Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

बजे आमालाई सम्झंदा देश दुख्छ आँखामा -इशा गुरुङ (गुरॉस)

बजे आमालाई सम्झंदा देश दुख्छ आँखामा -इशा गुरुङ (गुरॉस)

नेप्लिज डायस्पोरा

२६, बैशाख २०७७
images
बजे आमालाई सम्झंदा देश दुख्छ आँखामा -इशा गुरुङ (गुरॉस)
बजेआमा मैले कहिल्यै नबिर्सने एउटा मान्छे । सेती नदीमा धेरै पानी बगिसक्यो । म आफै हजारौं माईल टाढा आएकी छु । जीवनमा अनेक उतार चढाव आएर गए । चिनेका कति मान्छे हराए, कति नौला मान्छे जीवनमा आफ्ना बनेर आए । तर बजेआमाको स्थान कसैले लिन सकेन ।
 
चाँडै फर्कन्छु भनेर गाँउतिर लाग्नुभएकी बजेआमा सशरीर होइन समाचार बनेर आउनु भयो । आज म बजे आमाको उही पुरानो, सानो र सधै सम्झिरहने कथा लेख्दै छु ।
 
बजेआमा धेरै कुराहरु सिकाउनु हुन्थ्यो। राम्रो नराम्रो कुराहरु चिनाउनु हुन्थ्यो । सानालाई माया गर्न अनि आफुभन्दा ठुलाको आदर सत्कार गर्न । उहाकै काखमा लुटपुटिएर कति कति कथाहरु सुन्थें, कति कति गीतहरु सुन्थें। हो ! उहीँ मेरि प्यारी बजेआमा जसले आफ्नो जीवनमा कसैको कुभलो चिताउनु भएन, कसैलाई कहिल्यै नराम्रो गर्नु भएन, लामो समयपछी हामीलाई भेट्न आउनु भएको थियो।
 
मलाई अझै झलझली सम्झना छ, पोखराका ती बजारहरु बजेआमाको हात समाई घुमेको डुलेको । म भुरुंग झैँ नाच्थें, मन पुतली झैँ उड्थ्यो !
 
त्यसदिन मलाई सुम्सुमाउदै "छिट्टै आउछु ल कान्छी !" भनेर गाडी चढ्नु भएको थियो । "भाइसगं झगडा नगरि बस ल ! राम्रोसगं पढेस, बाबा आमाले भनेको मानेस" झ्यालबाट हेर्दै बजेआमाले मलाई सम्झाईरहनु भएको थियो । बस ओझेल नहुन्जेलसम्म झ्यालबाट निकालेर हात हल्लाई राख्नु भएको थियो । गाडी देखिन छोडेपछिपनि धेरैबेर हेरिरहेकी थिएँ ।
 
प्यारी बजेआमा केहि दिनमा फर्कन्छु भनेर गाउतिर लाग्नु भएको मात्र केहिदिन भएको थियो ।
 
उहा त आउनु भएन तर उहाको खबर आयो।
 
थुप्रै यात्रुहरु हतारहतार बस चडेका थिए ती मध्य कतिका दिदीबहिनी, कतिका बाबाआमा, कतिका स-साना छोराछोरीहरुको विचमा मेरी फुपुसँगै मेरी बजेआमा पनि त्यसै बसमा यात्रा गर्दै हुनुहुन्थ्यो । तर त्यस बसबाट फेरि कहिले पनि ओर्लिनु भएन। दुर्भाग्य!! उहाँहरु चड्नु भएको बस बमको एम्बुसमा परेर बमसँगै उडेछ सयौं फिट जमिन माथि।
 
अत्यन्तै हृदयबिदारक उक्त दुर्घटनामा मेरी फुपु भने भाग्यले बाँच्नुभएको थियो। उहाँको खुट्टाहरु भाँचिएका थिए भने शरिरभरी अनगिन्ति चोटरु र मनभरि जीवनभर कहिल्यै भुल्न नसकिने अप्रीय खतहरुले भरिएका थिए किनभने आफ्नै देब्रे कुहिनोमा अडेस लगाएर मस्त निदाईरहेकी मेरी बजेआमाको बिस्फोटले छियाछिया पारेको मृत शरिर पनि पुर्णरुपले फेला पार्न सकिएन। बमले छरिएको आधा शरिर जसोतसो बटुलेर अन्तिम दाह संस्कार गरिरहँदा मेरो बुबा, ठुलोबुवा, काका र फुपुहरुको मन पनि बमले हानेजस्तै छियाछिया बहेको थियो ।
 
धेरै बर्षहरु बिति सक्दापनि त्यो क्षणलाई पलपल जिउनुभएको मेरो बाबाको आंखा प्यारी बजेआमालाई सम्झेर बेलाबेलामा रसाएको देख्दा आजपनि म भक्कानिएर रुने गर्छु।लाग्छ हामीले त भुल्न सकेका छैनौ भने बाबाले के भुल्न सक्नुहुन्थ्यो होला र ?
 
आज हेरौं ! ती पापी नेताहरुले त्योबेला गरेका हत्या, हिंसा र सर्वसाधारणको बलिदान साच्चीकै देशको गौरब र बिकासको लागी थियो भनेर साबित गरिदिएको भए, सायद भुल्न सरल हुन्थ्यो होला ! यदी हरेक देशका नागरिकको गासँ, बासँ, कपास र स्वास्थ्यवर्द्धक आधारभूत संरचनाको परिपूर्तिजनक विकास गरिदिएको भए सायद भुल्न सरल हुन्थ्यो होला !
 
यदि बाध्यतावस विदेसिनु परेका नेपालीहरुलाई आफ्नै देशमा केहि गर्ने वातावरण वनाइदिएको भए सायद भुल्न सरल हुन्थ्यो होला ! धनि र गरिब अनि ठुलो र सानो जातको भेदभाव हटाइदीएको भए, गाउ गाउमा स्वास्थ्य चौकी खोलिदिएको भए, आवास्यक अनुसार स्कूल र शिक्षा प्रदान गरिदिएको भए, यदि सम्पूर्ण कार्यलयका कर्मचारीहरुले बिना घुस इमानदारीताका साथ काम गर्ने नियम बनाइदिएको भए, यदि वाल बिवाह र दाइजो प्रथा पूर्णरुपले हटाइदिएको भए, यदी कुनैपनि पुरुष वा महिला विना डरले निर्धक्क हिडडुल गर्न सक्ने अवस्था मिलाइदिएको भए, यदि बलात्कार, हत्या, हिंसा, चोरि डकैती कुनैपनि अपराधको जात, धर्म, धनि, गरिब, आफन्त नभनिकन एकमुस्ठ अपराधको प्रकरणमात्र हेरेर तुरन्त सजाएदिने एन कानुन निर्माण गरिदिएको भए, सायद यी मध्य कुनै एक मात्र पनि काम पुर्ण रुपले लागु भइदिएको भए, साच्चै नै केहि हदसम्म घाउमा मलहम लगाएसरि हुनेथियो होला ।
 
तर विडम्बना !! यी नेताहरुसग देशको भविष्य छोड्नु भनेको लगाम विनाको धोडा डौडाए जस्तै भइरहेको छ।
 
आज सबै मानव जिबन छिन्नभिन्न भएको छ, मानवता मरेको छ । त्यसैले होला हरेक नागरिकहरुले आ-आफ्नो हकहितको लागी आफै लड्न नयाँ युद्धको तयारीमा छन। त्यसैले त होला पापी, हत्यारा र भ्रष्ट नेताहरुभन्दा पनि साधारण अनलाईन पत्रकार र यूटुबर देखि थुप्रैथुप्रै सर्वसाधारण सामाजिक अभियन्ताहरुलाई बरु जनताले भगवान मान्न थालेका छन्।
 
चाहे कसैले आत्मसंतुष्टीका लागी होस वा नि:स्वार्थ मनले गरेका हुन् वा कसैले लहलहैमा अरुलाई देखाउन कै लागी गरेका किन नहोस्, चाहे चर्चाको लागी होस् वा अरुनै कुनै स्वार्थले नै किन नहोस् कमसे कम लाखौं पिडितहरुलाई उद्धार गरिरहेका छन्। कति भोकाएकाहरुको खाली पेटलाई खाना खुवाएका छन्, कति अशक्त रोगी विरामीहरुको नि:शुक्ल असम्भव उपचारहरु सम्भव गरिदिएकाछन्, कति कानुनबाट भागिरहेका अपराधीहरुलाई कठघरामा उभ्याएर न्याय दिलाएका छन्।
 
आफ्नो देशलाई विश्व सामु गर्वले चिनाउन सफल भएका छन्।उनीहरुले न कोहि निहत्याहरु कसैको हत्या गरेका छन्, न त राष्ट्रलाई प्रतिघात गरि भ्रस्टाचार गरि घुस नै खाएका छन्, न त कुनै नेता वा पार्टीको हनुमाने कार्यकर्ता नै बनेर बसेका छन्।आफ्नो सिमित श्रोत साधानबाट आफ्नै पौरखले केवल एउटा सानो कलम, सानो माइकले आफ्नो सानो फोनको स्कृनमा सत्यतथ्य बोलेकै भरमा गर्ने हिम्मत र अटल इच्छा र आत्मविस्वासको भरमा सत्कर्मलाई अंगालेर गाउँ, समाज, राष्ट्रकै भरोसा बनेर राष्ट्र निर्माणमा लाग्न र लगाउन सकिन्छ भन्ने सकारात्मक संन्देशहरु प्रवाह गरिरहेका छ्न्।
 
तर, सम्पुर्ण सुबिधा र शक्ती पाएका यी नेतावर्गहरुले चाहेको भए देशको निमित्त के के पो गर्न सक्थेनन् होला त ? राम्रो कामको सुरुवात गरेको भए हामी नेपाली जनताहरु आँखा चिम्लीएर मेहेनत गर्ने थियौं। तर पनि यी भ्रष्ट नेताहरुले जनताको लागी केही गरेनन्।
 
म, ती पाखण्डी नेताहरुलाई , तीनीहरुले भाषण गरिरहेको मंचमा चिच्याइ, चिच्याइ भ्रष्ट,पापी र हत्यारा भनेर बोलाउन चाहान्छु । चाहे, यीनीहरुलाई कसैले विद्वान र लिडरको दर्जा दिरहेका बेला परुन्।
 
यिनीहरुलाई म चप्पलको माला लगाइदिएर, कालो मोसो पोतेर चर्को घाममा डुलाउन चाहान्छु। किनकी मेरी बृंद्व बजेआमा जस्तै अन्य धेरै अबोध, जनतालाई कुर्चीको लागी बारुदमा उडाएर, हत्या र हिंसालाई क्रान्तिको नामदिएर, जनतालाई लुटेर देश चलाउछु भन्नेहरु यीनीहरुलाई कठघरामा उभ्याएर आंखामा आंखा जुधाइ प्रश्न गर्न चाहान्छु !
 
खै कहासम्म गरिस् देशको विकास्? खै ,कति लुटिस् मेरो देशलाई? राज्य संचालन भनेको सत्ता र कुर्सीको खिचातानी मात्र हो ? के देशको विकास यस्ता तथ्यहिन गफहरुबाट सम्भव हुन्छ ? मान्छे मान्छेलाई जात, घर्म र लिंगमा विभाजित गरेर नेपालीहरुको आशु पुछ्न सकिन्छ ? अत्यावश्यक खाना बस्न, स्वास्थ र रोजगारीका लागि कहिले सम्म जनताहरु बिदेशिनु पर्ने हो ? देशको सिमा, सम्पदा बेच्दा कसरी मस्त निदाउन सक्छ्स्? ल भन् जनताको लागी देश-विदेशबाट आएको राहत कता लगीस्?
 
उफ् !!! म पनि भावनामा बग्दा बग्दा कति लामो पो लेख्न थालेछु।
 
हो, पल्लाघरे दिदिले भन्नुभए जस्तै "यी नेताहरुको कुरा गर्नु र सोंच्नु त आफै मूर्ख हुनु मात्रै हो ।" धत् म पनि कति मूर्ख भएछु आज अनायासै। जनताहरुको रगत पसिनाले तिरेको राज्यको कर ढुकुटी रित्त्याएर बिदेसी बैंकमा लुकाउने, राष्ट्रका सम्पदाहरु, नदि पहाड अनि राष्ट्र निर्माणका परियोजनाहरु नै क्वाप्ल्याक्क निल्न सक्ने दानवहरुको के कुरा गर्नु कति कुरा गर्नु? यस्ता दानवहरुलाई के प्रश्न गर्नु?
 
बजे आमा हजुरलाई सम्झंदा मन मात्र दुख्दैन, अचेल देश पनि दुख्छ ।
 
जुन कारणले हजुरको हत्या भयो ति सबै उद्देश्य भुलेका छन् नेताहरुले । हजुरजस्ता बिस हजार नेपालीको जीवन तवाह गरेर फेरी पनि नेताहरु सत्ताको फोहोरी खेल खेलिरहेका छन् ।
 
हजुरले भन्नुहुन्थो,- "पाप धुरीबाट कराउछ।"
 
मलाई बिश्वास छ, यिनीहरुले गरेको पाप धुरीबाट एकदिन अवश्य कराउने छ। करोडौं पीडित दु:खी नेपाली सर्वसाधारण जनताहरुको आशुको श्राप लाग्नेछ । बजेआमा कहिल्यै भुल्ने छैन, सधै सम्झिरहने छु ।
 
बगर, पोखरा हाल: बाल्टिमोर, मेरिल्याण्ड अमेरिका

images
प्रकाशित मिति :बैशाख २६, २०७७ शुक्रवार - १०:२५:०४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend