Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मुस्कान (लघुकथा) - राजु क्षत्री अपुरो

मुस्कान (लघुकथा) - राजु क्षत्री अपुरो

नेप्लिज डायस्पोरा

२०, फाल्गुण २०७६
images
    ऊ पुरानो एल्बम पल्टाउँदै थियो । समय समयमा खिचिएका फोटाहरूले मानसपटलमा ताजा स्मृति दिलाइरहेको थियो । यसैक्रममा उसले आफ्नो बालापनको फोटो भेटाएपछि टक्क रोकियो । फोटोमा ऊ मुसुक्क मुस्कुराइरहेको थियो । मीठो मुस्कानमा अबोधपन झल्किएको प्रष्टै देखिन्थ्यो । उसलाई आज पनि आफ्नो होश खुलेदेखि सम्झना छ, त्यो मुस्कानले त्यतिबेला उसका थुप्रै आफन्त र छिमेकीहरूको मन जितेको थियो । मीठो मुस्कानस्वरुप उपहारमा कतिपयले म्वाईँ खाएका थिए भने कतिले गाला सुमसुम्याउँदै अङ्गालोमा लिएर छातीमा टाँस्दै माया गरेका थिए । कतिपयले फलानाको छोराको मुस्कानले घर अझै उज्यालिएको छ भन्थे । यसको त हाँसै मिठो ! त्यै भएर पनि मन खिचिन्छ भन्ने छर -छिमेकीहरू पनि थुप्रै थिए ।   उसले बालापनको फोटो र हालको सेल्फी लिएको फोटो एकसाथ आफ्नो फेसबुक वालमा पोष्ट गर्‍यो । क्याप्सनमा लेख्यो - "पाँच बर्षको त्यो बालापनको मुस्कान र २५ बर्षे युवाको मुस्कान !"   हेर्दा-हेर्दै मीठा मीठा र प्रशंसाले भरिएका प्रतिक्रियाहरू आउन थाले । सयौं मानिसको प्रतिक्रिया! गजब, मिठो मुस्कान , सधै मुस्कुराइरहनु , आहा कति हँसिलो !, अझ केहीले त यही मुस्कानले थुप्रै युवतीहरू पट्याएको हुनुपर्छ भनेर लेख्न समेत भ्याए । यस्तै यस्तै प्रशंसाले भरिभराउ थियो - उसको कमेन्ट बक्स ! धन्यवाद फर्काउन समेत भ्याई नभ्याई भएको थियो- उसलाई ! तर अचम्म ! उसका अाफन्त , छिमेकी र उसलाई नजिकैबाट चिन्नेहरुको प्रतिक्रिया एउटा पनि थिएन । सुत्नुपूर्व उसले पुन: मोबाइल खोल्यो , उसले अन्तिममा एउटा प्रतिक्रिया देख्यो। त्यो प्रतिक्रियामा थुप्रै निकट व्यक्तिहरूका लाइक मौजुद थिए । प्रतिक्रियामा उल्लेख थियो ``रामकृष्णे! तँ जसरी मुस्कुराएको छस् त्यसैगरी तेरो परिवारलाई पनि मुस्कुराउन दिँदो होस् त हामी कति खुशी भएर मिठा मिठा कमेन्ट लेख्थ्यौ होला है ?´´ - माछापुच्छ्रे गापा, लाहाचोक कास्की । ( राजु क्षत्री अपुरोको यो लघुकथा  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।) गीतकार सतिश चापागाईंको मनछुने गीत https://youtu.be/-nOYsZW0UEg   https://youtu.be/enSHw4h0vKU

images
प्रकाशित मिति :फाल्गुण २०, २०७६ मंगलवार - १९:४१:३३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend