१५, बैशाख २०७७
"बाबा भनेको त भगवान् हुन् ।"
भन्दै आमाले बाबाको गोडामा
शीर निहुर्याएर ढोगेको देखे देखि नै हो
सानीले बाबालाई र
बाबा जस्तै देखिने
काका बाउ, सान बाउ, ठूलो बाउ
तल्लो घरको बडा बाउ
माथिल्लो घरको अंकल र
बाबा जस्तो अनुहार भएको
गाउँभरिको दाजु भाई र मामाहरुलाई
भगवान जस्तै मानेकी ।
"भगवान् भनेको त ईश्वर हुन्
ईश्वरले भनेको सबै कुराहरु मान्नुपर्छ
नाई भन्नू हुन्न ,
ईश्वर रिसाए
चिताएको कुराहरु कहिल्यै पूरा हुँदैन नि फेरि...
आमाको दोस्रो वचन पूरा गरिरहे
र,,,
कहिले विरोध गरिन सानीले
उसको कोमलांगहरुमा जतासुकै ,
जहिलेसुकै सल्बलाई रहने
बाबा जस्तै अनुहार भएको ईश्वरहरुको हात ।
सानीको कलिलो मस्तिष्कले बुझिसकेको छ
आमाले भन्नू भएको भगवान्
दयालु छैनन् ! पटक्कै छैनन् !!
तर,
उसको धेरथोर मनोकामना भने
अवश्यै पूरा गरिदिन्छ ...
हजुर अामाले-
छोरी भएपछि सधैं अाज्ञाकारी हुनुपर्छ
भन्नू भएको देखि हो
त्यसले चुपचापसँग मानी बस्छ
बाबा जस्तै प्रत्येक ईश्वरको अाज्ञाहरू
र कसैलाई भन्दिनन्,
ईश्वरले दिएको असहाय पीडाहरूको कथा
देखाउँदिन ऊ कहिल्यै
ईश्वरको हातले नङ्ग्र्याएको उसका अङ्गहरू
लुकाएर राख्छिन् कोमल अङ्गहरूमा छापिदिएको नीलडामहरू...
यसरी नै हुर्किन्छन् थुप्रै थुप्रै सानीहरू ।
अब त सानी ईश्वर चिन्ने भई सकी ,
कति कति सानीहरू
बाबा जस्तै ईश्वरलाई खुशी पार्दै
अाफ्नो रहर- इच्छाहरू पूरा गरि माग्ने भइसकी !
अामाले दिएको शिक्षा र परम्पराहरूलाई
दाइजोमा सँगसँगै बोकी ल्याउने
कति कति सानीहरूले
ठूली भएर पनि
आफ्नी छोरीलाई भगवान चिनाउँदै भन्छिन्
बाबा भनेको त भगवानको अर्को रुप हो
भगवानले भनेका सबै कुराहरू मान्नुपर्छ
तर,
भन्दैनन् आमाले ,
"सानी !
बाबा जस्तै अनुहार भएहरूका सबै चाहिँ
ईश्वर होइन नि !"
"तिनीहरूले भनेको सबै कुराहरू नमान्नु है तिमीले"
कुन्नि किन हजुरअामाहरूले
सिकाउँदैनन् सानीलाई
विरोध गर्नु....
किन होला अााजसम्म पनि सानीले
बाबा र बाबा जस्ता देखिनेहरू
ऊ जस्तै मान्छे नै हुन भनेर चिन्नुलाई
आफ्नो अबोध बालापनको बली चढाउनु परेको !!
बाबा जस्तै अनुहार हुने र
आमा जस्तै देखिने सबै
मान्छे नै हुन सानी,
मान्छे साह्रै स्वार्थी हुन्छ है
नभुल्नु कहिले तिमीले
यो स्वार्थी आमाको कुरा...!!
- खर्साङ्ग, भारत ।
(द्वारिका छेत्रीको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
प्रकाशित मिति :बैशाख १५, २०७७ सोमवार -
१३:५२:०७ बजे