Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अर्को अभियान (लघु कथा) -गोम बिक्रम

अर्को अभियान (लघु कथा) -गोम बिक्रम

नेप्लिज डायस्पोरा

१०, पौष २०७६
images
"हाम्रो समुदायमा अझै पनि कति महिलाहरू दाइजो, बोक्सी, बलात्कार अनि बाल-विवाह जस्ता कुरिति र हिंसाका शिकार भइरहन्छन् । सबैभन्दा बढी त यौन हिंसाका कारण अनेक यातनाहरू सहनु परिरहेछ ।" पररर ताली पड्कियो । प्रमुख अतिथीको भाषण सकिएपछि उनी छेवैको मर्सिडिज कारमा पसे । पत्रकार, मानव अधिकारवादीहरू उनका पछि पछि थिए । "अब महिला हिंसा, बलात्कार र यौन दुराचार बिषयक भव्य कार्यक्रम बन्नु पर्यो सर । हजुरहरूको निकै ठूलो माग छ समुदायको । आखिर पदमा पुगेपछि हजुरको क्षमता पनि देखिनु पर्यो नि ? " समर्थकहरूले जोस्याउँदै थिए । " तपाईहरू योजना बनाउँदै गर्नुस् न म पूरा सपोर्ट गर्छु । " कारको नजिक पुगेर उनले भने । हेर्दा हेर्दै थुप्रै झुण्डहरू आएर उनीसित सेल्फी लिए । मानौ उनी यस युगका मुक्तिदाता नै हुन् । एउटा विदेशी आई.एन.जि.ओ. सित कुरा टाकटुक पारियो । कम्तिमा ३-४ वटा प्रभावित जिल्लाहरूमा काम गर्ने गरि प्रोजेक्ट तयार भयो । उनी आफैलाई सो संस्थाको कोअर्डिनेट गर्ने जिम्मा दिइयो । समय चिप्लिदै गयो । संस्था दर्ता भएपछि युद्धस्तरमा काम हुन थाल्यो । छोटो समयमै १०/१२ वटा बलात्कार केस छिनोफानो गरि न्याय दिलाए । महिला अधिकारकर्मी, पत्रकार र सामाजिक अभियन्ताहरू पनि सहभागी भए संस्थामा ४/५ बर्षमा त निकै उचाईमा पुगिसकेको थियो संस्था । समुदाय, विद्यालय र संचार माध्यमहरू भरी सन्देशमूलक सामग्रीहरू छरपष्टै भए । सबको जिब्रोमा झुण्डिने लोकप्रिय नाम भो । संस्थाले अन्तरराष्ट्रिय पुरस्कार समेत हत्यायो । निकै पत्रकारहरूले उनको पिछा गर्न थाले । भँगेरा टाउके अक्षरहरूमा उनको फूलमालाले सजिएको तस्विर सहित समाचारहरू छापिन्थे । चर्चा चुलिँदै गयो । "तपाईको संस्थाले कस्ता महिलाहरूको उद्दार गरि पुनर्जीवन दिएको छ ?" " धेरैले तपाईलाई न्याय तथा मुक्तिदाताको रूपमा लिन्छन् । एक जना महिलाले मी टू मा तपाईलाई बलात्कारी ठहराएर उनीसितको शिशु तपाईको भनी दावी सहित अन्तरवार्ता दिएकी छन् नि ।" " यो सरासर हाम्रो संस्था र संस्थाको कोर्डीनेटरको लोकप्रियता धुमिल्याउने षडयन्त्र हो । अब हामी यस्ता प्रहार विरूद्ध तत्काल अर्को अभियान चलाउने छौं ।" "सतिश सर - जिन्दावाद !!" भिडले तत्काल नारा लगायो । नारामा महिलाको बाँकी कुरा कता पुरिन पुग्यो कसैलाई थाहा भएन । - कल्लाबारी, पाल्पा । २०७६ पौष ७  

images
प्रकाशित मिति :पौष १०, २०७६ बिहिवार - १७:५२:४९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend