४, माघ २०७६
मुक्तक -१
चोरलाई चौतारी
डाका भए दौंतारी
साधु परे सुलीमा
भ्रष्ट भए औतारी !!
- बैद्यनाथ ठाकुर
प्रगतिनगर -३, वीरगञ्ज ।
.............................................................
मुक्तक -२
यहाँ चोरलाई साधु बनाइदैछ
टाउकामा सुनपानी खनाइदैछ
अनि उसैका लुटका रुपैयाँले
दह्रो विजय उत्सव मनाइदैछ ।
- लक्ष्मी स्मृति, बिराटनगर ।
.............................................................
मुक्तक - ३
नजानेर त बेग्लै कुरा, जानी जानी गल्ती छर्छौ
अनेकथरी खेल गरी, खुशामदी चल्ती गर्छौ
आशाको मूल सुकाएर, फाल्तु कुकुर भुकाएर
सन्त्रास छरी सबैतिर, केवल आफ्नै खल्ती भर्छौ ।
✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
.............................................................
मुक्तक -४
कसैलाई खाली जमिन देख्नु हुन्न, जङ्गल बढेको पीर छ
बिचरा स्वाभिमानी नेपालीको जताततै नुहिएको शिर छ
कोशी बेचे गण्डकी बेचे काली बेचे, चेलीबेटी बेची सके
के गर्ने पछाडी हटौँ खाल्डो छ अगाडी बढौँ तारे भीर छ ।
- मनोज सिलवाल
गोदावरी, काठमाण्डौ ।
.............................................................
मुक्तक -५
भ्रष्टाचार हाम्रो संस्कृति हो यसको वाहीवाही गर्नुपर्छ
भ्रष्टाचार नै नगर्नेले पनि अब कहिलेकाही गर्नुपर्छ
अब छिट्टै संसदबाट विधेयक पास गर्नुपर्छ हामीले
अनि जो भ्रष्टाचार गर्दै गर्दैन उसलाई कारबाही गर्नुपर्छ ।
- गणेश खतिवडा ।
काठमाण्डौं ।
(बिभिन्न साहित्यकारहरुका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
प्रकाशित मिति :माघ ४, २०७६ शनिवार -
२२:३८:४९ बजे