३, फाल्गुण २०७६
मुक्तक -१
काँडा बिझेको पाउ मेरो, फूलै बिछाऊ त भन्दिनँ म
तिमीले जति माया गर, फुरूक्कै पनि बन्दिनँ म
लेखेको लेखा मेटिन्न रे, छेकेर दु:ख छेकिन्न रे
नफेकिँदैका चल्ला अब, अण्डैमा बिथ्थै गन्दिनँ म ।
मुक्तक -२
जस्ले अरूको जीवनबाट, सुखहरू छिन्दै हुन्छ
जाँतोमा राखी दनादन, घुनलाई झैं पिन्दै हुन्छ
उस्लाई के था सुख के हो, अरूले भोग्ने दु:ख के हो ?
दु:ख काटूँ दु:खैमा हाँसी, सुखको मजा भिन्दै हुन्छ ।
मुक्तक -३
चिनेको छु तिमीलाई नि, असल कुरा काट्न सक्छौ
कागज-पत्र मिलाएर, दुनियाँलाई ढाँट्न सक्छौ
कृत्रिम माया भोगाएर, आफ्नो जीवन जोगाएर
भित्री मनको स्वार्थ पुगे, 'आफ्नै मान्छे' साट्न सक्छौ ।
मुक्तक -४
राजनीति हो नेपालको, अर्कै देशमा चावी हुन्छ
यो बनाउँछु त्यो बनाउँछु, अनेकानेक दावी हुन्छ
आदर्शका कुरा हुन्छन्, तर सधै अधुरा हुन्छन्
सिद्धान्तलाई गोली मारी, जहिले 'स्वार्थ' हावी हुन्छ ।
मुक्तक -५
आदर्श, नीति अनुशासन, सिकाउँथ्यौ उस्तै अर्जीका कुरा
धनमा गाँठो परेपछि त, थालेछौ आफ्नै मर्जीका कुरा
मास्थिर ढाके तल्तिर ह्वाङ्गै, तल्तिर ढाके माथी छ्याङ्गै
ढाकेर कत्ति ढाकिँदैन, शायद तिम्रा फर्जीका कुरा ।
✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
२०७६ फागुन ०३
(अर्जी - निवेदन, प्रार्थना)
प्रकाशित मिति :फाल्गुण ३, २०७६ शनिवार -
१२:५५:२६ बजे