३०, फाल्गुण २०७६
मकैबारीमा रहँदाबस्दा बिस्तारै बिस्तारै हामी पनि घुलमिल हुन थाल्यौं । हाम्रो बाँसको झोपडी नजिकै उमसिङ्ग इलाका फरेस्ट अफिस थियो । सो अफिस भवन सिमेण्ट र इट्टाको गारो लगाएर बनाइएको थियो । जो हाम्रो सूदुर भविष्यको कल्पनाको बास समेत थियो । बस्दैगर्दा के थाहा लाग्यो भने त्यस अफिसका रेन्जर नेपाली नै रहेछन् र, रहेछन् हाम्रै जातिका विश्वकर्मा । आसाम र मेघालयतिर सबै प्रकारका विश्वकर्माहरूले थरको पहिचानको रुपमा सुनार लेख्ने चलन छ । दशक लामो मेघालय र आसाम बसाइको दौरानमा मैले कतै पनि विश्वकर्मा थर लेखेका स्वजातिलाई भेटिन । जति भेटेँ सबै सुनार नै भेँटे ।
पद प्रतिष्ठाले मानिसलाई एउटा निश्चित स्थान तोकिदिएको हुन्छ । जसलाई नाघेर ऊ तलमाथि गर्न नसक्दो रहेछ । यसैलाई अग्रेजीमा हाइरार्की भन्दा रहेछन् । यो कुरो मलाई त्यही मकैबारीको बसाइले सिकायो । एक नेपाली, त्यसैमा पनि जातीय सामिप्यता आदि कारणले मैले अनेकौं प्रयत्न गरे ती अफिसरसंग नजिकिन, नजिकिएर आफ्नो विवसता बताउन, मनका कुराहरू खोलेर हल्का हुन । तर ऊनले कुनै टेरबतास लगाएनन् । सायद ती फरेष्ट अफिसर हामीजस्ता आरनेसंग जानपहिचान गरेर आफुलाई तल झार्न नचाहेका हुन् । हुनसक्छ अफिसरको रुपमा ऊनको सो बस्ती समाजमा जुन मानप्रतिष्ठा कायम थियो, हामीसंगको उठबसले सो मानप्रतिष्ठामा आँच आउन सक्थ्यो । जे होस् ऊनले हामीलाई कुनै माने दिएनन् । पछि त हामी पनि मकैबारी छोडेर नङ्पो दाजु रणबहादुर क्षेत्रीको घर नजिक सुगम ठाउँ हेरेर बसाइ र आरन दुबैलाई स्थान्तरण ग¥यौं । स्वाजातीय फरेष्ट अफिसरसंग मित्रताको लगनगाँठो कस्ने दिलेरी इच्छा पनि हराएर गयो ।
बाको मकैबारीको आरनको कामको रफ्तार कमाइदार नै लाग्यो हामीलाई । बिहान सातआठ बजेबाट शुरु भएको काम बेलुकी अबेरसम्म चल्दोरहेछ । गोल कोइला उम्लिङ्ग क्षेत्रबाट आउँदो रहेछ । एक बोराको चालिसपचास रूपैयाँ पर्दो रहेछ मुल्य । आरनमा बाको लगानी भनेको त्यही कोइला बाहेक केही रहेनछ । झोपडी मालिकलाई मासिक भाडा सय रूपैयाँभन्दा कम दिनुपर्दो रहेछ । मेघालय राज्यमा आज पनि सामाजिकसत्ता महिलाको हातमा छ । सम्पत्ती माथि महिलाको अधिकार हुन्छ । छोरीहरूमा पनि कान्छी छोरीको विशेष अधिकार रहन्छ र ऊनीहरू बिहे गरेर केटालाई आफ्नो घरमा ल्याएर राख्छन् । बाको आरनको मालिक पनि खसिया महिला नै थिइन् । भाडा बुझाउन पनि सजिलो नै रहेछ । नगद नदिए पनि हुने । भाडा बराबरको फलामका औजार दिएर कटाएपनि हुने सुबिधा रहेछ बालाई ।
बेलुकाको खाना खाइवोरी बा मकैबारीको उकालो लाग्थे रात बिताउन । बास्तवमा भन्ने हो भने बाको जिन्दगी एक खानाबदोस जिन्दगी थियो । उमेरै नपुगी कपाल सेता हुन थालेका थिए । अगाडिका दुई दाँत हर्साको कारणले झरेका थिए । दिनभरको कामको फुर्सद पछि तीनपानेको झोलसंगको मितेरी साइनो ब्रह्मापुत्र तर्दा त झन् गाढा भएको रहेछ । हामी नङ्पो पुगेर मकैबारीको बसाइ पछि भने बालाई काम सकेपछि पाको गास खानुपर्ने आदत बसाल्न थाल्यांै । खानाको समयसारिणी मिल्न थालेकाले बाको चेहरामा अलिकति भएपनि रौनक आउन थाल्यो । लुगाफाटाको मेसो पनि मिल्न थाल्यो । तिर खेल्ने बानीबाट भने कसैगरि छुटाउन सकिएन । हिँजोको तिर नपरेपछि आज अघिल्लो रकम बराबर थपेर खेल्ने चलन रहेछ । उनलाई तिरखेलाबाट बिमुख गर्न किन सकिएन भने, कमाइ त ऊनी आफैले गर्थे । हामी त उनको गास्से लाग्न पो गएका थियौ । कमाइ गर्ने मान्छेलाई खर्च नगर भन्ने हिम्मत हामीले जुटाउन सकेनौ ।
सायद यही कमाएर रमाउने बानीले नै बालाई घर छोडेको यत्रा वर्षसम्म पनि घरपरिवार, छोराछोरीको संझना भएन । घरमा ससाना छोराछोरी छन् । खेतबारीको नाममा पाखोबारी छ । वर्षभरिलाई घरको आयस्थाले खान पुग्दैन । कृषि विकास बैंकको चक्रबर्ती ऋण छ । मानेसाहु, चिदीचौरे बस्नेत साहुनीको लम्बाचौड तम्सुकमा औठाछाप लगाएर दिएको छु र यी सबै कारणले म प्रदेश लागेको हुँ भन्ने मेरा बाले किन बिर्से ? किन बिर्से ? मकैबारी र नङ्पोको सो पुगनपुग एकवर्षको समयावधीमा मैले कहिल्यै सोधिन ऊनलाई । नसोधेपनि कारणको खोजिमा भने निरन्तर लागिरहेँ ।
बनिबनाउ संसार त्यागेर प्रदेश लाग्नुका मसंग मिश्रितकारणहरू थिए । सबभन्दा प्रमुख र मुख्यकारण चाँहि एकदुई वर्ष भित्रैमा मनग्ये पैसा कमाएर बाले लगाएको तमाम ऋण तिर्ने थियो । आज यतिका वर्ष पछि म मेरो अबोध र असम्भवप्रायः सोँचप्रति आफै लज्जित हुन्छु । पल्टनको लाहुरेले सारावर्ष मोर्चामा खटिएर मुस्किलले चारपाँच हजार भारु साथमा बोकेर आउने जमाना थियो त्यो । पढाइको नाममा क्याम्पस भर्ना भएको प्रमाणस्वरुप क्याम्पसले जारी गरेको परिचयपत्र बाहेक केही थिएन मेरो साथमा । प्रवेशिका परिक्षा लगत्तैकोे कम्निष्टे संगतको कारणले “श्रमलाई सम्मान” महावाणीको फन्दामा पर्नाको कारणले संगै पढेको साथी उत्तम सिल्पकारको दाइको चिप्लेढुङ्गा स्थित ग्रील उद्योगमा केही महिना गरेको घनठोकाइको अनुभव बाहेक कुनै सिप थिएन मसंग । भर्खर चौबिसपच्चिस पुगेका जोइपोइ थियौं साथै । बिहान बेलुकी हातमुख जोर्नु प¥यो । भइपरि खर्च चलाउनु प¥यो । यद्यपि यो मकैबारीको बासंगको बसाइ भने पहिलो थिएन मेरो । हामी जोइपोइ त्यहाँ जानुभन्दा पहिले नै अनेकौ स्रोतहरूबाट बा नङ्पोमा रहेको जानकारी लिएर, एकपटक आफै गएर बाको सबै स्थिति बुझेर आएको हुनाले बालाई दङ्लाउने कुनै बाटो पनि बचेको थिएन मसंग । यस सम्बन्धमा कुनै दिन बेलिबिस्तार लाउनु नै छु म ।
बा बितेको पनि लामो समय भयो । सग्ला भाइबहिनीका अतिप्यारा बाबु थिए ऊनी । अघोरी सिपालु हुन् आफ्नो काममा ऊनी । गाउँलेहरू भन्थे “माइलाओ पाइन” भाडगाउँले सबै कामीले लाउने पाइन भन्दा जब्बर हुन्छ । तर तिनै हामीसबैका अतिप्यारा बाबु घरपरिवार च्यात्त छोडेर, आधा उरिम भरिने मकै उठ्ने सारा गाउँमा फैलिएका तमाम बालिघरे घरधुरी बिर्सेर, जहान—छोराछोरीलाई चटक्कै माया मारेर, सरकारी ऋण, खुंखार साहुसाहुनीको चेहरा बिर्सेर कसरी यो कमैबारीमा रमेर बस्न सके ? यो भने अचम्म र उदेक लाग्दो कुरो थियो हाम्रो लागि ।
बा बेलुकी बुहारीको हातको पाकोगास खाइवोरी मकैबारीको उकालो लाग्नुको कारण खोज्दैजाँदा के पत्ता लाग्यो भने बा त हामीलाई नयाँ आमा ल्याइदिने तर्खरमा रहेछन् । ऊफ ! यो तथ्यको जानकारी पाएपछि पछि म अर्धचेत जस्तै भएको थिएँ । मान्छे यति निर्मोही कसरी बन्न सक्छ हँ ? जड्यौरीको कोटमा पोको पारेर आरनको तातोमा हुकाएका थिए रे बाले मलाई । तर तिनै बाले बनिबनाऊ संसार बिगारेर संसारको पल्लो कुनामा पुगेर नयाँ घरजम गर्दै थिए । सायद यही कारणले होला ऊनले आमालाई बिर्सेको, जसले घरमा दुःखजिलो गरेर ऊनैको रगतहरूलाई पालिरहेकी, हुर्कारहेकी थिइन । जवान हुँदै गरेका, भर्खरै बामे सर्दैगरेका चिचिला छोराछोरीलाई जसरी तसरी सम्हाल्दै थिइन । सम्हालिन नसकेका जति दिशापासा लाग्दै थिए । ऋणधनको पारो आफ्नै हिसावले बढिरहेको थियो । ब्यक्तिको ऋण त्यस्तै हो, मुद्दामामिला चल्ला, समय पाइएला तर सरकारी दायित्व भनेको सरकारी नै हो । त्यसले त अन्तिममा गर्ने भनेको लिलामी हो र लिलामीबाट प्राप्त हुने परिणाम भनेको जंगलको बास नै हो । यिनै यावत कुराहरू थिए खातमाथि खात लाग्दै गरेका । संगै जोडिएका अरू पनि भंगालाहरू थिए । ती भंगालाहरूमा चारैतिरका खहरेहरू एकाकार भएर अट्टाहास गरिरहेका थिए । समग्रमा जीवनको यो द्रुपद पाञ्चालीसंग जसरी म, अनिताजी एकाकार हुँदै थियौं, सायद यो परिवेश कहिँकतै कसैसंग भएको थिएन होला ।
चोक्टा र झोलको ब्यङ्ग्यात्मक तर मर्मभेदी लोकोत्ती नेपाली जनमानसमा खुब प्रचलनमा रहेको छ । म चोक्टा खोज्दै पुगेको थिएँ हजारौ माइल टाढाको अन्जान प्रदेशमा । तर, मकैबारी पुगेर बाको साथमा केही दिनको बसाइ पछि के थाहा लाग्यो भने मत पुरै झोलमा पो डुबिसकेको रहेछु । यावत कुरा सतहमा आइरहेका थिए । बा घर नफर्किनुका कारणहरू छरपष्ट हुँदै थिए । बाको कमाइ नहुने र नभएको होइन रहेछ, बरु कमाइको रकम अनेकौ भागमा भाग लाग्दोरहेछ । पहिलो कारण तिर खेला रहेछ । फस्यो भने घर जान सकिएला । केही रकम बिहान बेलुकीको भोजन र नास्ता पानीमा खर्च गर्नु प¥यो । सबभन्दा ठूलो भाग त हुँदै गरेकी नयाँ आमाको घरपरिवारमा खर्च हुँदो रहेछ । जहाँ उनको उठबस रहेको थियो र हामी मकैबारी पुगेपछि त बासबस्ने थलो नै बनेको थियो ।
जीवनका अघोरी खडेरीहरू हुन् यी, जो मेरो जीवनमा आँधी बनेर आएका थिए । न समाउने डालो, न सहारा दिने त्यान्द्रो । ओतलाग्ने न कुनौ भरपर्दो बास । र पनि त जंघार त पार गर्नै थियो । तर कसरी तर्ने यो विशाल आगोको नदी ? यती हुँदाहुँदै पनि पूर्वीय क्षितिजको उदाउँदो सुर्यको मधुरो किरणले भने हामीलाई साथ छोडेको थिएन । त्यो साथ नछोडेको किरणको लकिर थियो तत्कालिन माले पार्टीका मित्रहरूको अजम्मरी साथ ।
मैले तत्कालिन माले पार्टी छोडेको थिइन । सो बेलाको कम्युनिष्ट पार्टी बास्तवमा कम्युनिष्ट पार्टी नै थियो । एक आपसमा सद्भाव थियो । कोहीकसैसंग नीजि स्वार्थ थिएन । सबैजसो नेता—कार्यकर्ताहरू देश र जनताको मुक्तिको खातिर ज्यानलाई बलिबेदीमा अर्पण गर्न तैयार भएर बसेका हुन्थे । म पार्टीसंग मात्र दुई वर्षको बिदा मागेर बालाई घर फर्काउने र सकेसम्म बैकको ऋण तिर्ने सर्तमा प्रवास लागेको थिएँ । त्यसउसले पार्टीसंग सजिव सम्बन्ध थियो । मैले यावत कुराहरू केही नलुकाई नङ्पो स्थित पार्टी कमिटीमा खुलस्त राखेँ । मेरो कुरो सुनिसके पछि कमरेडहरूले सल्लाह दिनु भयो— बालाई मकैबारी राख्न भएन कमरेड । उहाँलाई नङ्पोमा लिएर आउनुस् । हामी ठाउँ खोजिदिन्छौं ।
यस पछि हामी सडकछेउँको बासको महललाई त्यागेर रणबहादुर क्षेत्री दाइको नजिकै एकजना नेपाली टुकुने दाइको खाली रहेको घरमा आएर बस्न थाल्यौं ।
बुटवल ।
प्रकाशित मिति :फाल्गुण ३०, २०७६ शुक्रवार -
२०:१४:१० बजे