Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

षडयन्त्र (लघुकथा) - खेमराज पोखरेल

षडयन्त्र (लघुकथा) - खेमराज पोखरेल

images
रणवीर र शुरवीर प्रतिद्वन्दी हुन्, साथी पनि हुन् । ‘हेलो, शुरवीरजी, आउनुस् न हौ । कति काम मात्रै गर्नुहुन्छ ?, यसो रमाइलो गरौँ । आज एकदम गोप्य सल्लाह गर्नु छ, गाडीलाई नल्याउनू होला’ । होटल राजघरानामा एकदम धेरै खाए । पाएसम्म खाए । खानू खाए । पिए । पिउनूसम्म पिए । देशविदेश, राजनीति, लाजनीति, खाक्नीति, जाक्नीति, सबै खाए, सबै मिलाए । र उनीहरू निष्कर्षमा पुगे | ‘यी नेपाली जनता बेवकुफ छन् यिनीहरूलाई ‘इस्यू दिएर लडाइ रहनूपर्छ ।’ रणवीरले राजनीतिको जुक्ति बताए । ‘सही राजनीति भन्नु भो तपाईँले’ शूरवीरले समर्थन जनाए । काउन्टरमा आए । ‘पैसा अकाउन्टमा हालिदिनू’ भन्दै दुवैजना हात समाएर बाहिर निस्के । निकै रात भएको थियो । ट्याक्सी विष्णुमतीतिर हुँइकियो । कट्टीमट्टी धेरै खाएका थिए । पेट काट्यो । ट्याक्सी बिदा गरे र विष्णुमतीको किनारको झाडीतिर पसे । नजिकै नजिकै टुक्रुक्क बसे । बाहिर युवा भनिन रुचाए पनि भित्रबाट पुराना विचारका थिए । बाहिर सुट लाए पनि भित्र ह्वाङ्लाङे कट्टु नै लगाएका थिए । एकछिन पछि रणवीरतिर हेरे शुरवीरले । रणवीरका दुईवटा थुप्रा थिए । रणवीरले आफ्नो कट्टु खोल्नै बिर्से छन् । आफ्नो हेरे । एउटामात्र थुप्रो थियो । रक्सी त जोड लागेकै थियो । शुरवीर रिसाएर चिच्याएः ‘नाथे रणवीरे, तेरा दुईटा थुप्रा मेरो एउटा मात्रै ?, षडयन्त्र गरिस् हगि तैँले ?’ ‘पाजी, जान्नू पर्छ नि’ रणवीरले शुरवीरलाई अलि होच्याए । झगडा भयो । यो समस्या समाधान गर्न उनीहरूको दसौँपल्ट मिटिङ् बसिसक्यो । छिमेकीले मध्यस्थता गरिसक्यो । सभाकक्ष बाहिर समर्थकहरूको भिड थियो । सुरक्षाका सबै अङ्ग परिचालित थिए । नारा लागिरहेको थियोः एकथरि भन्थेः ‘षडयन्त्रकारी रणवीरे —मूर्दावाद ।’ अर्कोथरि कराउँथेः ‘षडयन्त्रकारी शुरवीरे —मूर्दावाद ।’ - धापासी, काठमाडौँ (खेमराज पोखरेल को यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
 

images
प्रकाशित मिति :पौष २, २०७६ बुधवार - १९:३९:४३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend