Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

रुम नं. ५०४ (कथा)- गम बयम्बु मगर

रुम नं. ५०४ (कथा)- गम बयम्बु मगर

नेप्लिज डायस्पोरा

२६, जेठ २०७७
images
रुम नं. ५०४ (कथा)- गम बयम्बु मगर

 

"मलाई मेरो देशले हराईरहेको छ होला ! देशको माटोले मेरो पाईलाहरु खोजिरहेको हुन सक्छ। मेरो मनले जसरी देशलाई खोजिरहेको छ। मेरो पाईलाहरुले धर्ती मै टेकि रहेका छन्। तर मेरो देश भन्दा अर्कै ध्रुवको छुट्टै पाटोमा छु म यतिखेर। पृथ्वीको जुनसुकै पाटोमा रहेपनि छाती भित्र देशको मायाँ बोक्ने नेपाली छोरो हुँ। आज मेरा यी पाईलाहरुले पराईभुमिको माटोमा डोबहरु बनाई रहेका छन्। छरपष्ट देख्न पाइन्छ। र अस्पष्ट मात्र हेर्न सकिन्छ। तर विना पहिचानका ती डोबहरु हेर्न लाई मेरो देश र देशको माटो दुरदराजमा छ। त्यसैले केही वर्ष देखि मेरो देशको माटोले मेरो पैतालाको गन्धहरु सुँघ्न पाइरहेको छैन। पैतालाको डोबहरु बनाउन सकिरहेको छैन। त्यस कै उपज, मैले पनि मेरो देशको माटोको सुगन्धहरु लिन पाईरहेको छैन। माटोको मीठो सुगन्ध लिनबाट वञ्चित भएको छु।"

एक दिन उसले फेसबुकको भित्तामा यही हरफहरु पोष्ट गरेका थिए। उ बाध्यताले परदेशिएको परदेशी थिए। देश मै बसिरहेका नागरिकलाई भन्दा पर्देशिएका व्यक्तिहरु लाई देश प्रतिको मोह बढी हुँदो हो। त्यही भएर उसले राष्ट्रप्रेमले ओतप्रोत शब्दहरु लेखेर पोष्ट गरेका थिए। ती हरफहरु लेख्ने व्यक्ति विनय थापा मगर हुन्। उ एक मध्यमवर्गीय परिवारमा जन्मे,हुर्केका व्यक्ति थिए।

"आफ्नो मातृभुमि प्रतिको मायाँ परदेशीलाई सधैँ अगाध हुन्छ। देश र परिवारको मायाँ मनमा सधैँ खड्किरहन्छ। स्वदेशको मायाँ कस्तो हुन्छ ? घरपरिवारको मायाँ कति लाग्छ ? तिनै भुक्तभोगीलाई थाहा हुन्छ। जब आकाशमा जहाजहरु उड्छन्। अनि कल्पनामा हराउँदै जहाज संग संगै मनहरु घर तर्फ फर्किरहेका हुन्छन्।"
छुट्टि मनाउन घर आएको बेला उसले यही कुरा भनेका थिए। परदेशमा मान्छे चिन्ने देशको आधारमा हो। देशको नाम नै उसको पहिचान हो। देशबाट व्यक्तिको परिचय हुने गर्दछ। नेपाली, भारतीय, बाङ्गाली, पाकिस्तानी। युरोपियन, अमेरिकन। र उसले अनुमान लगाउँथे।

"लाखौं नेपाली युवाहरुको जमत अहिले पनि विभिन्न मुलुकको धेरै शहरहरुमा छन्। कुनै हाँसिरहेका होलान्। कुनै रुँदै होलान्। कोही छटपटाउँदै होलान्। देश र घर परिवारसंगको विछोडमा तडपिँदै क्षितिपारीको विरानो त्यो बस्तीहरुमा ।"

देशमा सोंचे जस्तो रोजगारी नमिलेपछि आर्थिक संकट टार्नलाई विकल्पहरु खोज्नै पर्ने थियो। अरु उपाय नदेखे पछि उसले बैदेशिक रोजगारी रोजेको हो। मनमा सुन्दर सपनाको लालसा लिएर त्यसलाई पूरा गर्न राजधानीको मेनपावरलाई मोटो रकम तिरेर आफैँलाई बेच्यो उसले। अनि जन्मभुमि र घरपरिवार संगै जिन्दगी विताउने रहर लाई तिलाञ्जली दिनु पर्यो। त्यसपछि तय गर्यो जिन्दगी को अर्को अकल्पनिय अध्यायको यात्रा। त्यस पछि नै सुनिश्चित भएको थियो- हुने खानेहरुको हेपाहा भाषामा बोलिने शब्द 'तोरी लाहुरे'। र विनय रोजगारीको लागि साउदी अरबिया पुगे।

खाडी मुलुकको साउदी अरब, मुश्लिमहरुको राष्ट्र। त्यस मा पनि नियममा कट्टर त्यो देश। नारीहरुको खुल्ल रुप र अनुहारहरु देख्न पनि भाग्यमानी ठान्नु पर्ने ठाउँ। तर पनि सके सम्म त्यस्तो देख्नै नपरोस् सोंच्थे उसले। त्यहाँका नारीहरुले कालो पहिरन लगाउछन्। त्यो पहिरनलाई आबाया भन्दोरहेछ। उ कहिले कही महल र बजारमा डुल्दा कालो आबाया लगाएकी नारी नजिक पर्दा शिर निहुराएर तर्किन्थे। त्यहाँ को नियमले स्थानीय महिला लाई सीधा नजरले हेर्न नपाउने भन्ने रहेछ। उनीहरुलाई देख्यो भने जोगिनलाई आफै तर्किनु पर्छ भन्थे।

निकै डराएको एउटा घटना सुनाएका थिए। एक दिन उ सपिङ्ग महलमा गएका थिए। एक जना अरबिक महिला पनि सामानहरु रोज्दै रहेछिन्।
"ताल..ताल..।" ती महिलाले हातले इशारा गर्दै बोलाइन। एकछिन उसको हंशले ठाउँ छोड्यो। अलमलमा पर्यो। उनको नजिकै गयो।
"केफ हाल ? क्वाइस्...?" फेरि सोधिन्।
ती महिलाले उनले चाहेको सामान देखाइन्। निकाल्न सहयोग मागिन्। निकाली दिए। उनी साह्रै खुशी भइन् र सुक्रान...भनिन्। उ बल्ल ढुक्क भयो। धेरै साल साउदीमा बसेका साथीहरुको कुरा सुन्दा, सके सम्म उनीहरुको नजिक पर्नै हुन्न भन्थे। उल्टै उसलाई नै इशारा गरेर बोलाउँदा झस्केका थिए। रुममा पर्केपछि साथीहरूलाई सुनाउँदा साथीहरु मरिमरी हाँसेका थिए। अरबिक भाषा मा 'ताल' भनेको 'आउ' रहेछ। 'केफ हाल' भनेको 'के छ हालखबर' भनेको रहेछ। 'क्वाईस्' भनेको 'ठीक'/'राम्रै'/ 'आरामै' भनेको रहेछ। 'सुक्रान' भनेको धन्यवाद रहेछ। भाषा नबुझे पछि के भन्यो, भन्यो!
००००


देश छोडेर बाहरिँदाको पीडाले परदेशीको मनहरू अहत बनाउँछ। त्यस वाहेक दैनिक गर्नु पर्ने कामहरुको बोझ र आकाशमा उडिरहेको चराहरु खसाल्ने तातो राप सहित मरुभुमिको घामले ज्यान मात्र पोल्दैन। आफ्नै जन्मभुमि मा कतिखेर फर्कन पाउँला भनेर मन जल्छ। मुटु पोल्छ। तर बाध्यता र विवस्ता छ। जसरी पनि करार अवधी पूरा गर्नै पर्ने हुन्छ। मन बुझाउन अरु उपायहरु खासै पाईनं मैले भनेका थिए।

उखरमाउलो जवानीको बेलामा नारी संसारबाट टाढिएर जिन्दगी बिताउनु,पानी भित्र पसेर सास लिन्छु भने जस्तै थियो। तर नारी पात्र नजिक पर्दा आफै जोगिनु पर्छ भन्ने कुरा साउदी अरबियामा बस्ने बाह्य श्रामिकहरुको हकमा सत्यता थियो। त्यस्तै परिवेशमा एक लक्का जवानलाई तीन वर्ष कटाउनु, तीन दशक बराबर भएको थियो। निकै सकसले त्यो तीन वर्ष गुजारेर विनय एक दिन राजधानी काठमाण्डौमा आईपुग्छ। हवाई जहाजबाट ओर्लेर आफ्नै देेशको माटोमा टेक्न पाउँदा को गर्व अनुभूति उसले त्यो दिन मात्र थाहा पाउँछ। अनि उत्साहित हुँदै जन्मभुमिको माटोमा टेकेर पाईला बढाउँछ।

राजधानी काठमाण्डौमा पाईला टेकिसकेपछि जे भएको थियो। उसले एउटा छुट्टै रोमाञ्चित कथा सुनाएका थिए। उसको आफ्नै कथा थियो।

"साँझपख एयरपोर्टबाट बाहिरिएँ। देशले मलाई स्वागत गरिरहेको भान भएको थियो। मन उडेर फुरुङ्ग थियो। जता हेर्छु सबै प्यारो लागिरहेको थियो। सडक,बत्तीहरु, घरहरु, पहाड र हावा सबै सबै। निकै प्रफुल्लित थिएँ। टाढाको रुटमा जाने रात्री सेवाका गाडीहरु छुटि सकेका थिए। पश्चिम नेपालको गाउँघर सम्म पुग्नु पर्ने मान्छे। तर साँझ परिसकेकोले बासको लागि बसपार्क आसपासको होटलहरु रोजाईमा पर्यो। ट्याक्सीमा सामान चढाएर गोँगाबुतिर बढ्न इशारा गरेँ। सामान्य होटलमा रुम लिएर एकछिन टोलाएँ। त्यही क्षण अचानक एउटा कुराको याद आयो। जुन मैले युट्युबमा हेरेको एउटा भिडियोको दृष्य श्रृंखलाहरु आँखामा झल्किरहेको थियो। केही महिना पहिले युट्युबमा हेरेको थिएँ। "रत्नपार्कमा दिउँसै यौन धन्दा" भिडियो क्लिप्स।

मन बहकिन थाल्यो। अलमलिएँ। सोंचेँ, एक पटक जान्छु त्यतै। ह्या..जानू र ? मन मनै प्रश्न गरेँ। रत्नपार्कतिर गएर बुझ्ने मनसाय बनाएर निस्किएँ। गोधुली साँझमा रोडतिर पाईला बढाएको थिएँ। ट्याक्सीवालाले कुर्दै गरेको रहेछ। रत्नपार्क सम्मको गन्तव्यमा लैजान सम्झौता गर्यौं।

ट्याक्सीवालाले रत्नपार्क छेउमा पुर्याएर आफ्नो कर्तव्य पूरा गरे। अँध्यारोले बैँस हाल्दै थियो। रत्नपार्क भित्रको प्राकृतिक सौन्दर्यलाई देखेर कामुक बनेको अँध्यारोले ती सौन्दर्यलाई बलात्कार गर्न तम्सिरहेको थियो। त्यो देखेर सडक छेउछाउका पोलहरुमा झुण्डिरहेको बत्तीहरुले उज्यालो पारेर अँध्यारोलाई लखेटिरहेका थिए। मान्छे हरुको भिडभाड गन्तव्यतिर जानलाई हतारमा देखिन्थे। गाडीमा चढ्न लाई तँछाडमछाड। सडकपेटी हुँदै केही पाईला बढाएको थिएँ। कुनातिर खासखुस गर्दै कुराकानी मा केही जोडीहरु मस्त र व्यस्त भेटिए। कुनै अङ्गालोमा बाँधेर आफ्नै संसारमा झुमिरहेका थिए। ती गतिविधिहरु लाई नियाल्दै जाँदा मैले हेरेको भिडियोको वास्तविकता झल्किरहेको थियो। म एक्लै सुस्तरी पाईला बढाउँदै थिएँ । नभन्दै कानमा कतैबाट कुनै नारीको सुरिलो आवाज गुञ्जिन आईपुग्यो।

'हेल्लो...जाने हो ?'

नसुनेको भेउ पारेर चार कदम अघि बढाएँ। बोलुँ की नबोलुँ ? अरु कसैलाई पो सोधेकी हुन् की ? मनले आफैलाई सोंधेँ। तर लुकिलुकी उतै नियालेको थिएँ। जिउडाल मिलेको। चट्ट परेकी युवती। जिनको पाईन्ट जिउ अनुसार चपक्क टाँसिएर लगाएकी। भित्र कलेजी कलरको टिशर्ट। बाहिरबाट गुलाबी कलरको आउटर लगाएकी। कुम मुनि सम्म रातो कैलो कलरको कपाल फिँजाएकी। उनको सौन्दर्यले मेरो मन लुटिसकेको थियो।

कानको नजिकैबाट मधुर स्वरमा फेरि उनैले अर्को प्रश्न फ्याँकीन्। त्यो भने मलाई नै सोधेकी थिइन्।

'ए, दाइ जाने हो ?'
'कहाँ जाने र बहिनी ?'
'तपाईं ले जहाँ भन्नु हुन्छ त्यहीँ।'
'कहाँ जाने मलाई थाहै छैन।'
'नजिस्किनु न हो। किन थाहा नहुने हो र ?'
'साँचो बोल्दैछु म। मलाई यहाँ को खासै थाहा छैन।'
'हुन्छ मात्र भन्नुस् न, म मिलाउँछु नि सबै।'
'कति हो र ?'
'होल नाईट भए- दस हजार! दुई तीन घण्टा मात्रै भए- पाँच हजार। तर रुम भाडा, खानाको तपाईले तिर्नु पर्छ।'
'यो त महङ्गो भएन र ? के छ हो त्यस्तो ?'
'यति पनि महङ्गो लाए जानू नि बसपार्कतिर। हातमा समाएर उठाउन पर्ने हरु सस्तोमा पाइन्छ।'
'मिलाउन मिल्दैन ?'
'अर्काको शरीरमा रजाईँ गर्नु छ, सित्तैमा पाईन्छ त ?'
'सित्तैमा खोजेको होईन क्या। मिलाउनुस् भन्न खोजेको। मलाई होल नाईट चाहिदैन पनि।'
'त्यसो भए, मलाई चार हजार दिनुस्। रुम भाडा र खाना को जिम्मा तपाईको। हुन्छ ?'
'ठिक छ। जाऔं न त।'

रात परिसकेको थियो। सडकमा गाडीहरुको चाप कम देखिन्थ्यो। एकछिन ट्याक्सीको प्रतिक्षामा। म त्यो ठाउँ मा केही नजानेको अपरिचित मान्छेको रुपमा प्रस्तुत भएँ। बर्गेनिङमा कबुल गरेको पैसा नपाए सम्म उनले छोड्ने वाला छैन। मेरो हातमा कस्सिएर समाएको बाट त्यस्तो झल्किन्थ्यो। सडक छेउमा एउटा ट्याक्सी आई पुग्यो। रोक्ने ईशारा उनले नै गरिन्।

एउटा होटलको नाम लिएर ट्याक्सीवालालाई गौशाला तिर बढ्न आग्रह गरिन्। चालकले उतै हुईक्याएर लग्यो। "होटल भ्याली प्यानोरामा" को गेटमा गएर रोकियो। नव जोडीको होटल भित्र प्रवेश भयो।

होटलको रिसेप्सन अगाडि उभिइन्। एउटा एट्याच बाथ रुम वाला रुम बुक गरिन्। रिसेप्सेनमा बसेको स्टाफ उनलाई देखेर मुसुक्क मुस्कुरायो। उनी त्यो होटलको नियमित सेवाग्राही हुन् पक्कै। सायद त्यसरी नै घरिघरी रुम बुक गर्न पुग्छिन्। जसरी मलाई लिएर पुगेकी थिइन्। कुनै अपरिचित युवकलाई लिएर होटलमा पुगे पनि उनी निस्फिक्री, निडर, निशंकोच। उनको मुहारमा लाजको किरणहरु कतै पनि झल्किन्नथ्यो।

'मेडम, लिनुस् रुमको साँचो। रुम नं. ५०४ मा जानुस्। अरु केही सर्भिस् चाहिन्छ कि ?'
'म पछि खबर गर्छु नि ल।'
'स्योर! हुन्छ नि। ईन्जोए गर्नुस्!'
'धन्यवाद तपाईलाई..।'

'जाउँ माथि।'

मलाई इशारा गरेर बोलिन्। रुम नं. ५०४ तिर दुबै जनाले पाईला बढायौं। कतै डर, कतै मन भरि रङ्गिन दुनियाँको कल्पनामा उत्साहित हुँदै रुम भित्र प्रवेश गरेँ। न आफ्नै पत्नी हुन्। न प्रेमिका। न त छरछिमेकको चिनेकी युवती नै हुन् उनी। मात्र पैसाले जोडिदिएको क्षणिक सम्बन्ध र क्षणिक आनन्दको लागि मात्र त्यहाँ सम्म पुगेका थियौं। म फ्रेस हुनलाई बाथरुम भित्र छिरेँ। त्यही समय उनले दुई बोटल वियर, दुई प्लेट मटन, एक प्लेट चिकेन ससेस र सलाद अर्डर गरिसकेकी रहेछिन्। बाथरुमबाट बाहिरिदा टेबल भरि खाने कुराले भरिएको थियो। दुई जना संगै बसेर वियरको चुस्की संगै ती खाने चिजहरु खाँदै कुरा अगाडि बढाएका थियौं।

'तिम्रो नाम के हो ?'
'उपमा' छोटो नाम बताइन। पूरा नाम सोधी राख्न जरुरत ठानिनं। चाहेकी भए उनैले बताउने थिइन्।
'तिमीहरुको लाईफ क्या मोजाको छ है ? ग्राहक खोज्यो, कमाई पनि हुने। मोजमस्ती पनि...।'
'सोंचे जस्तो कहाँ छ र ? देख्ने लाई पो त्यस्तो। हाम्रा पनि छन् आफ्नै पीडाहरु।'
'कस्तो जमाना आयो है ? शहरमा ग्राहक खोज्दा ग्राहक पनि सजिलै पाईने। तर यो पेशा नेपालमा अहिले सम्म वैधानिक छैन नि। हैन र ?'

'के तपाई विश्वास गर्नु हुन्छ ? यहाँ वैधानिक पेशा गर्ने हरु मात्रै बस्छन् भनेर ? त्यसो हो भने तपाईं भ्रममा हुनुहुन्छ।
ग्राहक खोज्नेहरुको शहर हो यो। को छन् यहाँ ग्राहकहरु नखोज्ने ? किनबेचको शहर हो यो। किन्ने र बेच्नेहरुको प्रतिस्पर्धा चलिरहन्छ यहाँ। फुटपाथमा पसल थाप्ने देखि सपिङ्ग महल सम्म! सडकमा पानी पुरी बेच्ने देखि फाईभ स्टार होटल सम्म! दलाली देखि मेनपावर सम्म। ट्याक्सी वाला देखि सडकमा प्रहरी सम्म। स्कुल देखि कलेज र हस्पिटल सम्म। अफिसका कर्मचारी देखि मन्त्री सम्म सबैले ग्राहकहरु खोज्दै बेचिरहेका त छन्।'

काँचको गिलास, गिलासमा भरिएको वियरको चुस्की उनको पिपलपाते ओंठमा स्पर्श गर्न पुग्थ्यो। घुटुक्क निल्थिन्। म स्रोता बनी दिएँ। फेरि बोलिन्-

'कसैले सामान बेच्दैछन्। कसैले खाने कुरा बेच्दैछन्। सेवा बेच्दै छन्। कर्मचारीले सेवाग्राही लाई सेवा गरेर टेवलमुनिबाट मेवा थाप्छन्। ट्राफिकले सडकमा बसेर विल काट्छन्। दलाली र मेनपावरहरुले बेरोजगार युवा विदेशमा बेचेर मालामाल बनेका छन्। घर जग्गा दलाली हरुले थाहै नदिएर अर्काको घर र सडक समेत बेचेर खाएका छन्। स्कुल,कलेजले विद्यार्थीहरु तानातान गर्छन् र विभिन्न बहानामा फिस् तिराएर मोटो रकम असुल्छन्। हस्पिटलमा सामान्य विरामीलाई, उल्टो सिरियस विरामी पारेर अप्रेशन र औषधीको नाममा लुटेका छन्। नेता र मन्त्रीहरुले पद र कुर्ची देखि देशको सम्पत्ति बेचेर भुँडी भरेका छन्।
-"मैले त केवल मेरो जवानी न बेच्दैछु। अरुले देशको सम्पत्ति समेत बेच्न हुने, मैले मेरो आफ्नै जवानी बेच्न नपाउने ? मेरो निजी शरीर, मेरो खुशी!"

यति भन्दा सम्म टेबुलको खाने कुराहरु सक्याएर पनि उनले आफ्नो शरीर नाङ्ग्याउँदै थिइन्। कपडा एक एक खोल्दै टिभी टेवल नजिकैको काँटीहरुमा झुण्ड्याउँदै गइन्। म भने उनको कुरामा अल्झिरहेको थिएँ। जसरी काँटीमा उनको कपडाहरु अल्झिँदै थिए।

'तिमी त राजनीति गर्न पर्ने मान्छे। तिम्रो कुरा सुन्दा त कुनै नेतृ भन्दा कम लाग्दैन। किन यो पेशामा लाग्यौ त ?'

'यो सबै समय र परिस्थितिले सिकाएको कुरा हो। तपाईं जस्तो संग मात्र संगत छ भन्ने सोंच्नु भयो होला। कति धनाढ्य र कति राजनीतिज्ञहरुको ओछ्यान तताईसकेकी छु। त्यो त मलाई मात्र थाहा छ। मेरो जालमा आज कहाँ बाट तपाईं फस्नु भयो र पो!'

'तिम्रो व्यवसायको भविष्य देख्दिन नि मैले। वर्तमान ठिकै छ। भोलि जवानी सकिए पछि ? फूल पनि त फक्रिँदा सम्म न हो- हेर्ने, देख्ने,सुँघ्ने र टिपेर लगाउने। बुढेशकाल को सहारा को ?'

'हेल्लो....बात मात्रै मारेर बस्ने कि काम पनि गर्ने ? के गर्न ल्याएको रे मलाई यहाँ ? मेरो त फेरि अर्को ग्राहक लाई रिझाउन जानू पर्छ। फेरि मेरो भविष्यको तपाईँलाई के चिन्ता ? वर्तमानमा रमाउन जान्नु पर्छ महाशय! भोलि को त कसलाई के थाहा छ र ?'

आफ्नो पेशा प्रति निकै गर्वका साथ बोलिन्। उनको शरीरमा भित्री बस्त्र मात्र बाँकी थियो। त्यो भने उनले आफै खोलिनन्। एकटकले मेरो अनुहारतिर नियालिन्। कोठा भित्रको बत्तीहरु जिरो वाटमा हामीलाई उक्साउदै बलिरहेको देखिन्थ्यो। बिस्तारै मेरो छेउमा आएर टाँसिइ। मेरो शर्टको बटनहरु एक एक खोल्दै गइन्। मेरो पाइन्ट लाई खुट्टाबाट बिस्तारै तानेर निकाली दिइन्। र शर्ट र पाईन्टलाई एउटै हातले टिपेर टिभी टेबलतिर हुत्त्याइन्। हाम्रा आँखाहरु नजिकैबाट जुध्न थाल्यो। अनुहार रातो र पिरो देखिन थाल्यो। मेरो मुटुको चाल तिव्र गतिले बढ्दै गयो। उनको पनि सायद..! मेरो हातले उनको शरीरमा बाँकी रहेको भित्री वस्त्र बिस्तारै तलतिर झार्दै थिएँ। म एक्कासी झसङ्ग झस्किन पुगेँ। उनको तल्लो पेट देखि मुनिको भागहरु पुरै बिबिरै बिबिरा घाउ खटिराहरुले भरिएको देख्छु। हल्का घर्षणले पनि पिप बग्ला जस्तो बिबिराहरु पाकिरहेका। मेरो हातहरु जहाँ सम्म पुगेको थियो त्यो भन्दा अगाडि बढ्न सकेन। आफैँ खिस्रिक्क भएँ। उत्साहित मन खुम्चिन पुग्यो। अघि मात्र गर्वका साथ शब्दका बाणहरु प्रहार गर्ने उनी चुप लागेर मलाई एकटकले हेरिरहिन्।

'तिमीलाई के भएको यस्तो ?'
'केही पनि हैन। डर लाग्यो ? त्यसले छेक्या छ र ?
'डाक्टरको मा जँचाएको छैन ?'
'जँचाई रहेकी छु। बेला बेलामा जान्छु। औषधी खाँदा सम्म हराउँछ। खान छोडेपछि फेरि निस्किन्छ।'
'तिमीलाई डर लाग्दैन ?
'पहिले त लाग्थ्यो। अहिले लाग्दैन। बानी भैसक्यो।'
'एच आई भी भन्ने थाहा छ तिमीलाई ?'
'थाहा छ। त्यो त असुरक्षित सम्पर्कबाट सर्ने रोग हो। हामीले सुरक्षित विधि अपनाएका छौं।'
'अरु पनि छन् सर्ने तरिकाहरु- एच आई भी परीक्षण नगरिएका रगत लेन देन गर्दा। निर्मलीकरण नगरिएका उपकरणहरु सिरिन्ज, ब्लेड, घाउ चोट लाग्दा प्रयोग गरिने उपकरणहरुबाट, एचआईभी संक्रमित आमाबाट बच्चा जन्माउने क्रममा पनि सर्ने संभावना रहन्छ।'
'खै, होलान् नि के के हो। नडराउनुस् के, केही हुँदैन। मेरो ब्याग भित्र छन् साधनहरु।'
'अनि यो कसरी भयो त यस्तो ? अरुलाई त ढाँट्छ्यौ। तर तिमी आफैँले आफुलाई ढाँट्न सक्दैनौ हेर ! नढाँटिकन भन न। असुरक्षित व्यवहार गर्यौ कतै ?'


'कहिले कही धनाढ्य र ठुलाबडाहरुले धेरै गाँठ देखाएर लोभ्याउँदा विना साधन पनि गरियो।'
'त्यहीँ त गल्ती गरेछ्यौ। संसारमा पैसा मात्रै ठुलो हो र ? पहिलो कुरा यस्तो पेशामा लाग्नु नै गल्ती गर्यौ। दोस्रो गल्ती, पैसा देखेपछि असुरक्षित सम्पर्क गर्न पनि आँखा चिम्लियौ....!'

रुममा एकछिन् सन्नाटा छायो। उनी भुईँतिर हेरेर एकोहोरिन थालिन्। एकछिनमा फेरि साहस बटुलेर बोलिन्।

'छोड्दिनुस् यस्ता कुरा। जहिले सम्म बाँच्न लेखेको छ बाँचिन्छ। काल आए पछि एकदिन मर्नै पर्छ सबैले।
ल.. म त रेडी छु। तपाईं रेडी हो ?'
'भयो..। बरु यसो गर। यो पेशा छोडेर अर्कै पेशामा लाग्नु । बेलैमा उपचार गराउनु।'
'धन्यावद छ। तपाईं जस्तो सल्लाह दिने मान्छे बेलैमा पाएको भए..! यस्तो सोझो ग्राहक त पहिलो पटक भेटेँ।'
'तिम्रो घर कहाँ हो भन न ?'
'किन न र ? दुई घण्टाको लागि संगै सुत्ने मान्छे लाई मेरो फ्यामिली व्याकग्राण्ड बताउनु पर्ने ?'
'नरिसाउन। कसरी यो पेशा सम्म आई पुग्यौ बुझ्न मन लागेर हो क्या।'
'पश्चिमाञ्चल हो। कुन जिल्ला भनेर चाहि नसोध्नु होला। द्वन्दकालमा माओवादीको कार्यकर्ता भएर पाँच वर्ष सम्म जनतालाई विभिन्न आश्वासन दिएर गाउँ गाउँ मा डुलियो। दिन रात नसुतेर। भोक निन्द्रा नभनेर। दु:ख पाएँ, विरामी भएँ नभनेर हिडियो। एउटा सानो गल्तीमा जनकारवाही मा परियो। त्यसपछि पार्टी छोडेर राजधानी भासिएँ। द्वन्दकालमा संगै हिडेका सहकर्मीहरु शान्ति सम्झौता पछि माथिल्लो तहमा पुगे। धेरै संसाद/सभासद भए।कुनै मन्त्री बने। उनीहरु माथि पुगे, विगत भुले। न भेट्छु भन्दा समय दिन्छन्। न कल गर्दा फोन उठाउँछन्। उनीहरुकै सहकर्मी मलाई त यतिको वेवास्ता गर्छन्। जनतालाई दिएको आश्वासन कसरी पूरा गर्लान् तिनीहरुले ? गाउँ घरमा संगै डुल्ने बेलामा जसले मन लाग्दो मेरो शरीर युग गरे। आफ्नो स्वार्थ पूरा गरे। माथि पुगे पछि विर्सेर गए।
हो, तिनीहरु संग ईख मार्न आई पुगेँ यहाँ सम्म। कति लाई मेरो पालो युज गरि सकेँ। उनीहरुले मेरो शरीरलाई युज मात्र गरे। तर मैले उनीहरुको जिन्दगीलाई बिस्तारै निस्क्रिय पार्दैछु। उनीहरुको जिन्दगीमा "स्लो पोईजन" बनेर पस्दैछु। र थाहै नदिई सिध्याउनेछु। कति लाई अझैँ सम्म भेट्न सकेकी छैन। तर कुनै न कुनै दिन अवश्य भेट्ने छु। एक दिन मेरो शिकार हुने नै छन्। हेर्दैछु...।'

उनले विगतमा भोगेका घटनालाई सम्झेर मन भित्रको आक्रोशहरु ओकालिन्। जे बोलिन् सत्य बोल्दै थिइन्। द्वन्दकालमा माओवादीले जुन किसिमको नारा र उद्देश्य लिएर लडेका थिए। त्यसको विपरित फाईदा उठाएर स्वार्थ लुट्नेहरु प्रति रिस पोख्दै थिइन्। जे सोंचेर युद्धमा होमिएकी थिइन्, उनले त्यो सोंच अनुसार बनाएको सपना पुरा गर्न सकिनन्। उल्टो उनको जिन्दगी माथि खेलवाड गरेर स्वार्थ लुट्न पछि परेनन् उनकै सहयात्री हरु। तर यतिखेर तिनीहरुले सुईँको नपाउने गरि बदला लिँदै रहेछन्। बाहिरबाट हाई हेल्लो गरि आफ्नै जस्तो गरेर वशमा पार्ने। अनि भित्र भित्र भाईरस बनेर उनीहरु लाई नै नाश गर्ने। बदला लिने एउटा छुट्टै तरिका यो पनि।

'मेरो कुरा मान्छ्यौ भने तिमीले जिन्दगीको बाटो फेर्नु पर्छ अब। जिन्दगी चलाउनलाई यो वेश्यावृति पेशा मात्रै छैन। तिमी यतिकी बाठी रहेछ्यौ। अरु पनि छन् जिउने उपायहरु। कसैले वेश्या भनेको सुन्यो भने अप्ठ्यारो लाग्दैन ?'

'म एक नारी हुँ। जन्मिदैमा वेश्या भएर आएकी होईन। मलाई पुरुषले वेश्या बनाईएको हो। आफूलाई सज्जन ठान्ने पुरुषले नै यौन प्यास मेटाउन नारी लाई युज गर्छन्। के पुरुषले नै युज नगरे नारी आफै वेश्या हुन सम्भव छ ? आखिर दुबै जनाले उहीँ काम गरेको हुन्छ। नारी वेश्या भयो रे। तर पुरुष किन वेश्या भएन ? यी सबै दोषहरु पितृसतात्मक सोंचको नतिजा हुन्।'
०००


उनले मोबाईलको स्वीच थिचेर स्क्रीनमा हेरिन्। अनि मेरो अनुहारतिर हेरिन्। स्क्रीनमा रातको बाह्र बजेको देखाउँदै थियो। र भन्न थालिन्।

'ओहो! समय त निकै गईसकेछ त। निस्कौं है अब ?'
'हतार छ है तिमीलाई ? तिम्रो कुरा सुनिरहन मन लागेको थियो।'
'मलाई हतार पनि के, फुर्सद पनि के। अवस्था हेरेर हुन्छ। धेरै छन् मेरा अलिखित कथाहरु। भनेर साध्य छैन।'

उनले कपडाहरु निकाल्दै लगाउन थालिन्। मैले पनि टिभी टेबलतिर छरिएका आफ्नो कपडाहरु टिप्दै लगाएँ। दुबै जना तयार भैइसक्यौं रुम बाट बाहिरिनको लागि। उनको हातमा पाँच हजार थमाई दिएँ। निस्किदै गर्दा उनले भनिन्-

'सरी ल...! तपाईलाई खर्च मात्रै गराएँ।'
'ठिकै छ नि। तिम्रो जिन्दगीको कथा सुनेर धेरै कुरा सिक्ने मौका मिल्यो। यस मै चित्त बुझाउँछु।'

'आउनुस ल...। निस्किएँ म।' मुस्कराउदै गइन् उनी।

केही मिनेटको फरकमा म पनि त्यहाँबाट बाहिरिएँ। तल
रिसेप्सनमा रुम नं. ५०४ को खातामा सात हजार पाँच सय रुपैयाँको विल जम्मा भएको रहेछ। पर्स निकालेर हेरेँ। गरुङ्गो मन पारेर पैसा निकालेँ। खिस्स परेर विलको पैसा तिरेर गेटबाट बाहिर निस्किएँ। ट्याक्सीमा बसेँ। र चालकलाई अघि बढ्न इशारा गरेँ।

अनि सोझिएँ गोँगाबुतिर,-
आँखा भरि "होटल भ्याली प्यानोरामा" र त्यहाँ भित्र संगै समय विताएकी सुन्दर युवतीको वदनको प्यानोरामा दृष्य लिएर सररर..!'
००००


उसले सुनाएको कथा यही थियो। तर बिडम्बना! आज उ यो संसारमा छैन। दुई साल पहिले तानसेन देखि बुटवल तर्फ जाँदै गरेको मोटरसाईकल शिद्धाबाबा खण्डमा भिर बाट खसेको ढुङ्गाले लागेर दुर्घटना भएको थियो। त्यही मोटरसाईकलमा सवार गर्ने व्यक्ति उनै विनय थापा मगर थिए। उसले यो संसार छोडेर गए। तर उसको कथा भने बाँचिरहेको छ।

~अस्तु~

 

निस्दी गाउँपालिका- ६ अर्चले,पाल्पा
[email protected]
मिति:-२०७७/०२/२३

images
प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - २१:४९:२३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend