधी बन्न सक्ने क्षमता भएका रसायनहरुको पहिचान गरी योगदान पुर्याएको भन्दै विज्ञान प्रविधि युवा पुरस्कार प्रदान गरिएको हो ।
त्रिवि रसायनशास्त्र केन्द्रीय विभागमा प्राध्यापनरत डा. अधिकारीले कृषिको आधुनीकिकरण र नेपालको मौलिक उत्पादनलाई अन्र्तराष्ट्रियकरण गर्न पनि मद्धत पुर्याउदै आउनु भएको छ ।
आधुनिक कृषि प्रणालीको गहिरो अनुसन्धान गरिहनु भएका डा. अधिकारीलाई नास्टले यो सम्मानबाट शुक्रवार सम्मानित गरेको हो । सम्मानपछि डा. अधिकारीले नाष्टले आफुलाई गरेको सम्मानले देशका लागि अरु धेरै उपयोगी अनुसन्धानका काम गर्न प्रेरित गरेको बताउनुभयो ।
नास्टले यसवर्षको प्रविधि पुरस्कार भने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरेको छ । घिसिङले नेपालको बढ्दो लोडसेडिङलाई निर्मुल गर्दै नेपालको विद्युत विकासका क्षेत्रमा ठूलो योगदान पुर्याएको भन्दै यो सम्मान प्रदान गरिएको हो ।
डेंगु प्रतिरक्षा प्रणालीको अनुसन्धान गर्न उपयोगी स्टेम सेलमा आधारित ‘डेंगु मोडल’ विकासका लागि डा श्याम प्रकाश डुम्रेलाई पुरस्कृत गरिएको छ। डेंगु रोग लागेको बिरामीलाई गम्भिर प्रकृतिको डेंगु हुन सक्ने वा नसक्ने निक्र्यौल सुरुवात अवस्थामा गर्न सकिने प्रविधि डुम्रेले विकास गरेका थिए।
नास्टको ३७ औँ वार्षिक उत्सवका अवसरमा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गरिराजमणी पोखरेलले अन्य विविध विधामा पुरस्कृत तथा सम्मानित भएकाहरुलाई पनि पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो ।
हरेक बर्ष नास्टले विभिन्न विधिमा योगदान पुर्याउनेहरुलाई सम्मान गर्दै आएको छ ।