३०, चैत्र २०७६
मुक्तक -१
आफ्नो दु:ख पो दु:ख जस्तो, आफ्नै व्यथा ठूलो लाग्छ
आफ्नो इज्जत चन्दन ठान्छ, अरूको उचाई धूलो लाग्छ
आँखामा स्वार्थको चश्मा हुँदा, मन स्वार्थको बसमा हुँदा
आफ्नो पीडा महासागर देख्छ, अरुको पीडा कुलो लाग्छ ।
मुक्तक - २
पहिले आँखै-आँखैमा दुबैले मुटु साटे होलान्
अब त हेर्दिन उनलाई भनेर पनि ढाँटे होलान्
तर देख्नु र हेर्नुमा पक्कै केही फरक हुन्छ नै,
नज़र न हो, बिना खबर सिमाना काटे होलान् ।
मुक्तक -३
अगाडि ठिक्क पार्छन्, पछाडि रिसराग लाउँछन्
सम्बन्ध जोड्न अघि गुणन घटाउ भाग लाउँछन्
नाफा नोक्सान तौलन्छन् सम्बन्धका व्यापारीहरू
मायामा पनि दिल हैन, बनियाँ दिमाग लाउँछन् ।
मुक्तक -४
इच्छाहरुले सधैं यहाँ जानीजानी छल्दै गयो
चाहेको र पाएको बीच खिंचातानी चल्दै गयो
ओर्लिन जातले दिएन उक्लिन औकातले दिएन
रहर र बाध्यता बीच जिन्दगानी ढल्दै गयो ।
मुक्तक -५
ढाकेर हेरें, अस्तित्व आफ्नो, अझै मेरो पहिचान उस्तै छ
भाकेर हेरें, हर युगमा मान्छे बद्लियो भगवान उस्तै छ
आफैंले कुँदेर बगरको ढुङ्गालाई देउता भनेर पूजे पनि
डाकेर हेरें, मेरो भगवान, निर्जीव अनि अनजान उस्तै छ !
स्वयम्भु, काठमाडौँ
(सुनिल अधिकारीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
https://youtu.be/-nOYsZW0UEg
https://youtu.be/enSHw4h0vKU
प्रकाशित मिति :चैत्र ३०, २०७६ आइतवार -
१३:२२:१० बजे