१०, बैशाख २०७७
आमा, आमा शब्द आफैमा कति महान छ के बयान गर्नु । न कुनै किताबका पानामा वर्णन गरेर सकिन्छ न लेखेर यसको अन्त्य नै हुन्छ । निस्वार्थ माया ममता स्नेह र दयाको खानी भएको शब्द हो आमा।
तिनै आमा हुन आफु जलेर पनि सन्तानलाई हसाईरहेकी हुन्छिन । आफु भोकै रहेर पनि सन्ततिको भोक मेटाईदिएकि हुन्छिन् । आफु पानी पिएर पनि छोराछोरीलाई अमृतपान गराईरहेकि हुन्छिन् । आमा श्रृष्टि हुन आमा जीवनको सर्जक, बोल्न नजान्दा बोल्न सिकाउने आमा, हिड्न नजान्दा ताते ताते गर्दै हिड्न सिकाउने आमा, खान नजान्दा कोख्वाई कोख्वाई गर्दै पेट भरिदिने आमा, आफ्नो ब्यस्त जीवनशैली जस्तै दुख कष्टका बाबजुत पनि सन्तानको भोक प्यास सन्चो बिसन्चो हरेक कुरामा ध्यान दिने आमा ।
एकछाक छोराछोरीले नखादा आफु भोकै बसिदिने आमा, अलिकति पनि बिरामी भैदिदा सन्तानकै पिडामा भौतारिने आमा, कति महान छन ती आमा जुन सन्तानको खुशीको लागि हरेक दिन प्रयत्नशिल रहनेछिन । हरेक ईच्छा र चाहाना बुझेर पूरा गर्न तयार हुने आमा ।
हुन्छन शब्द अनेक यो जगतमा प्यारा र राम्रा तर ,
एउटै शब्द छ शब्द कोषमा आमा आहा सुन्दर ।
संसारको सर्वश्रेष्ठ मान्छे मात्र एउटी आमा हुन । तर बिडम्बना त्यही आमाले जन्माएका सन्तानबाट तिनै आमालाई सहारा छैन । उनैले बोल्न सिकाएका छोराछोरीसग आज तिनै आमा बोल्न डराउनु पर्ने हुन्छ । आफु भोकै बसी बसी पेट भरिदिएका सन्तानबाट बुढेसकालमा एक गिलास पानी पिउनु छैन । आमाको झुपडीमा दर्जनौ छोराछोरी अटाउछन तर तिनै छोराछोरी को ठुला ठुला महलमा आमाको लागि बाँस हुदैन । आफ्नो पसिना बगाई बगाई सन्तानको पेट भरदिएकि आमालाई एक दुई छाक खुवाउनु परे हिसाब हुन्छ अहो बिचित्र संसार ।
भनिन्छ दिनहु आमाको दर्शन गरे कुनै चारधामको दर्शन गरिराख्नु पर्दैन । आमाको दुधको भाडा लाग्छ आमालाई रुवाउनु हुदैन । तर आज तिनै सन्तान आफु सुख सुबिधा सहित महलमा रमाउने जन्मदिने आमालाई आश्रममा पठाउनेहरुको कमी छैन । कति आमाहरु आश्रममा छोराछोरीको बाटो हेरेर रोईरहेका हुन्छन । कति आमाहरु गाउमा एक्लै तड्पिरहेका हुन्छन । छोराछोरी को एउटा फोनसम्म सुन्न पाए खुशीले गदगद हुने अामालाई तिनै छोराछोरी हुन एक कल फोन सम्म नगरेर बर्षौ बिताउन सक्छन ।
बुढा पाकाहरुको भनाई छ नि माया ओरालो लाग्छ, वास्तबमा ओरालै लागेको हो त ? के सन्तानले बाबाआमाको मर्म बुझ्नै नहुने हो त ? के सन्तानको आफ्ना जन्मदाता प्रति कुनै जिम्मेवारी र दायित्व नहुने हो त ? बृद्ध अवस्थामा सहारा खोजिरहेका बाबाआमा प्रति सन्तानले अलिकति मान सम्मान र ममता दर्शाउदा के उनीहरुको सर्वश्व नै हराउने हो त ?
अह म त मान्दिन सन्तानले पनि जिम्मेवार बोध गर्नु पर्छ । आफ्नो दायित्व सम्झेर पनि पूरा गर्नु पर्छ । नजिक हुनेले सेवा गर्न सकिन्छ टाढा हुनेले सम्मान दर्शाउन सकिन्छ दुखसुखको सहारा बन्न सकिन्छ तर किन बिपरित मात्र भएको देखिन्छ ।
जस्तै दुष्टकपुतको पनि यिनी गर्छिन भलो उत्तिकै, चाहे पुत्र कपुत्र होस जगतमा, हुन्नन कुमाता यिनी । जब कुनै पनि आमाहरु आश्रममा देख्छु सन्तानको माया र सहाराको अभाबमा रोईरहेको देख्छु मन छुन्छ अनि ती सन्तानहरुलाई धिक्कार्न मन लाग्छ । यति त स्मरण रहोस भोलि आफु पनि बृद्द हुनु पर्छ आफ्ना पनि सन्तान छन।
यसैगरि आफ्ना सन्तानबाट अपहेलित हुनु पर्दा कस्तो हुन्छ ? त्यो पनि बुझ्न सक्नु भने तपाईं सानै छदा किताबको पानामा पढेको कथा त याद गर्नुस, आफ्नो बुवाले हजुरबुवालाई डोकोमा बोकेर फाल्न हिडेको देख्दा छोरोले भनेको थियो, बाबा हजुरवुवालाई फाले पनि डोको नफाल्नुस है, वुबाले सोधे किन छोरा ? छोरा भोलिपर्सी फेरि त्यही डोकोमा राखेर मैले हजुरलाई फाल्नु पर्छ नि । अनि ती बुवाले फाल्न लगेका आफ्ना बुवालाई फर्काएर घरमै राखी पहिले भन्दा राम्रो स्याहर गरेका थिए ।
त्यसैले तपाईं जस्तो कर्म गर्नु हुन्छ त्यस्तै फल पाउनुहुन्छ भोलि आफ्ना लागि भए पनि आज राम्रो गर्न सिक्नुस, आफ्ना जन्मदाताको आँशु पुछ्न सिक्नुस माया ममता र सम्मान दिन सिक्नुस, बाबाआमालाई मैले पालेको छु भन्ने घमण्ड पनि नगर्नुस कि श्रद्दाले भन्नुस म यस्तो सन्तान हो जुन बाबाआमासंग बस्ने शौभाग्य पाएको छु । आज मातातिर्थ औशी अर्थात आमाको मुख हेर्ने दिन !
मेरो मनमा खुल्दुली भैरहेछ नजिकै भएर पनि बर्षौसम्म आमालाई भेट्न नजाने सन्तानको मनमा आज आमाको याद आउला कि नआउला टाढा छु भनेर टाढिन खोज्ने बर्षौसम्म एक कल फोनसम्म नगर्ने सन्तानको मनमा आज आमाको सम्झनाले बिझाउला कि नबिझाउला ? आमालाई आश्रममा छाडेर महलमा रमाउनेहरु आज के सोचिरहेका होलान ?
जे होस, सबैमा आजैका दिनदेखि भए मनमा आमाप्रति श्रद्दाभाब पैदा हुन सकोस र सदबुद्दि प्राप्त होस । कुनै पनि आमाहरु सन्तानको माया ममताको अभाबमा रुन नपरोस कुनै पनि आमाले छोराछोरीको महलमा बास नपाएर आश्रम पुग्न नपरोस । यही कामना सहित मातातिर्थ औंशीको पावन अवसरमा सबै आमाहरुमा हार्दिक नमन !
नमन ! आमा नमन !
नमन ! आमाहरु नमन !
पाल्पा
लिस्बन, पोर्तुगल
https://www.facebook.com/nepalesediaspora/videos/2517981535088958/
प्रकाशित मिति :बैशाख १०, २०७७ बुधवार -
२२:१५:५६ बजे