३, बैशाख २०७७
नलगा धाक ए आगो! पराक्रम, प्रभावको
दाउरा, खरकै आड पाएर दन्किने तँ हो
तेल, पेट्रोलका ऊर्जा पाएर मच्चिने न हो
स्वयं विचार गर् नत्र तेरो तागत चल्दथ्यो?
नलाओ धाक पेट्रोल, दाउरा, खर, तेल हो !
'हामी ऊर्जा' भनी शक्ति बखानेर स्वयं अहो
यदि यो दन्कने आगो साथ दिन्न स्वयं भने
कहाँ अस्तित्व? मेटिन्छ -धाकैधाक्र भयो भने
नलाओ धाक नेता हो पदको शान मानको
धन दौलतको वाद सिद्धान्त र समूहको
जनता बाङ्गिँदा तिम्रो केही रहन्न आजको
के शेखी गर्दछौ ब्यर्थै अनुहार छ लाजको !
नलाओ प्रहरी, सेना पदको धाक भो पुग्यो
लाउँछौ किन ब्यर्यैमा धाक सम्मान, मानको?
मन्त्री, सचिवको धाक र धाक पत्रकारको
कवि लेखकको, प्राज्ञ, प्राध्यापक समेतको
ज्ञानको, धनको, राम्रो हुनुको, अधिकारको
लाभका पदको, धर्म, कर्मको अख्तियारको
वाद सिद्धान्तको, थोत्रो दलको जाति वर्गको
धाक लाउन पर्दैन कसैले अब ब्यर्थको
सुकार्य धर्म हो, सच्चा मन हो, व्यवहार हो
आस्था विश्वास मान्छेको भित्रको मूल मर्म हो
सर्वोपरि तिनै हुन्छन् सुरक्षा तिनकै भलो
अभावमा तिनै जाँदा धाक लाएर के भयो ?
नलाऊन् धाक ब्यर्थैका सौरमण्डलका ग्रह
अडिन्नन् एकअर्काको आकर्षण विना ग्रह
कुरा यत्ति बुझे जम्मै मेटिन्छ अभिमान त्यो
नलाओ ब्यर्थको धाक धाकले अघि बढ्छ को ?
पाल्पा,
हाल- काठमाण्डौं ३
प्रकाशित मिति :बैशाख ३, २०७७ बुधवार -
१७:०२:४१ बजे