११, बैशाख २०७७
“हामी सबै उनैका सन्तान हौँ । भगवान्को भक्ति आराधना गरौँ । हामीलाई कसैले केही लछारपाटो लाउँदैन ।” धर्मगुरुले प्रवचन दिँदै भने ।
प्रवचनको अन्तमा एक भक्तले भने, “गुरुदेव, तर कोरोना भन्ने विषाणुले धेरै मान्छेको ज्यान लिइरहेछ ।”
“बुझेँ–बुझेँ ।” उनले बीचैमा भने, “हामीले डराउनु पर्दैन । भक्तलाई भगवान्ले बचाउँछन् । तसर्थ भक्ति गर ।”
भक्तले पुनः भने, “त्यो त हो, तर डाक्टरले भनेको भनी यतिखेर भिडभाडमा नजानू, कसैसँग हात र गला नमिलाउनू, घरैमा बस्नू, अभक्ष नखानू भनी खुप प्रचार भइराखेको छ ।”
“धन्दा नमान भक्त । म छु नि ! आयुको छोरालाई वायुले खाँदैन ।” उनले पुनः भने ।
“कस्तो यो बाजे पनि । गुरुले भनेपछि चुप लागेर बस्नु नि ।” केही भक्तिनीहरूले उसलाई क्याउँक्याउँ गरे ।
भक्त पुनः बोले, “होइन महाराज, यो कोरोना महामारी त सारै खतरनाक छ रे ।”
धर्मगुरु आफ्नो आसनबाट उठे । भक्तको नजिक गए र ग्वामल्याङ्ग अँगालो हाले अनि भने, “हेर, भगवान्का भक्तलाई कसैले केही गर्दैन ।”
गुरुका अगाडि भक्तहरूको केही चलेन । दिनहुँ धार्मिक कृत्य र प्रवचन भइरह्यो ।
एकदिन एक भक्तलाई हनहनी जरो आयो । परिचित डाक्टरको क्लिनिकमा लगियो ।
डाक्टरले नजिकको कोरोना अस्पतालमा रेफर गरे । उसमा पोजिटिभ देखापर्यो । त्यसको लगत्तै डाक्टर र सुरक्षाकर्मीको टोली प्रवचन स्थलमा पुगेर सबैलाई क्वारेन्टाइनमा राखे ।
भक्तले धर्मगुरुलाई सोधे, “खै भगवान् ?”
धर्मगुरु बोले, “भगवान्ले बचाउनुहुन्छ । हाम्रो भक्तिमा कहीँ कमी भयो होला, तर अब पुनः पूर्ण भावका साथ भक्ति गरे कोरोनाले केही गर्दैन ।”
त्यस्तैमा पीपीईले पूरै ढाकिएका र मुखमा मास्क लगाएका एक व्यक्ति अस्पतालको प्रकोष्ठबाट बाहिर निक्ले ।
उनले भने, “मैले भनेको मानेको भए आज यहाँ आउनु पर्ने थिएन । धर्मगुरु र भक्त सबैलाई कोरोनाको सङ्क्रमण भएछ । रिपोर्ट पोजिटिभ देखियो । होला कुनै युगको भगवान् अरु कोही होला, तर यो कोरोना युगको भगवान् त म हुँ । म अर्थात् डाक्टर ।”
- भैरहवा, नेपाल ।
२०७७ बैसाख १०
(डा. कपिल लामिछानेको यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
https://youtu.be/enSHw4h0vKU
https://youtu.be/-nOYsZW0UEg
प्रकाशित मिति :बैशाख ११, २०७७ बिहिवार -
११:३४:१८ बजे