राम्रापङ्ख फिंजाउँदै सुनचरी आवाज मीठो गरी
बोल्यो फेरि कतै नयाँ किरणको संकेत पाएसरि
छर्केकी सुप्रभातको क्षितिजमा सिन्दूर स्यूँदो भरि
देखिन्छिन् नवयौवना प्रकृति यी लज्जावती सुन्दरी
आभा फैलिरहेछ आज तिनकै पूर्वीय आकाशमा
बन्छन् फाँट,पहाड, जङ्गल,सबै उद्दीप्त छन् तेजमा
बाटा स्पष्ट अगाडि देखिनगए उल्लेख्य छन् भावना
सर्दै पश्चिमतर्फ जान्छ जसको आलोक जो अन्त्यमा
पूर्वी ज्योति अखण्ड पश्चिम पुगी फर्कन्छ आफै जब
धर्ती मस्त बनेर यो मनुजको उत्कर्षमा नाच्दछ
पूर्वी चिन्तनमा रमेर कहिले निष्कर्षमा पुग्दछ
कैल्ये भौतिक तत्व, साधन नयाँ संकल्प सत् खोज्दछ
आत्माको परितृप्तिमा अमृतको धारा बगाई सधैं
मैं हुँ ब्रम्ह भनेर लीन त्यसमै भै बस्छ बिर्सी सबै
आफैमा परिपूर्ण रन्ध्र रसमा जो मर्त्य चुर्लुम्म छ
त्योभन्दा पनि भिन्न रूप गुणको अर्को परब्रम्ह छ?
यस्तै चिन्तन भित्र–भित्र नरको आत्मा उज्याल्दै थियो
आफैमा परितृप्त पार्नु त्यसको निष्कर्ष साँचो थियो
छोडी भौतिकता सधैं‘ अमरता—हो लक्ष्य भन्ने लियो
आफै नै परिपूर्ण ब्रम्ह हुनुको आनन्द खोज्दै थियो
त्यागी निश्चित सोचमा मनुजले अर्कै लिई चिन्तन
खोजी सार्थक रूपमा प्रविधिको हाँगो ठम्याईकन
जाँदा, आज पुगे विकास पथका आधार सच्चा हुन
यो वैज्ञानिक वृत्तको चहक झन् आयाममा फैलिन
यो सांसारिक भोगवादतिरको उत्कर्ष खोज्दै अघि
जाँदा पश्चिम फैलिँदैछ अहिले विज्ञान बाह्योन्नति
साँच्चै बाह्य वहावमा नजर यो जाँदैछ आफै पर
टुङ्गो के मनमा अझै पनि रह्यो बाँकी उही धर्मर ।
पाल्पा, हाल- काठमाण्डौं३२ मनोहरवस्ती