२२, पौष २०७६
छि: छि: र दुरदुरको तलाउमा सयर गर्ने
बाघको छाला ओढ्ने बिरालाहरू !
लगाम नभएका घोडा घोडीहरू झैं
कुन ठिमीको उकालो हिँडिरहेका छौ ?
मरेको साथी बिरालाहरूलाई
काखी च्यापेर !
- बरू
यदि मैले भनेको सतसत मान्छौ भने
तिमीसँग हिंङ्ग बाँधेको टालो छ
तिमीहरूले दाह्रा, नङ्ग्रा तिखार्न नसके पनि
त्यही टालोको मायावी शक्तिले
सारा मुसा भेला पारी मारेर सकाओ
मुसाकै मतोमा मिलेको सिंहासन चलाओ
मुसाको बाँच्ने अधिकार फिटिक्कै नराख
- किनकी
मुसाका खुल्ला आकाशमा बाँच्ने अधिकार खोसिएका छन्
पीडै पीडाले पोलेर जिउने आधारमा लिउन लागेको छ
बाँच्ने स-साना दुलाहरू दिनानुदिन टालिएका छन्
झन झन भोकमरीको बढोत्तरी भएको छ
पेटभित्र भोकले आन्द्रा झुत्ता खेलेरहेका छन्
गगनमा निराशाको बादलले चुमेको छ ।
तिमीहरू जस्तो सम्पतिमा र्याल काट्ने,
सम्पति लुकाउने र थुपार्ने अधिकार छैन
खान,बस्न,लाउन ,
स्वास्थ, शिक्षाको अधिकार
हामी मुसा ! कहाँ हुनु पशुलाई ?
तिमीहरु पो सिंगान बगाएर धाउँछौ दूर दराज ।
मुसाको जिन्दगी पढ्ने भए
पट्यार लाग्ने कथा भएको छ
आओ हिम्मत भए खुल्ला किताबमा ।
- झुठको मन्त्र जपी मुग्ध बनाउन अझै धेरै सिक
आँखामा छारो हालेर आकाशे खेती फलाउन सिक
समाजवादको कुराले सूर्यमुखी फूल फूलाई राख ।
दर्शनको कुराले वर्षा,असिना,चट्याङ्ग पार्दै जाऊ
व्यङ्ग्य अझै तिखार , निखार
उँटलाई माथ गराउने उखान टुक्का
अझ धेरै सिकेर आऊ ।
- अनि
एकै जालमा हजारौ हजार मुसालाई खजना बनाउनु
अनि तिमीहरूले काखी च्यापेका बिराला भुइँमा छाडेर
ठिमीको ओह्रालोमा मंगल धुन बजाउँदै
पन्चेबाजा, ब्यान्ड बाजा बजाउँदै
तिम्रा समर्थक,आसेपासे,धुपौरे लगाएर
हर्षोउल्लासपूर्वक ताण्डव नृत्य लगाएर
ठिमीदेखि तल समथरमा झरेर मुसा समाउनु
अनि लगाउनु खुशीको लामो अटहासको गर्जन
टाङ्गनु आफ्नो प्रशंसा गरेर
चलेको चलन झन धेरै पोल पोलहरूमा पोस्टरहरू ।
- झापा , नेपाल ।
(तेज कार्कीको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
प्रकाशित मिति :पौष २२, २०७६ मंगलवार -
१८:०५:३८ बजे