१७, माघ २०७६
बल्कोटमा प्राप्त रवानापत्रको अजंगको भारी बोकेर तम्घास आइपुग्दा बेलुकीको करिव चार बजेको थियो । यद्यपि कुरो निकै पुरानो भएकाले समयसारिणी नमिल्न सक्छ । सिमिचौरको फेरो काटेर जब देउराली पुगियो, किन हो किन तम्घास अतिप्यारो लाग्दै गरेको विछट्टैको अनुभूतिलाई भने आजसम्म पनि मैले बिर्सेको छैन । देउरालीको नेटो काटेपछि तम्घासको सेरोफेरो आउन समय नलाग्ने । प्र्रकाशजीको घर उपल्लो तम्घास बज्यानामा रहेकाले माइकाथान भन्दा केही माथिबाट नै बाँया मोडिएर गए हुने । उहाँ त्यसै गर्नु भो । म चिठी बोकेर अबेर घर पुगेँ भाडगाउँ यस्तै बेलकीको छ बजेतिर ।
आठ कक्षा पढ्दै गरेका हामीहरु पुनः आठैमा पढ्न जाँदै थियौं पोखराको लामाचौर स्थित आवासीय स्कूलमा । यद्यपि समयको हिसाबले ठूलो क्षतिको कुरो थियो त्यो । तर, संयोग र अवसरको हिसावले समयको कुनै माने थिएन हामी दुई प्रकाशजी र मेरो लागि । किनकि प्रवेसीका पछिका खर्चालु दिनहरूदाई झेल्नसक्ने हाम्रो औकात थिएन । अरु मित्रहरु महेन्द्र र बसन्तलाई यो दुखेसो थिएन । उनीहरुको औकात जहाँसुकै गएरपनि पढ्नसक्ने भएकाले लामाचौरको पढाइ एक हैसियको सेरोफेरो बाहेक केही थिएन । यद्यपि लगनका साथ अध्ययन गर्ने हो भने जुनसुकै स्थानको स्कूलमा पढाइ गर्दा पनि सफलताका ढोकाहरू बन्द हुँदैनन् । महेन्द्र हाइस्कूल पढेका अनेकौ दाइदिदीहरु, संगै पढेका साथीहरु र हामीभन्दा पछिका अनेकौ भाइबहिनीहरुले सफलताको उचाइ छोएका छन् । मोहन बंजाडे बालकृष्ण पन्थी, डा.बाबुराम मरासिनी निजामती सेवाको उपल्लो तहमा पुगेका छन् । अग्रज दाजुहरू जयबहादुर हितान, ईं. हिराबहादुर भलामी, नेपाली सेनाको उपल्लो तहमा पुग्न सफल ब्यक्तित्व विजय बिक्रम खड्का, बडागाउँका भरत मल्ल, प्राध्यापक गिरिराज बिक्रम खड्का तथा खड्का परिवारकै कान्छा सदस्य ऋषिराम खड्का महेन्द्र हाइस्कूलकै उपज हुन् । न्यायिक क्षेत्रका एक हस्ती अल्छी गोपाल पाण्डे पनि महेन्द्र हाइस्कूलमै कखरा सिकेका हुन् सायद । दाजु भरत चन्द महेन्द्र हाइस्कूलकै उत्पादन जस्तो लाग्दछ । आज डा. राजेन्द्र चन्द बोहरा, बैंकर ई. राजेन्द्र श्रेष्ठ, युवराज श्रेष्ठ, कृष्ण पौडेल, बाबुराम बंजाडे, रुद्रबहादुर थापा, गणेश विश्वकर्मा, प्रताप थापा, चिरन्जीवी गौतम, गोमा सेन, गोकर्ण मरासिनी, गुमानसिंह थापा, शेरबहादुर थापा, तिलक श्रेष्ठ लगायत अनेकौ अग्रज तथा मित्रहरु सफलताको उचाइमा विराजमान छन् । मैले नाम बिर्सेका तर जीवनको उचाइ छोएका अनेकौ मित्रबन्धु, दिदीबहिनीहरू होलान् । समयक्रममा ती अनन्य मित्रबन्धुहरूलाई म संझिनेछु । जहाँ पढे पनि केही फरक पर्दैन, अकाट्य सर्त एउटै मात्र रहेको छ, त्यो हो कोही पनि मजस्तो बहकिनु भएन र लगनको त्यान्द्रोलाई जहिल्यै समाएर बस्नु पर्यो ।
पोखराको यात्रा पक्का भयो । आठ कक्षाको पढाइ चल्दै थियो । पुनः आठैमा पढ्न त्यता जाने भएकाले पढाइलाई हापीदिए पनि हुने थियो । तर एक दुई महिनाको लागि स्कूल छोडेर फेरि डोको बोकेर वन जान मनले मानेन । यता घरमा बिछट्टैको मानमनितो पो हुनुका साथै बाआमाको एमान लामो नाक हुन थाल्यो । दाजुभाइ, आइआफन्त, गाउँले शुभचिन्तकहरू केही खुशी भए, केहीले ओठ लेप्राए । हाम्रा बाजेहरू मध्ये कान्छा बुढाबा तिरका कान्छाबाले म पोखरा लाग्ने बेलामा भनेका थिए—राम्ररी पढेस् ठूला । पढेर हाम्लाई नबिर्सेस् । मिल्छभने मेरो कालेलाई तँ संग लैजाने मेसो मिलाउनु । पैसा दिएरै पढाउँछु । साँच्चै नै कान्छा बासंग छोराहरूलाई धन खर्च गरेर पढाउन सक्ने हैसियत थियो । हाम्रो टोलमा नक्कासीवाला तालेघर एउटै मात्र थियो, र त्यो उनकै थियो । लैना—बकेर्ना भैसी हुन्थे गोठमा । नयाँ पुरानो अन्न मिलाएर भातभान्सा चलाउँथे । दुःखको कुरो लामो आयु बाँच्न पाएनन् कान्छाबा । लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमै जन्डिसले खायो भन्ने सुने पोखरा छँदै । बाबु बितेपछि छोराछोरीको पढाइलेखाइ सुचारु भएन । कान्छाबाको सपना सपनामात्रै भयो ।
अति प्यारो लाग्दथ्यो तम्घास मलाई । अर्जुनको डाँडाको बडेमानको थुप्रो, रेसुङ्गाको खिरिलो उचाइ, चिदीचौरको छिपछिपे हिले मैदान, किरण पुस्तकालयको मनमोहक सुगन्ध, तँतँ मम गर्ने लंङ्गौटिया यारहरू, गुरूमा पनि महागुरू ज्ञानहरि गुरू, असाध्यै माया गर्ने गुरू विश्वनाथ पन्थी जसले मलाई सधैसधै स्कूल फिस माफ गरिदिने चाँजो मिलाइ दिनु हुन्थ्यो, गुरू भेषबहादुर कुँवर, जसले मलाई कक्षा कोठामा पस्दा “मे आइ कमिङ्ग सर” नभनेको निहुमा सातगेडीको कथा कहँदै जविनभर नबिर्सने चड्कनको गुन लगाउनु भएको थियो, उहाँको पछिल्लो समयको माया, सबैका सबै बिराना हुँदै थिए सुस्तरी । सायद, यसै भएर पनि होला, रवानापत्र पाइसकेपछि पनि म स्कूल जान छोडिन, कक्षा आठको जाँच दिएँ र ठिकैको अंक सिहत पास पनि भएँ ।
तर, रवानापत्रको फेरोमा लाग्नाले कति हो कति अमूल्यनिधिहरू छुटे । सबभन्दा ठूलो कुरो सिङ्गो एक वर्ष गाएव भयो । गणनाको हिसावले सिङ्गो एक वर्ष कम होइन । समय मात्र गाएव भएन, अनेकौ मित्रहरूको संगत छुट्यो । उदिनढुङ्गाको रेसुङ्गा प्राथमिक स्कूल पढ्दाको सबभन्दा धेरै मिल्ने साथीमध्येको एक साथी यज्ञ पन्थीको संगत छुट्यो । उनका बाबु हुलाकमा जागिरे थिए । स्कूल विदा भएपछि हाम्रो पहिलो गन्तब्य हुन्थ्यो उनका बाबुको अफिस जिल्ला हुलाक कार्यालय । जहाँ हामीले मनग्ये पुराना टिकट संकलन गर्ने अवसर पाउँथ्यौ र कापीका कापी टाँसेर संकलन गर्ने गर्दथ्यौं । संगत त कृष्ण पौडेलसंगको पनि यसरी छुट्यो कि जब भेट भइयो, दुबैका कपाल तिलचामल हुन थालेकाथिए । उनका बाबु आमाको तम्घास भीमचोकमा बाबुको नाम सहितको होटेल थियो “होटेल कालीदास” । भाइ इश्वरी सानै थिए, उनको नाकमा झुण्डिने सिंगानको महिमा गाउनै बाँकी छ । कान्छाभाइको त जन्म नै भएको थिएन । आमाले मलाई यतिबिघ्न माया गर्नुहुन्थ्यौ कि कहिलेकाहीँ रामरमितोमा अबेर भयो भने ग्राहकलाई पकाएको भात खुवाएर छोराहरुसंगै सुताउनु हुन्थेन अर्कोदिन बिहान खाना खुवाएर स्कूल पनि पठाउनु हुन्थ्यो ।
मित्र बाबुराम बञ्जाडेसंग बिछोडको साडेदुई दशकको हाराहारीमा भेट भयो, बुटवलमा । निकै संगीन समय थियो त्यो समय । कहिलेकाहीँ झसंग होइन्छ । उही पुरानो महेन्द्र हाइस्कूलको लंगौटिया मित्रताले उनको कस्सो ज्यान गएन । साँच्चै नै तत्कालिन माओवादी नेता दिननाथ शर्माले किसान आन्दोलन सम्बन्धी मेरो प्रेसमा छापेका किताव, जो उनको गोदममा लुकाएर राखिएको थियो, सेनाको सर्चअपरेसनको दौरानमा फेला परेको भए उनको हालत के हुँदो हो ? अन्यथा नसोँचौ, तर उनलाई सेनाले बाँकी राख्ने थिएन । किनकि नेता.पम्फा भुषाल उनको घरमा बास बस्ने गरेको कुरो सेनाले चालपाइसकेको थियो । सोही सर्चअपरेसनको दौरानमा तिनै किताव उनको गोदाममा मौजुद थिए, कम्तीमा हजार थान । सेनाले भेटाएन, मित्र बचे । ती किताव जलाएर खरानी बनाउन हामी दुईभाइलाई दुई दिन नै लागेको थियो । जलाउन यस हिसावले बाध्य भइयो कि ती कितावहरु उनको घरबाट हटाउन सक्ने उपाय नै थिएन ।
तम्घास महेन्द्र हाइस्कूल पढेका साथीहरू मध्ये को छ त आज मेरो आसपासमा ? बुटवलमा बडागाउँकी साहुकी छोरी मिना श्रेष्ठ छिन् । उनीसंगको संगत मात्र एक वर्षको हो, अन्तिक त्यही आठ कक्षा । तर आज उनी र उनका श्रीमान्संग कारोवारी साइनो झांगिएको छ । उनीहरु बुटवलका चल्तीका पुस्तक तथा स्टेशनरी ब्यवसायी हुन् । छापाखाना र उनको ब्यवसायको मेल हुँदो रहेछ । सोही प्रकृतिको मेल छ आज मिना श्रेष्ठसंग मेरो । महेन्द्रकुमार श्रेष्ठ भैरहवामा छन् । उनी तम्घास देखि पोखरासम्मका सहयात्री हुन् । वर्षमा एकाध पटक भेटहुन्छ । यसैमा सन्तोष मान्नु पर्ने अवस्था छ ।
तम्घासका अन्तिमका दिनका सबभन्दा मिल्ने साथी हुन् प्रताप थापा । उनी जुभुङ्ग, झिर्बास वा सोही भेक कतैबाट तम्घासमा पढ्न आएका थिए । होँचो कदका खाइलाग्दा थिए साथी । पढ्नमा अति तेज थिए । म बुटवलमा बस्न थालेको चारपाँच वर्षपछि बाबुराम संगको संगीन पुनर्मिलनपछि मात्र थाहा लाग्यो, प्रताप पुलिसको माथिल्लो पदमा पुगिसकेको कुरो । “हैन केही गर्छकि मित्रले” जनयुद्धताको एक महिने सैन्य तथा पुलिस हिरासतको बेला उनलाई खुब सम्झेको थिएँ मैले । बाबुराम आफै जोगी हुने अवस्थामा पुगिसकेको थियो बिचरा, प्रतापकहाँ मेरो हिरासतको खबर पु¥याउने कसले ?
मित्र बाबुरामबाट हालसालै सुने प्रताप आइजी वा सोही सरल कुनै पदबाट रिटायर भए । काठमाण्डौमै बस्दछन् । दुःखद कुरो हाल उनी शारिरीक असक्त अवस्थामा छन् । हामी एउटै बेञ्चमा बस्ने साथी थियौं । मिलेर चियानास्ता गथ्र्यो । साथीको असक्तावस्थाको खबर सुन्दासुनाउँदा मन अमिलो भएर आउँछ । धैर्य गर मित्र । हामी कोही सग्लो छैनो वा सग्लो हुने अवस्थामा छैनौ अब । यसपटकको गण्डकीयनहरूको भेटघाट कार्यक्रममा आउँदा तिमीलाई सलाम गर्न पक्कै आउनेछु मित्र । राष्ट्र सेवक हौ मित्र तिमी । हौसला, धैर्यता र साहसलाई गुम्न नदिनु ।
बुटवल, रुपन्देही
प्रकाशित मिति :माघ १७, २०७६ शुक्रवार -
१८:०३:४२ बजे