Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

समाज(लघुकथा ) -बिर्खे अञ्जान

समाज(लघुकथा ) -बिर्खे अञ्जान

नेप्लिज डायस्पोरा

२१, चैत्र २०७६
images
  एक मात्र छोरा झोले । कुनै राजनैतिक पार्टीको कट्टर कार्यकर्ता । छोरी सहरमा पढ्दै गरेकी । ऊ खेतीपाती छोडेर व्यवसाय गर्न भर्खर थालेको ।व्यापारले नाफाभन्दा घाटाको अङ्क गणित धेरै देखायो । अचानक श्रीमती बेहोस भइन् र अस्पताल भर्ना गर्यो । पेट रोग विशेषज्ञले भन्यो -- अल्सर भएको छ । मानसिक रोग विशेषज्ञले जानकारी दियो -- डिप्रेसन भएको छ । छाती रोग विशेषज्ञले घोषण गर्यो - टि. बि. भएको छ । वास्तविक रोग कुन हो ऊ अन्योलमा पर्यो ।अस्पतालले बिल थमायो । खल्तीमा कौडी थिएन ।सम्झियो इष्टमित्र । पहिलो नम्बरमा ससुरालीलाई फोन ठोक्यो ।उताबाट स्वभाविक जवाफ आयो -- "ज्वाइँ साप दु: खको बेलामा सहयोग गर्नुपर्ने मानवीय कर्तव्य हो । त्यसमा पनि तपाईं आफ्नै मान्छे । तर के गर्नु कान्छोलाई अस्ति मात्रै अमेरिका उडाएँ । आफै ऋणमा छु ।" दोस्रो नम्बरमा दाईलाई सम्झियो जो मालपोत कार्यालयको हाकिम थियो । उताबाट वेदनाको गीत घन्कियो -" बुहारी अस्पतालमा भर्ना भएको खबरले दु: ख लाग्यो । सहयोग त गर्नै पर्ने हो । आफ्नोलाई समस्या परेको बेला आफन्त नै काम लाग्छ । तर तँलाई थाहा नै छ, भर्खरै घर बनाएको । कामदार, हार्डवयरलाई पनि मैले भुक्तान गर्न सकेको छैन ।" तेस्रो नम्बरमा भिनाजुको याद आयो । उहाँ भंसारतिर हुनुहुन्थ्यो । उनीले विरहमा बिडम्बना पोख्दै भने - " समस्या पनि एकपछि अर्को आउँदो रहेछ । पैसा नभएको त हैन ।एकहप्ता अगाडि मात्रै भनेको भए दिन्थे । हिजो मात्रै जग्गा पास गरेँ । दिनसक्ने हैसियतमा म पनि छैन ।" साथीभाई, छरछिमेक चिनेजानेको सबैलाई हारगुहार गर्दा पनि कतैबाट सहयोगको ढोका खुलेन । अन्ततः अंस भागको घडेरी बेच्यो र श्रीमतीलाई उपचार गर्यो । समस्यामा विवेक गुमाएको यो समाज र सङ्घर्षको वर्तमान बोकेर आँउने समयसँग पौठेजोरी खेल्दै ऊ फर्कियो । केही बर्षको कडा मेहनतले क्रमशः व्यापार सुध्रियो । सहर पसेकी छोरी सरकारी जागिरे भई । छोरा मन्त्रीको स्वीकिय सचिवमा नियुक्तिको खबर आयो । लामो समयदेखि सम्पर्क विहिन आफन्तको फोन आयो - " बधाई छ है बधाई । छोराछोरी आ-आफ्नो खुट्टामा टेके, खुशी लाग्यो । तपाईंको पनि व्यापार व्यवसाय थप्न मन लागे हामीलाई सम्झनु । सहयोग गर्ने मौका त पाउँनु पर्यो नि । " माइतीले विर्सिएको श्रीमतीको फोनको घण्टी पनि बज्यो -- " हैन ए छोरी ! तँपनि कति निष्टुरी भएकी हँ ? आफूलाई भने कति नियास्रो लागेको छ । नभेटेको पनि निकै भयो । पर्सि पूजा छ, सपरिवार आउनू ल ।" उता उसको घण्टी टनन टनन बजेको बज्यै छ । कोही उद्योगपति , कोही ठेकेदार । उनीहरू भन्दैछन् - "अबको चुनावमा हजुरको छोरा उठ्नु भयो भने हामी सहयोग गर्ने छौ । परि आँउदा एक-अर्कालाई हेरविचार गर्ने समाजको दायित्व पनि हो ।" यत्तिकैमा नाति दौडिदै आयो र भन्यो - " हजुर बा ! हजुर बा !! समाज भनेको के हो ? उसले मुस्कुराउँदै जवाफ दियो -- " दु:खमा लात्ती हान्ने , सुखमा पछि लाग्ने स्वार्थको झुण्ट नै समाज हो ।" - पालुङ मकवानपुर । (बिर्खे अञ्जानको यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।) https://youtu.be/QUG-NUXamVk

images
प्रकाशित मिति :चैत्र २१, २०७६ शुक्रवार - १५:३६:५३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend