Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अन्जान मित्रको सम्झना -दीपक विश्वकर्मा

अन्जान मित्रको सम्झना -दीपक विश्वकर्मा

नेप्लिज डायस्पोरा

१८, पौष २०७६
images
  जोर सल्लाको कहानीलाई ममेरो नितान्त निजी मामिलामात्र मान्दिन । किनकि जोरसल्लासंग हुर्किने ममात्र थिइन । मेरा बा थिए । आमै थिइन । भाइबहिनी थिए । छरछिमेकी थिए । म मेरो कहानी लेख्दा उनीहरु पनि संगै जोडिएर आउनु नितान्त आवश्यक थियो । आए, मेरो कलम मार्फत आफ्ना कुराहरु भने र मनलाई हलुङ्गो पारे । यसो भन्न सकिन्छ, उनीहरुले आफ्ना मनका भावनाहरुलाई इतिहासका पानामा अंकित गर्न पुगे । निःशन्देह बाबुराम मरासिनीको म्याराथुन डौडको जीवन्त इतिहास उनी आफैले लेख्ने हो, तर यतिका वर्षसम्म चुपचाप बसे, लेखेनन् । त्यो लेखनको सौभाग्य वा अवसर मलाई जु¥यो । अथवा यसो भनौ बाबुरामले पछि लेखौला भनेर थाथी राखेका कुराउपर मैले बाजी मारेँ । सिमली छाँया पढेर बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक लिला बहादुर के.सी.ले संझनाको तरंगलाई बढाइदिनु भयो । उहाँको मानसपटलमा बाबुराम मरासिनीको जमैकन महान धावक उसेन बोल्टको फर्राटादौडे कुदाईको आलो संझना आजसम्म पनि रहेछ । उहाँ कक्षा दशमा पढ्दैगर्दा घुर्कोटबाट भार्से जानुभएको रहेछ, भलिवल खेलाडीकोरुपमा । “हामीले भार्सेमा जो असाध्यैमीठो आलु खाएका थियौं, सो आलु अन्यत्रबाट आयत गरिएको थियो । दुध छिमेकी गाउँबाट आइपुगेपछि मात्र बिहानको चिया खान पाइएको थियो ।” भार्सेली लाहुरे समाज, गाईभैसी पालन र खेतीपातीमा त्यति चासो नदिने स्थानीयहरुले । बृटिस तथा भारतीय पल्टनीया आम्दानीले खानलाउन पुग्ने भएकालेपनि खेतीपाती जस्तो दुखिया काम कस्ले गर्ने ? लिला बहादुर के.सी.लाई भार्सेको रमणीयता, अतिथि सत्कारको मिठास र आफ्ना पक्षका खेलाडीहरुलाई उत्साहित पार्ने अनौठो भाषाशैली र लवजको मिठासले आजसम्म पनि छोडेको छैन । आफ्ना खेलाडीहरुलाई “नआत्तिएर खेल, अथवा नआत्तिनु” भन्दा “नआट्यो, नआट्यो” भनेर हौसला प्रदान गर्ने मगरलवज यतिका वर्ष बितिसक्दा पनि उहाँको कानमा ठोक्किन आउँछन् । यो पनि एक इतिहास हो । खोतल्दै जानेहोभने भार्सेको वीरेन्द्र सिल्डसंग जोडिएका अनेकांै तथ्यहरु सतहमा आउन सक्दछन् । महेन्द्र हाइसकूल तम्घासका तत्कालिन जज्दाबल्दा शिक्षक ताराबहादुर थापाको जग्जगी थियो गुल्मीमा सोबेला । अग्लो शरीर, फुर्तिलो ज्यान, रसिक स्वभावले उहाँको ब्यक्तित्वलाई उचाइमा पु¥याएको थियो । फुडबल, भलिवल दुबैमा दख्खल थियो उहाँको । भार्से जाने टोलीको अभिभावकमात्र होइन उहाँ तम्घासे हिरोपनि हुनुहुन्थ्यो । तम्घासबाट छापिने पत्रिकामा गुल्मीको सेरोफेरो स्तम्भमार्फत कुनै समय उहँको बारेमा लेखिसकेको छु मनग्ये मैले । भलिवल खेलाडीमा चिरञ्जीवि र नारद गौतम दाजुभाइले भाग लिएका थिए । उनीहरु सो बेलाका चर्चित ब्यक्तित्व जुभुङ्गे हरिप्रसाद गौतमका सुपुत्र थिए । ंबडो दुःखको कुरो नारद गौतमको असामयिक देहवसान भएको कुरो लिला बहादुर के.सी.ले सम्झाउनु भयो मलाई । कदमा बाबुभन्दा एकाध फुट अग्लाभएपनि भलिवलको सर्भिस कसिलो हुन्थ्यो चिरञ्जीविको । बडागाउँतिरकाठकुरी भरत मल्ल पनि सो भलिवल टिममा रहेको कुरो मलाई झिनो संझना छ । उनलाई भलिवल खेलमा उचाइले निकै साथ दिएको थियो । मल्ल बंशको भएर पनि होला, शिक्षकहरु उनलाई औधी मानसन्मान गर्दथे । प्रकाश नेपाल(कृष्ण विश्वकर्मा) पनि सायद सो भलिवल टिममा थिए । प्रकाश हरेक क्षेत्रमा अब्बल हुन् । पछि गण्डकी बोर्डिङ्ग स्कूल पढ्दा अल राउण्ड च्याम्पियनशीप समेत प्राप्त गरे उनले । उनको लगन, सफलता र उचाइको जग महेन्द्र हाइस्कूल र त्यहाँका गुरुहरुको प्रेरणा हो भन्दा अत्यक्ति हुँदैन । उनी स्वयम् लेखक हुन् । यी विषयहरुमा आफैले चलाउलान् कलम र साहित्यमा इट्टा थप्लान् । जोरसल्लाको कहानी बढेर कथा उपकथाकोरुप धारण गर्दैछ । जोरसल्लाका तखताहरुबाट बनेको मेरो अतिप्रीय उरिमको कहानी कहिल्यै सकिने छैन । किन सकिने छैन भने, बाको काखबाट अलग भएर पहिलो अलग ओछ्यान सोही उरिममा लागेको हो मेरो । ओछ्यान के भन्नु ? बा बुढाबाको पालादेखि पुराना फाटेको लुगालाई थप्दैथप्दै गरेर नाम्लो लगाएर बोक्नुपर्ने गह्रौं टालाटुलीको थुप्रो थियो त्यो । एउटा सग्लो कम्मल पनि थियो, सायद बालाई कुनै पल्टनीया दिएको जड्यौरी । ओछ्यान जस्तै ओढ्नी पनि सोही प्रकारको थियो । टालैटालाले लपेटेर बनाएको । ती ओछ्यान र ओढ्नीलाई टालटुल गरेर मर्मत गर्न छिमेकी परियार माइजुहरु आउथे । यो परियार भन्ने सम्बोधन आजको हो मेरो । त्यतीबेलाको समयमा विश्वकर्मा, परियार, नेपाली, रम्तेल, रोक्का भन्ने चलन थिएन । फलाम पिट्ने कामी, कपडा सिलाउने दमाई र छालाको काम गर्नेलाई सार्की भनेर पुकारिन्थ्यो । हाम्रो चेतनास्तर पनि सोही प्रकारको थियो । दबंगहरुको अगाडि हामी निरिह थियौं । आजको गणतन्त्रमा त कथित तल्लाजातिहरु निरिह भएर बाँच्न विवस छन् भने सो समयमा आँखा जुधाएर बात गर्ने कसले ? सोही एमानभारी ओछ्यान र भुल्लोभित्र लुटपुटिएर सुदूर अतित कोरिएको हो । तरुण तपसीका अधिकांश श्लोकहरु कण्ठ पारिएको सोही भुल्लामा लटपटिएर हो । किनकि प्रत्येक वर्ष राजाको जन्मोत्सवमा हुने अन्त्याक्षरी प्रतियोगितामा महेन्द्र हाइस्कूलको नाम राख्ने जिम्मा प्रकाश नेपाल, गोकर्ण मरासिनी, मोहन बंजाडे र मेरो जिम्मामा आउँथ्यो । अरु कोको साथीहरु थिए, समयको रफ्तार संगै धेरैको नाम बिर्सियो । प्राध्यापक के.सी.ले ती दिन सम्झदै भन्नुहुन्छ—ज्वाङ्ग तिरका एकजना होनहार कवि थिए भानुभक्त न्यौपाने । उनी भानुभक्त जस्तै छिनमै कविता जुराउन सक्ने क्षमताका कवि थिए । कविता पनि यस्तो जुराउथेकि श्लोकलार्ई ड वा ढमा लगेर टुङ्ग्याइदिन्थे । “हाम्रो त घर्मा हली नै छैन, छ एउटा मगर् लेडोँ” । यसरी जातीय लान्छनायुक्त कविता छिनमै सिर्जना गरेर “ड” मा लगेर प्रतिद्वन्द्वीलाई सकसमा पार्थे । जातीय विभेदको यो पनि पराकाष्ठा थियो । तर समाज बोल्दैन थियो । उनीहरुको अगाडि कोही मुख लगाएर बोल्नसक्ने हिम्मत पनि जुटाउन सक्दैन्थ्यो कसैले । आजकाल यसरी कसैले सार्वजनिक समारोह, कार्यक्रममा जातीय आक्षेपका साथ क्षमताको प्रदर्शन गरोस् त ! तर, दुःखको कुरो ती उदयमान कविको पनि असामयिक निधन भएछ । प्राध्यापक जीवलाल सापकोटालाई मैले बेहोरिन । उनीपनि आफ्नो समयका प्रतिभावान विद्यार्थी हुन् भन्नेकुरा उनको आजको उचाइ र उनले दिने बेलाबखतका प्रवचनबाट ज्ञात हुन्छ । बुटवल बासहुँदा उनले अन्त्याक्षरीमा महोन्द्र हाइस्कूललाई जितेर प्रथम पुरस्कार लगेको सगौरव सुनाउँथे । मेरो बिडम्बना, महेन्द्र हाइस्कूलबाट स्कूलजीवन समाप्त नभएकाले गुल्मेली उज्यालाहरुको सामिप्यताबाट बिमुख हुन पुँगे । तर एकजना कोकिलकण्ठ प्रतिद्वन्द्वी अन्जानमित्र बालचन्द्र शर्मालाई आजसम्म पनि म खोजिरहेको छु । उनी शान्तिपुर तिरको हुनु पर्दछ । पुष महिलानो मुटु नै अठ्याउने जाडोमा किरण पुस्तकालयको आगनमा आयोजित अन्त्याक्षरीमा उनको मनमोहक आवाजमा मन्त्रमुग्ध हुन्थ्यो स्रोताको विशाल भिड । आजकाल अन्त्याक्षेरीको नाममा प्रचलनमा रहेको हिन्दी तथा नेपाली सिनेमाका गीतहरुको गायन हुदैन्थ्यो सो बेला । रामायण, महाभारत, तरुण तपसी र महाकवि लक्ष्मीप्रसाद देवकोटाका कविताहरु नै कन्ठष्त पारेर गाउने चलन थियो । कहाँ हराए बालचन्द्र शर्मा ? देशप्रदेश लागे वा पढाइ छोडेर गाउँमै रमाए ? अथवा सरकारी उच्चओहदाबाट रिटायर भएर राजधानी तिरै बसिरहेका छन् । प्राध्यापक के.सी. थप्नुहुन्छ —“मैले पनि उनको नाम सुनेको हुँ । निकै मिठो आवाजमा कविता सुनाउँथे रे उनले ।” हुनन् बालचन्द्र शर्मा कतै र सिर्जनाको साधनामा दत्तचित्त हुनन् । जहिल्यै म जन्मथलो भाडगाउँ जानको लागि गुल्मीको बस समाउँछु, म पन्द्रसोह्र वर्षे स्कूले ठिटोमा रुपान्तरण हुन्छु । तानसेनको बतासे पुग्दा चण्डीभन्ज्याङ्गलाई एकटक नियाल्छु । चण्डीभन्ज्याङ्ग जोर्तेको उकालो पछिको पहिलो टेको हुन्थ्यो हाम्रो । एकै दिनमा तानसेन पुग्न नसकेको बेलामा हामी केटाहरुको जोर्तेमा बास जुथ्र्यो । मित्र प्रकाश, महेन्द्र श्रेष्ठ्र, बसन्त भुजेल र म सहितको टोली थियो हाम्रो । कहिलेकाँही गुल्मीचारपालाका भरत थापा पनि मिसिन्थे । ओमकारको घर यतै थोर्गातिर भएकाले जाँदा साथरहेता पनि फर्किदा हामीबाट छुट्थे । टेकराज ज्ञवाली पहिल्यैदेखिको मस्तमौलाना हो । घर आइजाइ गर्ने उसको आफ्नै तरिका थियो । आज ऊ निकै सन्मानित पदमा छ । पियच.डी.को उपाधी सहितको इन्जिनीयर । पोखरा विश्वविद्यालयको हर्ताकर्ता । एकै बसाइमा तम्घास नपुगिएला । तम्घास पुग्दासम्मका अनेकौ कथाकहानीहरु छरपष्ट छन् । उर्लेनीको उकालोमा मागेर दैनिकी गुजार्ने एक कुष्टरोगीलाई उपचारको जिम्मा लिन तम्सिने मेरो बालमनोरोगी कथाको फेरोलाई दाहो¥याएर कहन बाँकी नै छ । कहने छु, अब कहनु बाहेक केपो बाँकी रहेको छ र जीवनमा ? यिनै कहानीको सेरोफेरोमा बालचन्द्रलाई सविस्तार जोड्न सकँु । यो अर्को दिलेरी कामना छ मेरो ।

images
प्रकाशित मिति :पौष १८, २०७६ शुक्रवार - ०५:३४:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend