तिमीलाई लिन आउँदै गर्दा
तिम्रो घर आई पुग्दानपुग्दै
मेरो हत्या भयो
तिमीलाई थाहा छ- हाम्रो प्रेम अमर बनाउन
एक्लै आहुती बन्नु पर्यो म
मेरो हत्या हुँदै गर्दा पनि त्यो श्वासले
तिम्रै स्पर्श र सुगन्ध खोजिराखेको थियो
तर त्यो स्वास तिमीसम्म पुग्न पाएन
मेरो हत्या पछि पनि त्यो मुटु पलपल
तिम्रै लागि धड्किराखेको थियो
तर पाइनौ त्यो धड्कन सुन्न
निश्चल ती मेरा नयनमा तस्वीर तिम्रै थियो
तर तिमीले त्यो हेर्न पाइनौ
अन्तिम स्वास निस्कनुअघी
तिम्रो एकै वचन सुनेर
तिम्रो हातबाट जल पिएर
बिदा माग्ने मेरो उत्कन्ठा पनि
अधुरै रह्यो !
सपनामाजस्तो, बेहोसीमाजस्तो
एक्लैएक्लै बर्बराइरहें- तिमी कहाँ छौ?
वियोगको यो अन्तिम घडीमा दुई थोपा पानी
मुखमा राखिदेऊ न!
म मारिएँ हो म मारिएँ
मलाई त कहाँ "मान्छेले" मारेका हुन् र!
मलाई त मेरै "जातले" मारेको हो ।
मान्छेका मनको कालो रातले मारेको हो ।
मान्छे बन्न बाँकी नै रहेको जातले मारेको हो ।
मेरो मुटुमा लेखिएको तिम्रो नाम
कसले पो देख्न सक्थ्यो र
तर अब त तिम्रो नाम मैले पृथ्वीमा
आफ्नै रगतले लेखेको छु
पृथ्वीको अस्तित्व रहुन्जेलसम्म
अब हामी अमर भयौं ।
आत्मा अमर रहने धर्मदर्शनमा
जन्मिएको म
कसरी अन्त्य हुन सक्छ र मेरो ?
पुनर्जन्म हुने धर्मदर्शनमा
जन्मिएको म
जन्मिनेछु फेरि आफ्नो सपनाप्राप्तिका निम्ति
र जन्मिएलान् मेरा हत्यारा पनि
फेरि दुश्मन बनेर अर्को जन्ममा
र चलिरहने छ यो चक्र
जात रहुन्जेलसम्म
त्यसैले तिम्रो हृदयमा कोरिएको
बिनाजातको मेरो नाम
दुनियाँलाई देखाइदिएर
अपराधीलाई सजाय दिलायौ भने
हुन सक्छ-
जन्मजमान्तरको यो चक्रबाट
हामी मुक्त हुनेछौँ
अन्यथा पुनः पुन: जन्मिनुपर्ने हुन्छ
मैले न्यायका खातिर!
र उठाउनु पर्ने हुन्छ धारिलो हतियार!