Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

घर छोड्नु अघि ! (कविता) - आर. बि. निश्चल

घर छोड्नु अघि ! (कविता) - आर. बि. निश्चल

नेप्लिज डायस्पोरा

२०, फाल्गुण २०७६
images
  बाबू ! सक्छौ भने बिर्सिदिनू घर छोड्ने अघिल्लो रातलाई अनि फूलको थुङ्गो झैँ स्वच्छ र सिमलको भुवा झैँ हलुङ्गो मन लिएर सार्नू पाइला पैदल हिँड्नुपर्ने जति बाटो त्यस्तै हलुङ्गो तन लिएर सक्दैनौ यदि भने औँसीले भरिएको मनमा सानो प्वाल पारेर बग्न दिनू जिन्दगीको चर्को अमिलो-धमिलोलाई अनि पखाल्दै-पखाल्दै जानू आँसुले दु:ख, व्यथा, पीडालाई र, उड्नु तिमी कल्पनाका पखेटा हालेर स्वप्निल आकाशमा चाहन्छु- तिम्रो आँसुले भिजेको यो माटोमा फक्रिउन सपनाका फूल तिम्रै चाहन्छु- खल्खली बगेको तिम्रो पसिनामा मुस्कुराउन मुटुका चल्लाहरू तिम्रै तिमी हिँड्ने यो बाटो तिमीलाई छुने यो हावा अनि यी सुन्दर प्राकृतिक दृश्यमा छोडेर जानू अलिकति सम्झना लिएर जानू अलिकति सम्झना हिमालको शित्तल पवन , गुराँसको रङ्गीन मन अनि बुद्धका अर्द्धमुदित नयन सम्झिएर गर्नु है बाबू तिमीले आफ्नो काम म त आखिर डाँडामाथिको घाम के नै भर छ र मेरो ! गर्मीले आत्तिएर छिटो-छिटो घस्रिँदै गरेको झुसिलकिरो झैँ तिमी विदेशको कोकुनमा पुगेपछि पखेटा हाली पुतली बनेर उड्दै-उड्दै घर फर्किँदा हुनसक्छ - अस्ताइसकेको हुनेछु म ! फक्रिएको तिम्रो मुस्कानमा रङ्ग अनि सुवासमा उज्यालिएर मुस्कुराउन यदि म रहिनँ भने हेर्नू है बाबू मलाई - राती सुनसान आकाशमा टिल्पिल्टिल्पिल तारामा अनि नभुल्नू है गन्न मैले तिमीलाई जन्माउँदा-हुर्काउँदा बिताएका पिडादायी ती निर्दयी दु:खका दिनहरूलाई यो मातृभूमी अनि साहूका ऋणहरूलाई बाबू खस्नेछु म जब शित बनेर तब हेर्नू- बिहानीमा टल्केका शितका थोपामा मलाई अनि सम्झनू- यिनै हुन् मेरी आमा मुस्कुराउने मलाई देखेर यिनै हुन् मेरी आमा एकान्तमा एक्लै रुने मलाई सम्झेर ! – रिब्दिकोट -७ मैनादी । (आर. बि. निश्चलको प्रस्तुत कविता गोकर्णेश्वर नगरपालिकाद्वारा आयोजित राष्ट्रिय कवितामा प्रदेश नं -५ बाट उत्कृष्ट कविताका रूपमा पुरस्कृत भएको थियो। साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   गीतकार सतिश चापागाईंको मनछुने गीत   https://youtu.be/-nOYsZW0UEg   https://youtu.be/enSHw4h0vKU

images
प्रकाशित मिति :फाल्गुण २०, २०७६ मंगलवार - २०:३७:१६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend