Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

ऊ (लघुकथा) -विनाेद नेपाल

ऊ (लघुकथा) -विनाेद नेपाल

नेप्लिज डायस्पोरा

२०, पौष २०७६
images
  समाजमा उच-नीचकाे विभेद हुने गरेकाे, परम्पराकाे नाममा कुरीति र कुसंस्कार माैलाएकाे तथा धनी गरिब बीचको खाडल फराकिलो हुँदै गएकाेले त्यसका विरुद्द लड्ने अठाेट सहित ऊ राजनीतिमा हाेमियाे । संगठन बनायाे, सङ्घर्षकाे लागि उत्प्रेरित गर्‍यो, सङ्घर्ष चर्कायाे । यस क्रममा शाेषक, सामन्तको नाममा थुप्रैकाे हत्या भयाे, निजी तथा राज्यको सम्पत्ति लुटपाट भयाे । थुप्रै धार्मिक तथा सम्पदास्थलहरू ध्वस्त पारिए । ठाउँ ठाउँमा उभिएका इतिहासका साक्षी सालिकहरू फाेडिए , उखेलिए । अन्तत: ऊ राष्ट्रकै नेतृत्वमा पुग्याे । यतिखेर यति व्यस्त छ कि ऊ कहिले सप्ताह पुराणका कार्यक्रममा प्रमुख अतिथि बन्न पुग्छ, कहिले कुनै खास जाती वा समुदायको भेलामा पुग्छ, कहिले शिलान्यास र उदघाटनमा अनि कहिले त पूजाआजा मार्फत ग्रह दशा निवारण गर्नेतिर पनि लाग्छ । ऊ अचेल किसानलाई भेट्न भ्याउँदैन, मजदुर श्रमिकले उस्काे तस्बिर हेरेरै चित्त बुझाउनुपर्छ , किनकि ऊ मालिकहरुकाे घेराबन्दीमा छ । ' समय, परिस्थिति अनुसार चल्न सक्ने नेतृत्व नै सफल ठहरिन्छ । ' ऊ भन्छ ।' इतिहास जित्नेहरुकाे लेखिन्छ ।' यसैले हाेला, ऊ अचेल आफ्नो सालिक बनाउने उपयुुक्त स्थानको खाेजीमा छ । - पोखराथोक, पाल्पा । (विनाेद नेपालको यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :पौष २०, २०७६ आइतवार - ०७:०५:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend