११, बैशाख २०७७
तस्विर : ईकान्तिपुर
मुक्तक -१
स्वर्ग भन्दा मुमाकाे छ त्याे काख प्याराे
सुख सयल भन्दा पनि झन् लाख प्याराे
याे जन्म सफल बनाअाैँ सम्झेर धरालाई
अाऊ बचाअाैँ ममताकाे छ साख प्याराे ।
-हिमाेढ पहाडी
भारत
..........................................................
मुक्तक -२
रातभर कोल्टे फेर्दै सम्झि रहेकी होलिन् ।
घरि घरि तस्बिर हेर्दै सम्झि रहेकी होलिन् ।
घर छोडेर न जा बाबू भन्थिन् परदेश हिड्दा ,
यादहरू अाँचलमा बेर्दै सम्झि रहेकी होलिन् ।
- दङ्गाली तारा समर्पण
तुल्सीपुर, दाङ्ग
..........................................................
मुक्तक -३
आमा महान हुनुहुन्छ, सृष्टिदाता हुनुहुन्छ
मेटेर कहिल्यै नमेटिने अमर नाता हुनुहुन्छ
दु:ख दिनु हुँदैन आमालाई् सदैव सेवा गरौं
आमा हाम्रो जीवनको, सधैको गाता हुनुहुन्छ ।
- सिताराम के.सी.
रामेछाप हाल : भारत
..........................................................
मुक्तक -४
एउटा झुट लुकाउनलाई सयौं झुट बोल्छौ किन ?
मानवता कुल्चेर अरुको जीवन बिथोल्छौ किन ?
नारी आमा हुन् दिदी हुन् बहिनी अनि धर्ती हुन् !
दानव बनी अस्मिता लुट्न बस्त्र खोल्छौ किन ??
- सानू पौडेल
बुटवल, नेपाल ।
..........................................................
मुक्तक -५
अात्तेकी छु अनेक चिजले सताएर आमा
साद्धे छैन ज्यानको रोग बताएर आमा
कत्ति पटक सम्झेँ मैले ओछ्यान परेपछि
कोही नि छैनन् पानी दिने तताएर आमा।
अदिती अर्याल ज्ञवाली
कुलेश्वर-१४, काठमाडौं
..........................................................
मुक्तक -६
पिठ्यूँ माथी मलाई बोकी, पछ्यौरीले बाँन्थ्यौ आमा
मेलापात अनि घास दाउरा , आफुसँगै लान्थ्यौ आमा
तिम्रो मायाँ सम्झि ल्याउँदा ,यस्तो लाग्छ अहिले मलाई
आफ्नो मुटू भन्दा पनि ,मलाई प्यारो ठान्थ्यौ आमा ...!!
- निर्मल पराजुली
सामाखुशी काठमाण्डौ
..........................................................
मुक्तक -७
सन्तानका निम्ति जुगैभरी, खतरा कदम चाल्ने आमा छन्
हाडछाला उत्ति सुकाएर, मरिमेटेर पाल्ने आमा छन्
कसरी गरुँ परिभाषा, कहिले लाखा कहिले पाखा
आफ्नै कोखमा जन्माएर, बाँसघारीमा फाल्ने आमा छन् ।
✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
..........................................................
मुक्तक -८
मनमा अनेक कुराले बिथोल्छ आमा सम्झिन्छु ।
यो मन मुटु झन् भत्भती पोल्छ आमा सम्झिन्छु ।
आफूले आफ्नै मन बुझाउन पर्ने भएको छ अचेल,
जब यादहरुले पिरोल्नु पिरोल्छ आमा सम्झिन्छु ।
- प्रभा ढुङ्गाना
ककनी गापा, नुवाकोट ।
..........................................................
मुक्तक -९
वात्सल्यको हाँगामा बाँधिएको डोरोको याद आउँछ
निर्मम छ कठोर छ र पनि त्यही मोरोको याद आउँछ
यादहरूको झरीमा नसुक्ने गरि निथ्रुक्क भिजेकीछु
वृद्धाश्रममा छु, र पनि त्यही छोरोको याद आउँछ ।
- विवश पोखरेल
काठमाण्डौ ।
..........................................................
मुक्तक -१०
तस्बिरमा हेरेर मात्र चित्त बुझाउनु मेरी अामा
अाफ्ना परेली कहिल्यै नरुझाउनु मेरी अामा
भोलि माता तीर्थ भेटघाट हुन्छ भाइ र बहिनी
बाटो खुले अाउँछे भन्दै सम्झाउनु मेरी अामा !!
- शारदा घिमिरे भैल
बनेपा, काठमाण्डौ ।
(यी सबै साहित्यकारका मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
https://youtu.be/ZUTyTBDOil4
https://youtu.be/-nOYsZW0UEg
https://youtu.be/enSHw4h0vKU
प्रकाशित मिति :बैशाख ११, २०७७ बिहिवार -
०८:३०:०६ बजे