Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

सपनाको गुन्द्री (कविता) - प्रथा

सपनाको गुन्द्री (कविता) - प्रथा

नेप्लिज डायस्पोरा

२०, फाल्गुण २०७६
images
  आमा– आफू जस्तै अँगेनोमा ढुङ्ग्रोले आगो फुक्नु हुन्छ ! छोरो– मरुभूमीको तावामाथि मनको तातोले सपना पोल्छ । ....... जब उठ्छ अँगेनोबाट धुवाँको मुस्लो आकाशतिर आमालाई लाग्छ धुवाँसँगै उडिरहेछन् – जीवनका सारा खुसीहरू ! किन यति लामो छ यो जिन्दगी हिँड्ने बाटो पनि ! उफ् मेरी रामसाइँली ! कसरी हेरूँ म यी आँखाहरूले सपना जलेका छोराछोरीहरू ! ....... साँच्चै रामसाइँली ! खडेरी परेर जिन्दगी सुकेको पतझडमा यो भोकको डढेलो नसल्केको भए रानीवन छोडेर समयको भयावह गीत गाउँदै सायद, उड्दैनन् थिए होलान् वनचरीका लस्करहरू रम्बलको पठारसम्म ! ....... किरिङ-किरिङ-किरिरिङ....! हेलो-हेलो-हेलो........! कल्लीमाया काकी हो ? हो हजुर .... बोल्दै छु ! भिसा त, अस्ति नै झरिसक्यो लौ १२ गतेको फ्लाइट छ छोरालाई तु पठाइदिनु होला ! ...... फोन राखेर बेस्सरी दौडिन्छिन् उनी मेटिदै गरेका आफ्नै हस्तरेखाहरूको डिलैडिल ! ...... मायादेवीले बुनिन् फुङसामाले बुनिन् सुम्निमाले बुनिन् लक्ष्मनियाले बुनिन् डोलसारीले बुनिन् र आज पनि– कल्लीमाया बुनिरहेछिन्, उही पुरानो सपनाको मान्द्रे गुन्द्री ! ...... जीवनको आँटीमा पल्टिएर सारङ्गी रेट्दै गाइनेदाई गीत गाउँछन् ! “दु:खैले रेट्यो नि कलेजी मेरो थीरमा छैन मन जाँदै छु उडी समुद्रपारि छोडेर प्यारो वन !” ....... आमा– सम्झना बुन्नुहुन्छ र खुसीको बिट मार्न नभ्याउँदै हरेक दिन – आँखा चिम्लिनुहुन्छ – तानमै ! छोरो– सपनाको चङ्गा उडाउँछ ! र लट्टाईबाट अकस्मात् धागो चेट भएपछि ऊ निदाउँछ – बालुवाको ओछ्यानमाथि ! ...... जब ओर्लन्छ जहाजबाट कफनबक्स् जमिनमा तब तैरिँदै बग्दो हो यो भूगोलको नक्सा – आँसुको नदीमाथि ! ....... आमाहरूको हातबाट जुन दिन, गुन्द्री बुन्ने हतासो हराउनेछ सायद, त्यही दिन सपनाको यही बिखण्डित गुन्द्रीमाथि अन्तिम चोटी निदाउनेछ एउटा निरीह देश पनि – मुर्दा बनेर ! अस्तु । - काठमाण्डौ, नेपाल । २०५९ असोज २७ (प्रथाको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।) गीतकार सतिश चापागाईंको मनछुने गीत   https://youtu.be/-nOYsZW0UEg   https://youtu.be/enSHw4h0vKU

images
प्रकाशित मिति :फाल्गुण २०, २०७६ मंगलवार - २०:०१:२७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend