२८, पौष २०७६
मुक्तक -१
कैयौं मुटु धुजा भा'छ हाम्रै सामुन्नेमा
देशभक्ति मुजा भा'छ हाम्रै सामुन्नेमा
राष्ट्र निर्माताको सालिकसमेत ढलाएर
देशद्रोहीको पूजा भा'छ हाम्रै सामुन्नेमा ।
- सन्तोष अम्गाईं
गोरखा हाल : काठमाण्डौ ।
.......................................................................
मुक्तक -२
तिम्ले देखेको सपनाले आज नेपाल बनेको छ
एकएक गरी तिम्रा उपदेश इतिहासले गनेको छ
एकताको बीउ रोप्यो, सबका मनमा छाइदियौ
शिर ठाडो पारेर हिँडी सबले नेपाली भनेको छ ।
- स्मृति लक्ष्मी
बिराटनगर, नेपाल ।
.......................................................................
मुक्तक -३
गणतन्त्रको नाममा शालिक, तिम्रो फोडियो
एकतामा बाँधेको नेपाल, संघीयतामा तोडियो
न सीमा सुरक्षित छ आज, न सीमा सुरक्षित छिन्
तिमीले देश जोड्यौ अहिलेकाको, सम्पत्ति जोडियो ।
- चेतन खतिवडा
काठमाण्डौ, नेपाल ।
.......................................................................
मुक्तक - ४
एकता सद्भाव भजाएर, निमुखालाई उछाल्न थाले
साम्प्रदायिकता र जात, धर्ममा भाँजो हाल्न थाले
माटोमा हाले योगदान, ऐतिहासिक ती पहिचान
गलत अर्थ निकालेर, पृथ्वीको शालिक ढाल्न थाले ।
✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
.......................................................................
मुक्तक -५
यी खोला नाला पहाड पर्वतहरू, टन्न पाएका छौँ
सानाठूला सबै हाम्रै सम्पत्ति भन्दै,गन्न पाएका छौँ
थिए एक सुरवीर मातृभूमिलाई माया गरेका, र त
हाम्रो देश नेपाल र हामी नेपाली भन्न पाएका छौँ ।
- कृष्ण पाण्डेय
बुटवल, नेपाल ।
बिभिन्न साहित्यकारका यी मुक्तकहरु
प्रकाशित मिति :पौष २८, २०७६ सोमवार -
१०:०१:४२ बजे