Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

लालीको दाग (लघुकथा) - शारदा पौडेल निशा

लालीको दाग (लघुकथा) - शारदा पौडेल निशा

नेप्लिज डायस्पोरा

१०, माघ २०७६
images
  "रेवती घरमा कुनै महिला आएको देख्यौ तिमीले ?" " देखिन मालिक्नी । खोई कोही पनि आएको छैन । म घर छाडेर बाहिर गएको बेलामा आएकी भनौं भने पनि बाहिर गएकै छैन । त्यसैले कोही आएको छैन । " रेवतीले भनी । रेवतीको मनभरि खुल्दुली मच्चियो । खुल्दुली मेटाउन उसले मालिक्नीलाई सोधी -" किन यसरी सोध्नुभयो हजुरले ? आजसम्म त कहिल्यै सोध्नुभएको थिएन ? " " दालमा कालो छ रेवती । मैले तँमथि कति विश्वास र भरोसा गरेकी थिएँ । आखिर तँ नै यस्ती भएर निस्किस् ? म माइती गएको मौका पारेर रमाइस् ? खुब आनन्द मानेकी होलिस् होइन ?" भन्दै मालिक्नी कड्किइन् । " हजुरले के भन्न खोज्नुभएको प्रष्टसँग भन्नुहोस् मालिक्नी ? मैले हजुरको विश्वास र भरोसा कसरी तोडेँ ? कहाँ गएर के गरेर आनन्द मानेँ मैले ? रेवतीले निडर भएर प्रश्न गरी । " घरमा पनि कुनै महिला आएको छैन भन्छेस् । फेरि किन त्यस्तो देखियो त बिस्तारामा ? आखिर तँ नभएर को हुन्छ त त्यस्तो गर्न सक्ने ? शंकाको पूरा घेरोभित्र पार्दै भनिन् रेवतीलाई ।" रेवतीले अक्क न बक्क पर्दै भनी -" मैले हजुरको बिस्तारामा के गरेँ ? के देख्नुभयो बिस्तारामा ? के छ त्यस्तो प्रमाण भन्न सक्नुहुन्छ ? अझ सिरकको खोल फेर्दा मैले हजुरलाई कति सम्झिएँ । सधैँ दुई जना मिलेर राख्ने खोल म एक्लैले सकी नसकी राखेँ । एउटा छोरी चेली सरह सबै कुरा सहेर काम गर्दा अझै ममाथि नै शंका गर्नुहुन्छ ?" " मैले शंका गरेको होइन ? प्रमाण भेटेर भनेकी हुँ । अझै छ प्रमाण । हेर्न जाने आँट छ तेरो ? "-चर्को स्वरमा भनिन् मालिक्नीले । " हिँड्नुहोस्, देखाउनुहोस् के हो त्यो प्रमाण ?" रेवतीले पनि धैर्यताको बाँध फुटाल्दै भनी । मालिक्नी अघि लाग्दै भनिन् -" लौ आइज भन्दै सरासर आफ्नो कोठातर्फ लागिन् । बिस्तारा तानिन् र सिरक उचाल्दै भनिन् -" यो कसको दाग हो ? किन यहाँ यस्तो दाग लाग्यो ? भन्न सक्छेस् ? " "सक्छु मालिक्नी सक्छु । ध्यान दिएर सुन्नुहोस् -" सिरक ठूलो हुनाले खोल राखेर मिलाउँदा मुखले च्यापेको हो ।" "अनि के को दाग हो त यो ? " अझै चर्किँदै भनिन् । रेवतीले पनि नजर जुधाएर भनी -" लालीको दाग ।" - चितवन, नेपाल । हाल : स्पेन । (- शारदा पौडेल निशाको यो लघुकथा  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :माघ १०, २०७६ शुक्रवार - १०:४२:०४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend