६, जेठ २०७७
मुक्तक - १
साथ चाहिँदा विपत्तिमा,सघाऊ बरु जुट्दै नजुटोस्
मनभित्रको झिनो आशा,कत्ति पनि टुट्दै नटुटोस्
जस्तै परोस् सहिदिउँला, धैर्यशाली रहिदिउँला
अन्तिमसम्म जिन्दगीमा, तिम्रो साथ छुट्दै नछुटोस् ।
मुक्तक - २
जहिले पीडा खप्नुपर्छ,संसारमा दिलदारले
मन जितेकै देख्छु बरु,सबै सामु लोकेचारले
एउटा कुरा बुझ्नुपर्छ,भित्री मनले सोच्नुपर्छ
कस्लाई चैन मिल्छ होला, प्रतिशोधको व्यवहारले ?
मुक्तक - ३
कति विद्यालयहरू त भौतिक रुपमा जीर्ण हुन्छन्
व्यवस्था सबै लथालिङ्ग, सुधार्नेहरू संकीर्ण हुन्छन्
दुनियाँ दिइन्छ आशाहरू विज्ञापनका भाषाहरू
‘सर्वोत्कृष्ठ नतिजा सहित, शतप्रतिशत उतीर्ण हुन्छन् ।’
मुक्तक - ४
सुन्दिनु पर्ने निकायले,सुन्दिने कतै कान छैन
देख्दिनु पर्ने जिम्मेवारको, शायद अझ ध्यान छैन
अरू उठे महलहरू, उठ्दैन किन पहलहरू ?
ऐतिहासिक धरहराको,अचेल नामोनिशान छैन ।
मुक्तक - ५
साथबिना अधुरा हामी, एकांकी कसरी चुन्छौं होला
महत्वाकांक्षाको उडानमा, चन्द्रमा कसरी छुन्छौं होला
विश्वासको जग हाल्नुपर्यो, नयाँ जिन्दगी थाल्नुपर्यो
'तिमी' र 'म' एक नभई, 'हामी' कसरी हुन्छौं होला ?
✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
२०७७ जेठ ६
प्रकाशित मिति :जेठ ६, २०७७ मंगलवार -
१६:२०:४४ बजे