Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पासको ग्यारेन्टी (लघुकथा) - वैद्यनाथ ठाकुर

पासको ग्यारेन्टी (लघुकथा) - वैद्यनाथ ठाकुर

नेप्लिज डायस्पोरा

७, बैशाख २०७७
images
सरकारी विद्यालयको पढाइप्रति हजुरबा राम प्रसाद निकै चिन्तित छन् । कक्षा नौमा पढ्दै गरेको उनको नाति रमेशले बजारबाट तरकारी ल्याउँदा साधारण हिसाब समेत नआएर बाइस रुपैयाँ बढी ठगिएकोमा एक्लै भुटभुटाउँदै थिए - "खोइ, के गरेर दिन कटाउँछन् मास्टरहरु विद्यालयमा....? विद्यार्थीहरुका भविष्य त खत्तम नै हुने भयो ।" त्यत्तिकैमा पल्लो गाउँकी राममाया टाउकोमा पट्टी बाँधेकी छोरीलाई लिएर गइरहेको देखेर सोधीहाल्नु भयो - "कसरी फुट्यो छोरीको टाउको ?"  राममायाले आक्रोशित हुँदै भनिन् - " हिजो स्कुलमा एउटा विद्यार्थीले ढुङ्गा फाल्दा यिनको टाउको फुटेको हो । मास्टरहरु केही हेर्दैनन् । स्टाफ कोठामा बसेर गफ मात्रै गरेर हाजिर पकाउँछन् । अब त सरकारी स्कुलमा छोराछोरी पठाउनै बेकार हो ।" यता मिठाईको बट्टाबाट मिठाइँ झिक्दै विद्यालय व्यवस्थापन समितिको अध्यक्षले भन्दै हुनुहुन्थ्यो - "ल ल, सबैजना मिठाइँ खानुस् ।" "के को खुशीमा मिठाइँ बाँड्नु भएको नि ?" - राममायाले सोधिन् । मुसुक्क हाँस्दै अध्यक्षले भन्नुभयो । "केही मूर्ख मानिसहरु बेकारमा बदनाम गरिरहेका छन् सरकारी स्कुललाई, पढाइ लेखाइ चौपट्ट भयो भनेर । बोर्डिङ्ग स्कुलमा चर्को शुल्क पनि तिर्छन् र विद्यार्थीहरुलाई मरीमरी पढ्नु पनि पर्छ । जति पढे पनि आखिरमा विद्यार्थीहरु हुने भनेको पास नै हो । जब कि सरकारी स्कुलमा पढाइ पुरै निशुल्क छ । किताब फ्रि पाउँछ । सित्तैमा खाजा खान पाउँछ । केटीहरुलाई त साइकल पनि पाउँछ । यतिमात्र कहाँ हो र झन् चार सयको दरले छात्रवृति पनि पाउँछ र पढ्नु पनि पर्दैन । तर पनि हामीले सबै विद्यार्थीको पासको ग्यारेन्टी गरेका छौं...|"  प्रगतिनगर-३, वीरगन्ज । २०७७ बैसाख ०६   (वैद्यनाथ ठाकुरको लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)     https://youtu.be/enSHw4h0vKU

images
प्रकाशित मिति :बैशाख ७, २०७७ आइतवार - १७:३१:५६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend