२४, पौष २०७६
मुक्तक-१
वसन्त होस कि शरद हजुर रात भने एउटै हुन्छ
मार्सी होस कि सोना हजुर भात भने एउटै हुन्छ
जति गर धनैले पुर मान्छे त ठूलो सानो हुन्न हेर
छुत होस कि अछूत हजुर जात भने एउटै हुन्छ ।
- प्रथा ओमकार
काठमाण्डौ
.............................................
मुक्तक -२
कति गर्छौ पण्डित्याईं, बन्छौ दूत कैलेसम्म !
समाजको अलग पात्र, अदभूत कैलेसम्म !
आजसम्म समाजमा अनुत्तरित एउटै प्रश्न ?
जातीय विभेद मुक्त यो छुवाछूत कैलेसम्म !
- उत्तम भेटुवाल
लिखु -६ नुवाकोट ।
.............................................
मुक्तक -३
जसको सीप पसिनाले, पत्थर मूर्त बनिदिन्छन्
सर्वोत्कृष्ठ आकर्षणको, सम्पदामा गनिदिन्छन्
सञ्चारभरी चर्चा चल्छ, सम्मान पूजा पर्चा चल्छ
ओझल पर्छ मूर्तिकार, अझै अछूत भनिदिन्छन् ।
✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
........................................................
मुक्तक -४
मानवता भन्दा न धर्म ठूलो हुन्छ, न जात ठूलो हुन्छ
बरु आपसी सद्भावमा बस्न जान्ने जमात ठूलो हुन्छ
आस्था हुनै पर्छ सदैव राख्नुहोला,तर यो बुझेर मात्र
भजन गाउने ओठ भन्दा, सेवा गर्ने हात ठूलो हुन्छ ।
- कृष्ण पाण्डेय
बुटवल, नेपाल
हाल : दुबई ।
(बिभिन्न मुक्तककारका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
प्रकाशित मिति :पौष २४, २०७६ बिहिवार -
२१:१२:२७ बजे