Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

आमा (कविता) -सोम निरौला

आमा (कविता) -सोम निरौला

नेप्लिज डायस्पोरा

१०, बैशाख २०७७
images
  (छन्द - मन्दाक्रान्ता) आमाभन्दा सरस र महान् शब्द केही हुँदैन आमाभन्दा सुमधुर कुनै साइनो पाइँदैन आमा हाँसे सुखसयलको ज्यूनुको अर्थ हुन्छ आमा रोए धन पद त के जिन्दगी व्यर्थ हुन्छ १ आमाभन्दा सुरगणहरू माथि छैनन् कदापि ढुङ्गा पुज्ने जनक जननी बिर्सिने छौँ तथापि मैले सोच्ने समय पनि हो यो झुकाएर माथ आमालाई कति दिन सकेँ मान सम्मान साथ २ हाँस्दा खेल्दा वरिपरि सयौं मित्र आफन्त हुन्छन् आमा हुन्छिन् नजिक दुखमा अन्य टाढा रहन्छन् पैसा ऊर्जा जमिन घरले व्यक्ति बन्दैन वीर आमा भन्दा `हजुर´ जसले सुन्छ ऊ हो अमीर ३ छोड्छन् बच्चा रुन यदि मुमा छेउमा देखिएमा घट्छन् पीडा अलिक उनले माथ छोई दिएमा आमा आमा यति जप गरे जप्नु प र्दैन राम आमा हाँस्दा झलमल भई झोपडी बन्छ धाम ४ हामीलाई समय कहिले हुन्छ सोच्ने अरूको ? आफ्नो भन्ने अलग चिज नै हुन्न आमाहरूको ! आमा तिम्रो विपुल ममता दिव्य मेरो कमाइ धेरै हिँड्ने रहर छ अझै अङ्गुली ती समाई ५ आमा बस्ने जुन हृदयमा ठाउँ केही हुँदैन आमा देख्दा जुन हृदयमा चस्स केही छुँदैन आमा सम्झी जुन हृदयमा हुन्न कर्तव्यबोध ढुङ्गो हो त्यो हृदय नभई जन्तु हो ऊ अबोध ६ - इलाम, नेपाल । (सोम निरौलाको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   https://youtu.be/ZUTyTBDOil4 https://youtu.be/UzL5FOvCu7g  

images
प्रकाशित मिति :बैशाख १०, २०७७ बुधवार - २२:५३:१३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend