११, पौष २०७६
शब्दजन्मको असाध्य प्रशवबेदनाबाट गुज्रिन्छु म कहिलेकाँही । मनमा यति संवेगहरु चाँङ्ग लागेर बसेकाछन् कि तिनीहरुलाई हातका औंलाहरु कम्प्युटरको किबोर्डमा दौडन नछोड्दै, उमेरको चाप, आवेग र संवेगले थिलोथिलो नपार्दै छापामा ल्याउन सकुँला वा नसकुँला ? यही गहनचिन्ताले सताउँछ कहिलेकाहीँ । आरनको कालो अंगारे धुलेटो माटोसंग खाइखेली हुर्किएको नाथे मनुवा हुँम । जातपात, उचनीच, छुतअछुत संस्कृतिको अंग बनेको अकाट्य विभेदलाई बहुतै सहज तरिकाले ग्रहण गर्दै बाल्यकाल बिताएको हुँ भनेरभन्दा कुनै आत्मग्लानी हुँदैन मलाई । आज आएर जातब्यस्थाका सिद्धान्तहरु पढ्दा, यसको इतिहास र उद्गमबारे जानकारी संग पैठेजोरी खेल्नपाउँदा मामुली लाग्न थालेको छ मलाई । सत्ता, शक्ति र धर्मको आडमा हुर्किएको हो जातब्यवस्था भारतीय उपमहादिपमा । यो फैलिदै नेपाल आइपुगेको र जनसंस्कृति बन्नपुगेको हो । अध्यता आहुतिको विचारमा नेपाली समाजमा जात संस्कृतिमात्र होइन, वर्ग ब्यवस्था समेत हो । जसले खास जातिसमुदायलाई सत्ताको शिखरमा पु¥याउन भ¥याङ्गको काम गरेको छ ।
जोरसल्लाको छाँया, ती जोरसल्लाका मुढालाई चिरेर बनाइएको उरिम र सोही उरिमलाई पार्टेशन गरेर बनाइएको सानदार मेरो स्टडीरुम, त्यहाँ थुपारिएको सोभियत भूमि, जुचेविचारधारा सम्बन्धी किम इल सुङका किताबहरुको चाङ्ग, मधुमालती, लालहिराको मनमोहक कथा, बनासरमा छापिने मदनलहरीका रोमाण्टिक छन्दलहरीको संगतमा बाल्यकाल बिताउन पाउनु नै मेरोलागि अहोभाग्य हो । यद्यपि म भाग्यवादमा विश्वास गर्दिन । स्कूलको आगनमा पाइला टेक्नु नै मेरो लागि भाग्यको प्रथम खुड्किलो थियो । यसै खुड्किलोले अनेकौं संभावना र अवसरहरुसंग मितेरी लगाउने अवसर जु¥यो । यिनै अवसरहरु मेरा भाग्यका सिमारेखा हुन् । जसले मलाई अनगिन्ती संभावनाका ढोकाहरु खोलिदिए । तर, ती ढोकाहरुको चुनावमा कहीँ न कहीँ, कतै न कतै त्रुटि हुन पुग्यो जसको कारणले जीवन अधकल्चो हुनपुग्यो ।
निकै कम आइजाइ गरिन्छ आजकाल जन्मेको गाउँ भाडगाउँ तिर । चारदशक पुग्न थाल्यो घरछोडेर हिँडेको पनि । पहिलोपटक घर छोडेर हिँड्दा जम्माजम्मी पचहत्तर रुपैयाँ गोजीमा थमाइदिएर बाटो लगाइदिएका हुन् बाआमाले । हिड्ने बेलामा कान्छाबालाई छुट्टी सकिएपछि पल्टनमा हाजिर हुन लाहुर जाँदा जसरी बुढीआँ र कान्छीआँले संघारमा फूल सहितको कलस राखेर, दहीका बटुको टकारेर बिदा गर्ने गर्दथे, सोही तरिका सिकोगर्दै मलाईपनि आमैले माथिबारीसम्म पु¥याएर बिदा गरेकी थिइन । आमाको मन नै विशाल हुने । त्यो कसरी भने म बिदा भएर घरबाट निस्कदाँ जसरी आमा मलाई विदा गर्न माथीबारीसम्म आइन, बाभने मलाई गौडो कटाउनसम्म पनि फुर्सद निकाल्न सकेका थिएनन् । बाको जिम्मेवारी अलि ठूलो पनि हुन्छ । पोखरासम्म पुग्ने बाटो खर्च खोजिदिए, मोरु पचहत्तर रुपैयाँ, जो आजको हिसावले दशपन्द्र हजारभन्दा कम थिएन । साथमा दमाईटोलका राइलामामाको छोरा समवय लट्टेभाइलाई तानसेनसम्मको संगी बनाएर पठाउने मेसो मिलाइदिए । यो कुनै चानचुने कुरो पनि त होइन । “राम्ररी गएस्, राम्ररी पढेस्” बाले गर्ने भन्ने यत्तिमात्र हो । त्यही भने । टुपुक्क खुट्टामा ढोगेर म प्रदेशिएको थिए, दशकौ पहिले भाडगाउँबाट । जो आज झन् पछि झन् बिरानो बन्दैछ ।
“छोरो ठूलो स्कुलमा पढ्न जाँदैछ । पढेर सरकारी मान्छे बन्ला” यो भन्दा बढी कुनै चाहना, आशाअभिलाषा थियोजस्तो लाग्दैन मलाई मेरा बाआमासंग । बा गाउँकै सिपालु कामी थिए । तामा, फलाम, पित्तल र सिल्टीको काम जानेका । राम्रै पाखोबारी पाएका थिए बाले अंशमा । पछि थोरैधेरै आफैले पनि जोडे । सो बेलामा उरिम भरिन्थ्यो कोदो मकैले । आधा बालीघरे प्रथाबाट उठ्थ्यो । आधाउधी आफ्नै पाखोबारीको हुन्थ्यो । आफ्नो आयस्ता ह्ँदासम्म सकेसम्म अर्काको भर पर्दैन मान्छे । कहिलेकाँहीको खानीगाउँले तीनपानेको झोलले बिगाथ्र्यो बालाई । यही तीनपानेको चक्करमा अनिकाल आइपुग्थ्यो हाम्रो घरमा जुटका रित्ता बोरा बोकेर । बोरा भरिन्थे, उरिम रित्तिन्थ्यो फलस्वरुप चैतबैशाखमा नै अनिकाल निम्तिन्यो चुल्होमा भोको पेट बोकेर । बालाई भन्दा आमालाई यही अनिकाले पाहुनाले सताउँथ्यो ।
यही बेलाबखतमा उरिम रित्तिएर आइपुग्ने अनिकाले पाहुनाको चिन्ता हुन्थ्यो आमैलाई । “धेरै पढेर घर आइवोरी बालाई संझाउला । ठूलो भएको, पढालेखा गरेको छोराले भनेको, संझाएको बाले मान्लान्, मगर्नीहरु रित्तो बोरा बोकेर लस्कर लागेर आगनटेक्न नआउलान्, उरिम नरित्तिएला” यही चाहना हुँदो हो आमाको । त्यो भन्दा फराकिलो सोँच्ने, इच्छाआकांक्षाहरु मनमा संयोजन गर्नसक्ने आमाको मानसिक क्षमता पनि नहुँदो हो । मास्टर बन्ला, सरकारी जागिर खाएर खरिदार बन्ला, यो सोँच सो सामाजिक परिवेशमा हाम्रा आमाहरुले बिरलै सोँच्दाहुन् । किन कि सो कालखण्डमा हाम्रो समुदायबाट मास्टर, खरिदार त के सरकारी कार्यालयको चपरासीको पदमा समेत उक्लिएका कोही थिएनन् ।
अनेकौ छायाँहरुको ओत लागियो जीवनमा । अनेकौ चौतारीहरुमा भारी बिसाइयो, टेको लगाइयो र सुस्केरा हालियो । बा थिए, आमै थिइन् । मेरा लेखोटहरुमा जहिल्यै पिताजीलाई बामात्र भन्ने गर्दछु । आमालाई आमै लेख्ने गर्दछु । यसका कारण छन् । किनकि मैले बालाई कहिल्यै बाबा भनिन र आमालाई जहिल्यै आमै भने । उहाँहरुलाई कहिल्यै तपाईँ भनिन । किनकि मैले यही सिके वा मलाई यही सिकाइयो । आजकाल जेठीआमालाई ठूलीमम्मी भन्ने गरेको सुन्छु, मैले जेठीयाँ भन्ने गर्दथे । हजुरआमालाई जहिल्यै बुढीयाँ भने । जे सिके, जे सिकाए पुर्खाले त्यही भने । त्यही लेखेँ
स्कुलको जाडो बिदा सकिएपछिको कुरो हुनुपर्दछ यो । बि.सं.२०३२ वा ०३३ मध्ये एक हुनु पर्दछ साल । सो वर्षको जिल्ला स्तरीय वीरेन्द्र शिल्ड प्रतियोगिता भार्सेमा हुने भयो । भार्से लाहुरेहरुको गाउँको नामले चर्चित गाउँ हो निकै पहिल्यै देखि । हरघरका युवाहरु बेलायती वा भारतीय सेनामा भर्ती भएका हुन्छन् भन्ने चर्चा हुन्थ्यो । पल्टनमा भर्ती नभएका केटाहरुको बिहेसमेत हुँदैन रे भन्ने रे रे को कथासमेत हाम्रो कलिलो कानमा ठोक्किन आइपुग्थ्यो । सोही ठाउँमा आयोजना हुँदै गरेको खेलकुदको महाकुम्भमा खेलाडीहरुको छनोट भयो । दाइ गणेश विश्वकर्माको ज्याप्लिन थ्रो र लङ्गजम्पमा चयन भयो । मित्र बाबुराम मरासिनी पाँचहजार मिटर म्याराथुन डौडमा चुनिए । उनी मैदानमा डौडिन थालेपछि प्रथम भएकै हुन्थे । थुम्का मास्टर्की नातिनी तथा टोप दाइकी भान्जी कान्ता दगामी सय मिटर दौडमा छानिइन् । उनी फिल्डमा हरिनजस्तो कुद्ने गर्दथिइन् । आजकाल देवी थापाको नामले बेलायतमा बस्दछिन् । फेसबुकमा अधुरो पोष्ट देखिन्छ उनको । गोमा, ज्ञानु, मिठु, मिना र भगवती भण्डारी भार्से गएजस्तो लाग्दैन । यो उसजमानाको कुरो हो, जब मेरा ओठमा जुंगाका रेखीसमेत बसेका थिएनन् । त्यसैले संझना पनि बिर्सना भएका छन् ।
दाजु बसन्त श्रेष्ठले मलाई यतिबिघ्न माया किन गर्थे ? बुझिनसक्नु छ । गुरु ज्ञानहरि आचार्यको असिम माया ममाथि किन थियो ? बसन्त दाजु रिडीबाट दशकक्षामा भर्नाहुन् तम्घास पुगेका थिए । बहुतै मिठो आवाजमा हिन्दी, नेपाली गीतहरु गाउँथे । उनको सुरीलो आवाजमा महेन्द्र हाइस्कूल गुन्जायमान हुन्थ्यो । सो बेलाको समाजको कट्टरतालाई लत्याउँदै मलाई उनले आफ्नी फुपुको घरमा लगेर जान्थे र भान्सामा आफूसंगै बसालेर भात खुवाउँथे । बहिनी बिजुलीले एउटै थालबाट दाइ र मलाई भात थपिदिन्थिन् ।
मेरो खेलकुदमा कुनै दख्खल थिएन । मकुनै अलगक्षेमता भएको विद्यार्थी पनि त थिइन । तरपनि गुरु ज्ञानहरिले मलाई भार्से जाने टिममा समावेश गर्नु भयो । आतेजाते खर्च लाग्दैन थियो । तरपनि जुभुङ्गका हरिप्रसाद गौतमको घरको तलामै अरु विद्यार्थी संगै रात विताउने मेसो मिलाउनु भयो । यसको कारण आजसम्म ठम्याउन सकेको छैन ।
सिमल एक विशाल छहारीदार बृक्ष हो । यसको विशाल फेदसंगै फैलिएका हाँगाबिगा आफैमा अजंगका हुन्छन् । ससाना प्रजातिका चराचुरुङ्गीले गुड लाउँदैनन् यसमा । चील, गिद्ध र कौवाहरुको बासास्थान हो सिमल । यसमा फुल्ने फुल चित्ताकार्षक हुन्छन् गाढा राता । यसको भुवा बहुतै नरम हुन्छ, मुलायम उपमा रहित ।
यही सिमलको सिमली छायाँको ओतमा हुर्के म । जीवनको अन्तिम समयमा आमाको मनको छोरा हुन सकिन, तरपनि जीवित रहेसम्म छि भन्ने पारिन । धनकमाएर ससुरालीको नाममा सम्पत्ती थुपारिन । बाको नाममा सहरमा घरघडेरी जोडे । जीवनमा सबैकुरा सबैलाई दिन र पु¥याउन नसकिदो रहेछ । कमिकमजोरी भएहोलान् । तर पनि “छवेले भाइ मा¥यो” भन्ने आरोपको कलंकको भारी बोकिन र बोक्ने पनि छैन ।
आजकाल दैनिक भेट हुन्छ दाजु बसन्त श्रेष्ठसंग । उहाँ बुटवल बहुमुखी क्याम्पसमा स्वास्थ्य पढाउनु हुन्छ । मपनि केही वर्षदेखि उहाँकै क्याम्पससंग नाता जोड्न पुगेको छु । संगै चिया नास्ता गर्छौं क्यानिटनमा । पुराना कुरा कोट्याउँछौ । दुबै विभोर हुन्छौ । पैसा जहिल्यै उहाँले नै तिर्नु हुन्छ । मनको भाइ जो परे म, दाइले नतिरेर कसले तिर्ने त ?
जीवनमा दुईवटा अपसाद रहे । एउटा गण्डकी बोर्डिङ्गको बाटो ताताएपछि गुरु ज्ञानहरि आचार्यलाई पुनः भेट्ने अवसर मिलेन । अर्को हो गुरुलाई गुरुदक्षिणा चढाउने मौका कहिल्यै जुरेन । र अब त जुर्ने पनि छैन । किनकी गुरुको देहवसान भएको पनि दशक पुगिसक्यो ।
मेरी आमै, मेरा बा, हेडमास्टर ज्ञानहरि गुरु यी त्रिकोण मेरा जीवनका सिमल वृक्षहरु हुन् । जसको सिमली छाँयामा ओत लाग्दै, सितलता ताप्दै, त्यसैको चौतारोमा भारी बिसाउँदै हुर्किने मौका पाएँ मैले । यो संयोग मात्र होइन । यो त महासंयोग समेत हो ।
बुटवल, नेपाल ।
प्रकाशित मिति :पौष ११, २०७६ शुक्रवार -
१७:२८:४९ बजे