मुक्तक - १
गर्दैमा प्रेम कसैलाई आफ्नो बनाउन सकिन्न
जालझेलमा फसाई आफ्नो बनाउन सकिन्न
जब एक मनले अर्को मनलाई छुदै छुन्न भने
मुटुमा तस्बिर सजाई आफ्नो बनाउन सकिन्न।
मुक्तक - २
भएर पनि मनमा माया देखाउन पाइएन
जिन्दगीमा आफ्नो मान्छे बनाउन पाइएन
उनको माया पिरतीको प्यास लागेर के गर्नु
समय परिस्थितिले प्यास मेटाउन पाइएन ।
मुक्तक - ३
जिन्दगीका सपनाहरु टुटाएर गयौं तिमी
आँखाभरी आँसु भेल बनाएर गयौ तिमी
तिमीसँगै रमाएर बाँच्ने ठूलो इच्छा थियो
पीडा सबै आज मलाई दिलाएर गयौं तिमी।
मुक्तक - ४
जति गुहार गरे नि बिपतमा कुनै वास्ता हुन्न
दिनरात बस भोको पेट्मा ,कुनै वास्ता हुन्न
घरमै राहत पुगाउँछ सरकार,पहुँच हुनेको
गरिब जनता पर्दा दुःखमा,कुनै वास्ता हुन्न ।
मुक्तक - ५
हल्लै हल्लाको पछि लागि तमासा गराउँछ्न् मान्छे
सजक हुन छोडी अन्धविश्वासमा रमाउँछन् मान्छे
कुनै तथ्य प्रमाणबिना कोरोनाको औषधि भनी
कहिले कोइला खन्छ्न् कहिले थाल बजाउँछ्न् मान्छे ।
- धनगढी कैलाली