बतासले पात हल्लाउँछ, दोष मेरो
आफू निर्दोष भै घुम्छ गाउँ,सेरोफेरो
पात हल्ले पनि कुरा फेर्ने म त हैन
खुशी पार्न कान भर्ने, बानी पनि छैन
घरै गई चाकडीमा लागें कहाँ, कैल्हे ?
कोसेलीको ठुलै कुम्लो बोकें कहाँ मैले?
चाकडीका निम्ति,चुक्ली लाएँ कहाँ मैले?
मिठो बोली साम्ने ताली लाएँ कहाँ मैले?
यस्तै गरिरहेको छ यै मान्छेले तर
हिड्छ मेरै पातलाई दोष लगाएर
जान्ने भई नाम राख्छ‘पीपलपाते’भन्छ
चाकडी र चाप्लुसीको घेरो कतै तोड्छ?
स्थिर छैन मन सधै, ढुलमुल हुन्छ
जाती बन्न कुरा लाई घर-गाउँ हिड्छ
बतासले हल्लिँदा यो पात दोष मान्छ
आफू भने रालो जस्तै यताउता हुन्छ!
आफ्नो दोष लुकाएर नाम राख्ने मान्छे
लुकीछिपी आफै मिठोचोखो खाने भान्छे !
तेरो कुरो सुन्दिन म आफ्नै मर्जी चल्छु
यै पातले अक्सिजन फाल्छु, गुन गर्छु
जति गुन गर्छु मैले बैगुनी तँ बन्ने
हाँगा काटी बोट ढाली गफ हाँक्नु पर्ने
मेरो जाति भाइ विना तेरो भलो होला
बैगुनी नै बने तेरो भावी पुस्ता रोला।
पाल्पा, हाल- काठमाण्डौं ३२