२३, फाल्गुण २०७६
कोणीय हिसावले जीवनको धार ठिक उल्टो हुनपुग्यो । एकप्रकारले भन्ने हो भने, हामीदुई बुढाबुढी आलिसन महलबाट झोपडपट्टीको बासमा थन्किन पुगेका थियौं । यो कथा नीतिकथामा वर्णित मुसाको कथासंग मिल्दोजुल्दो पात्रीय भाव जस्तै भएका थियौं । राजमार्गको किनारमा सडक निर्माणको दौरानमा मजदूरहरूले प्रयोग गरेर छोडेको बाँसको दशहाते झोपडी हाम्रो आसियाना बन्यो । त्यसै दशहाते बासलाई भाग लगाएर एक किनारमा बाको आरन खडा थियो, जहाँ बसेर उनले रोजीरोटी कमाउँथे । बा हामी नङ्पो पुगेपछि सो महल हामी छोराबुहारीलाई रात बिताउन दिएर बुहारीको हातको पाकोगास टिपेर बाटोको केही माथि रहेको नेपालीहरूको बस्तीमा गएर रात बिताउँथे । खासमा सोही बस्तीलाई मकैबारी भनिन्थ्यो । जहाँ भाडगाउँतिरकै एक खप्तरी परिवार खेतीकिसानी गरेर बसेको थियो ।
मैले यहाँ आलिसान महलको उपमा प्रयोग गर्नुका कारणहरू छन् । मसंग ती दावीहरूलाई पुष्टि गर्ने प्रसस्त आधारहरू थिए वा छन् । ती कारणहरूलाई शिलशिलेवार तरिकाले लिखत गर्न सकिन्छ । ०३९ सालमा मसंग बिहेगर्नुु भन्दा पहिले अनिताजी हुनेखाने परिवारको छोरी हुनुहुन्थ्यो । पहाड, तराईमा खेत खलियान थिए । जहाँबाट वर्षभरिलाई खानपुग्ने धानचामल आउँथ्यो । खेतीपाती घरगृहस्थी सम्हालिदिने पौरखी आमाबावु, सुनचाँदीको काम गर्ने एकसेएक होनहार दाजुहरूको काखमा बाल्यकाल बितेको थियो । गोठमा लैनाबकेर्ना गाईभैसी हुन्थे र दुधदहीको छेलोखेलो हुन्थ्यो । उहाँ आफैले पनि तानसेन बजारमा बसेर दिनमा पाल्पाली ढाका उद्योगमा काम गर्ने र बेलुकी रात्री स्कुलमा अध्ययन गर्ने गर्नुहुन्थ्यो । म त झन् तत्कालिन समयको नेपालकै नामी स्कुल गाण्डकी बोर्डिङ्ग स्कुलको उपज भइहालेँ । छोटो समय पो किन नहोस् पी.एन. क्याम्पसको छात्रबृत्तिवाला विद्यार्थी भएँ । बुर्जुवा शिक्षा बहिष्कारको तापमा हुर्किएर कास्की, तनहुँ र स्याङ्जाका बनपाखामा चहार्ने गरेको तत्कालिन झापाली पार्टी नेकपा (माले) को जुझारू क. हेमन्त भन्ने मनुवा पनि म आफै थिएँ ।
दिनचर्या शुरू भयो नङ्पोको मकैबारीमा हाम्रो । सो बेला बाको उमेर पुगनपुग पचासको हाराहारीमा थियो । यसै पनि छोरा मान्छेको लागि पचासको उमेर त्यति पाको होइन । शरीरमा बर्कत, ताकत हुने बेलाभनेकै त्यही पचासको हाराहारीको उमेर हो । छिप्पिदै गएको उमेरको साथसाथै इलमको पुर्णताको कारणले पनि नयाँ जोस जाँगरका साथ काम गर्ने उमेर नै यही हो । हर्षाको कारणले अगाडिका दुईदाँत झर्नु बाहेक शरीरमा अन्य कमजोरी थिएन बाको । यता हामी बिहान झिसमिसेमै उठ्थ्यौं । यसै पनि राजमार्गको किनारबाट मुस्किलले तीनचार मिटर टाढामात्र हाम्रो बाँसमहाल खडा भएकाले लाटु«मबाइ—खेलेरीघाटबाट कोइला बोकेर आइजाइ गर्ने हजारौ ट्रक, गुवाहाटी सिलोङ्ग राजमार्ग हुँदै त्रिपुराको अग्रतला, मिजोरमको राजधानी इम्फालसम्म जाने अनवरत गाडीहरूको धुँवाध्वनीको कारणले आँखा झिम्म पार्नसक्ने अवस्था रहँदैन थियो । यसैपनि सुदूर भविष्यको अन्धकार साम्राज्य भित्रको तुवालोमा रोमलिएर हामी बुढाबुढी आधारात त गन्थनमै अलपत्र पर्ने गथ्र्यौं । कहाँबाट कहाँ पुगेको थियो हाम्रो जीवन ? अन्दाज अनुमान गर्ने कुनै मापनयन्त्रै नै थिएन हामीसंग । एकसरो बाको हातले बनाएका नयाँ दाउ, अर्जापेका पुराना बञ्चरा, हसियाँ—खुर्पा, गैती—फरुवा—कोदालोको आम्दानीबाट हामी तीन प्राणीको मुखमा माड लगाएर बचेको रकम जम्मा गरेर कहिले नेपाल फर्किने ? कहिले साहुको ऋण तिर्ने ? ससाना भाइबहिनी र आमाको चेहरामा कहिले खुशी फर्काउने ? उजाड हुँदै गरेको जीवनलाई कहिले हराभरा बनाउने ? साँच्चै निदाउन सक्दैन्थ्यौं हामी सारारात । छर्लङ्दै पारिन्थ्यो रात शोक, सन्ताप र पीडाको सागरमा चुर्लम्म डुबेर । यो पल हाम्रो जीवनको अर्को मर्माहन्त “पाथेर पाञ्चाली” थियो ।
अहो ! ती कहाली लाग्दा दिन, ती अनिदा रातहरू सम्झिदा मन ढुक्क फुलेर आउँछ आजपनि । आँखा रसाएर आउँछन् र विषादको गहिरो रहमा डुब्न पुगिन्छ । मनले तर्क गर्दछ, सायद यस्तै परिस्थतिको सामना गर्न नसकेर होला, तमाम प्रदेशिएका नेपालीहरू कहिल्यै नेपाल नफिर्किने । गायव हुने र समय कटेपछि कुशको चिता बनाएर जलाउनु पर्ने ।
सबै कुराहरू सतहमा आएका थिए, गोहीले उत्तानो परेर सिमसारमा घाम तापेजस्तै । ससुरा, जेठानलाई कलेज पढ्दै गरेको, पोखराबजारमा ग्रील उद्योग खोलेर मालिक बनेको, स्कूलले छात्रबृत्ति दिँदै गरेको भन्ने रकमी र सफेदझुटका पुलिन्दाहरू असरल्ल भइसकेका थिए । मानिस निर्लज्ज भइसके पछि आफ्से आफ उदाङ्गो बन्दो रहेछ । अनिताजीको कुरो नगरौं, उहाँ विचराको के दोष ? मुल कारकतत्त्व त म नै थिएँ । त्यसैले मेरै कुरो गरौं । म यति उदाङ्गो हुन पुगेकि आङ्मा लत्ताकपडा हुँदाहुँदैै पनि बादशाहको पोसाकको मिथक जस्तै नाङ्गो भएर चौराहमा खडा भएको थिएँ ।
बा बिहानै आउँथे । उनी आउनुभन्दा पहिले उठेर हामीले जेजस्तो संसार छ, त्यसैलाई सम्हालिरहेका हुन्थ्यौं । त्यतिबेलासम्म पनि ऊनलाई रातको रमझमले छोडेको हुँदैन थियो । खुट्टा लरखराउँदै बाससंगै जोडिएको आरनको टुँडो नजिक बसेर आगो सल्काएर हातेपंखा चलाउन थाल्थे । मेघालय पसेपछि बाले खलाती बिर्सेछन् वा खलातीको झमेलाबाट पार भएछन् । काममा केही सहज र सजिलो भएछ । कामधन्दा शुरु गर्नुभन्दा पहिले बुहारीको हातको एक गिलास कालोचिया पिउँथे । जे जस्तो भएपनि बाको मन हो, राती बसाबस्ने जोहोतिर आइलागेको मासुका केही टुक्रा आस्कोटको गोजीबाट निकालेर “ला खा, बुहारीलाई नि दे” भन्दै मेरो हातमा थमाइदिन्थे । यतिबेलासम्म आरनमा कामले रफ्तार समाउन थाल्थ्यो । कतिपय ट्रकहरू रोकिन्थे र भाँचिएका स्प्रीङपटराहरू बाको अगाडि राख्दै बनाउनु पर्ने सामानको फेहरिस्त लगाउँथे । कतिपयले बनेको सामान पोको पार्थे र ज्याला थमाएर जान्थे । हामी बुढाबुढी यो अचम्मको परिदृष्यलाई एउटा कुनामा बसेर नियालिरहेका हुन्थ्यौं । मलाई भने ती ग्राहकको नजिक आएर “म पनि यिनै आरनेको छोरा हुँ” भनेर परिचय दिन पटक्कै मन लाग्दैन थियो । अनिताजीलाई झन् यो तमासा कुनै दुःखान्त नाटकको दृष्यजस्तै लागिरहेको थियो । गहभरि आँसु, मनभरि सन्ताप, मुटुभित्रको औडाहाले थर्थराईरहेको उहाँको मनको दशा म चियाइरहेको हुन्थे टुपुक्क बसेर बाँसमहालको एकछेउँबाट ।
मकैबारी रहँदाबस्दा हामी पनि बिस्तारै खुल्न थाल्यौ । तर पनि बाले जेसुकै गरुन् “म यो बाटोको किनारमा बसेर फलाम पिट्दिन” मैले मनमा अठोल लिएको थिएँ र सकेसम्म घनमार्तुल समाइन । बिस्तारै हामी बुढाबुढी गाउँ चहार्न थाल्यौ । “राती बा कहाँ बास बस्दा रहेछन् ?” त्यस कुराको खोजिमा मकैबारीको उकालो चढेर गाउँकै खप्तरीको आगनमा पुग्योंै । चिनापर्ची ग¥यौं । हाम्रो बारेमा बाले सबै कुरो बताइसकेका रहेछन् । त्यसैले धेरै फाइफुट्टी लगाउनु नै परेन । लाहुर त नाम मात्रको पो रहेछ । ठ्याक्कै हाम्रै गाउँघरको कुनै देहाती बसोबासभन्दा रत्तिफरक थिएन त्यस भेगमा बसोबास गर्ने नेपालीहरू दिनचर्या । गोठमा गाईभैसी । मलखादको स्वरुप ठिक हाम्रै गाउँघरको जस्तै । आगनको एक कुनामा तुलसीको मठ । बारीमा रोएिका कोदो मकै । किलामा बाँधिएका बाख्राका पाठापाठी । आपसमा भलाकुसारी गर्ने, सम्बोधन गर्ने, बोलाउने तरिका पनि ठ्याक्कै नेपालकै जस्तै । माइला, साइला र कान्छा, जेठी—कान्छी आदि इत्यादि ।
खप्तरी परिवार भाडगाउँले नै भएकाले घुलमिल हुन हामीलाई कत्ति समय लागेन । मेरो मन र अन्तष्करणबाट ममा रहेको रहलपहल आत्माभिमानको धिपधिपे ज्वाला पनि बाहिरीसकेको थियो । ज्ञानहरि आचार्य, विश्वनाथ पन्थी गुरूको सिमलीछाँया, जोरसल्लाले जुराएका अनेकौ संगतिहरूको चौघेरामाझ हुर्किएको, बाआमा, आइआफन्त तथा शुभचिन्तकहरूको आशाको केन्द्र, स्कुल पढ्दै गर्दा नै लेखनबृत्तमा लागेर हातबसाली सकेको स—सानो कवि—कथाकार, फुटकर नै किन नहोस् केही थान पुरस्कार जितिसकेको स—सानो कलाकार, मर्तीकार आदि—इत्यादि कुनैपनि अभिलेख मसंग सुरक्षित रहेनन् वा थिएनन् । जहाँबाट बिदा भएको थिएँ, शिक्षाको उज्यालो खोज्दै म, पुनः म घुमिफिरी त्यही संघारमा ओतलाग्न पुगेको थिएँ टुपुक्क ।
मेरो जीवनको शुरुवात भएकै आरनबाट हो । बाले आरने काम गर्थे । दिदी पछिको, पहिलो न्वारनमा सिंगो राँगो ढालेर भोज खुवाइएको बाआमाको मनको छोरो हुँ म । आमाले घरधन्दा धान्नै प¥यो । जडौरीको कोटमा पोको पारेर आरनको तातोमा दिनभर सुताएर हुर्काएका हुन् रे बाले मलाई । समयक्रममा स्कूल जाने मौका मिल्यो । अनेकौ उतारचढाव बीच अवसरहरूका ताँती ओइरिए । ती अवसरहरूलाई पच्छाउँदै गइयो । अनेकौ संगतिहरू जुरे । पार्टीको होनहार कार्यकर्ता बन्न पुगियो । क. गिरीषले आसामयात्राको साइतको अन्तिम घडिमा बन्दकोठामा राखेर सम्झाउँदै भन्नु भएको थियो हामी दुबैलाई—“एकपटक फेरि गहिरिएर सोँच्नुस् हेमन्त । तपाईंले चिन्ता गरेर तपाईंको घरपरिवार सुध्रिन्न । दाजुभाइ भनेको सबैका त्यस्तै हुन् । पछि कोखामा छुरी धसाउँदा बल्ल चेत पाउनु होला ।”
नीतिकथामा ज्यानको सुरक्षाको याचना गर्दै सरण पर्न आएको एउटा त्रसित मुसालाई महात्माले बिरोलो हुँदै सिंहमा रुपान्तरण गरेको उल्लेख छ । तर अन्त्यमा सोही सिंहरूपि मुसाले महात्मालाई नै भोजन बनाउने दुश्साहस गर्दा महात्माले सो सिंहलाई पुनः मुसोमा नै परिणत गरिदिए । आज गम्छु, सो नीति कथा मेरोलागि लेखिएको हो । जहाँबाट जीवन शुरु भएको थियो, सोही मोडमा उभिन पुगेको थिएँ । कारण के थियो वा कसको श्राप लागर म पुनः मुसोमा परिणत भएँ ? यस विषयमा विवेचना गर्नै बाँकी छ ।
बटवल ।
प्रकाशित मिति :फाल्गुण २३, २०७६ शुक्रवार -
१८:२१:३९ बजे