Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

नर्वेमा कोरोना: नेपाल कै सम्झना -दर्पण तिमिल्सिना

नर्वेमा कोरोना: नेपाल कै सम्झना -दर्पण तिमिल्सिना

नेप्लिज डायस्पोरा

२, आषाढ २०७७
images
नर्वेमा कोरोना: नेपाल कै सम्झना -दर्पण तिमिल्सिना


ओस्लो, नर्वे

कति पारिवारिक त कति आफ्नै रहर भित्रका सपनाले लखेट्दै पृथ्वीको उपल्लो कुनामा आइपुगेको पनि २ बर्ष कटिसकेको छ। देशमै केही गर्ने दृढ चाहना भएर नै रातदिन मेहनत गरेर एक तहको उच्च शिक्षा पुरा गरेको थिएँ र आफ्नै देशमा केही गर्दै पनि थिएँ। मेरै महत्वाकांक्षा भनौं या समय परिस्थितीले सबै इच्छा अनि चाहानालाई एउटा कुनामा थन्काएर म परदेशिएको थिए उच्च शिक्षा लिने बहाना बनाएर। बिदेशमा संघर्षका कथा व्यथाहरु सबैका आ-आफ्नै हुन्छन पक्कै, सजिलो यात्रा कमैको होला। यसैमा मेरा पनि केही तिता अनि केही मीठा अवश्य नै हुने भए।

कोभिड १९ ले संसारलाई नै आक्रान्त पारिरहेको बेला म बस्दै आइरहेको नर्वेको ओस्लो पनि अछुतो रहने कुरै भएन। बढ्दै गएको कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्ने भन्दै मार्चको दोश्रो साताबाट नर्वे सरकारले लकडाउन सुरु गरेको थियो। एकाएक गर्दै आएको कामबाट अस्थाई रुपमा निकालिएपछि रोगबाट भन्दा पनि भोकबाट आगामी दिनमा यो पराइको भूमिमा कसरी दिन कटाउन सकिएला भन्ने चिन्ताले पिरोल्न थालिसकेको थियो तर पनि ज्यान रहे, कमाउने र रमाउने समय फेरी पनि आउछ भनेर सरकारले भनेको सुझाबलाई मानेर भित्र नैं बस्ने निधो गरियो। अकल्पनीय तवरले युरोपलाई पनि बाँकी विश्वलाई जस्तै अस्तव्यस्त बनाउन सुरु गरेको थियो। हामीभन्दा पनि बढी त हप्तामा ५ दिन काम गर्ने र सप्ताहान्तका बाँकी २ दिन रेस्टुरेन्ट एवम् बारमा रमाइलो गरेर विताउने बानी परेका युरेपेलीलाई निकै गाह्रो भएको थियो। र पनि, सरकारले आह्वान गरेपछी नियम कानुनलाई मिचेर लकडाउन स्वीकार गर्नुको विकल्प न हामीलाई थियो, न उनीहरुलाई।

एकदिन बुबाले बिहानै मोबाइलबाट भिडियो कल गरेर भन्नु भो, "घरबाट बाहिर निस्किदै ननिस्कनु, पैसा कमाउने दिन फेरी पनि आउँछ।" भिडियो कलमा बुबाको पछाडी बसेर आमाले थप्दै हुनुहुन्थ्यो, "खान लगाउन समस्या भए यताउति गरेर खानु तर काममा बाहिर जादै नजानु"। स्वभाविक रुपमा कसैका बुबा आमाले आफ्ना सन्तानलाई रोग लागेको र दुख पाएको देख्न सुन्न चाहनुहुन्न त्यसैले, यो महामारीले मेरो बुबा आमालाई पनि ठुलै चिन्ता परेको थियो। अचेल प्रत्येक पटक फोन गर्दा बुबाले भन्नुहुन्छ, "हामी त गाउँमा छौं, यहाँ नयाँ कोही मान्छे आउदैनन। हामीलाई चिन्ता भनेको तिमीहरुको हो।"

पहिला पहिला फोनमा सन्चो बिसन्चो मात्रै सोध्दा हुन्थ्यो। अचेल बुबाले हामी घर मै बसेका छन कि छैनन् भनेर बुझ्नको लागी १ मिनेट नै भएपनि भिडियो मै बोल्न खोज्नुहुन्छ। परिवारमा मेरो पढाइ राम्रै भएकोले म नेपाल मै रहदासम्म बुबाको मप्रति सधैं एउटै चाहाना थियो, -'छोराले सकेसम्म सरकारी जागिर खाओस, नभएपनि नेपाल मै स्कुल कलेज पढाएर बसोस।' त्यहि इच्छाले होला बुबालाई म बिदेश जाने प्रयास गरेको कहिले मन परेको थिएन। तर मेरो तिब्र इच्छाले नै म केही बर्षमा फर्किने बाचा राखेर बुबा-आमाको आशिर्वाद बोकेर परदेशिएको हुँ। परदेश सजिलो त कहाँ छ र ? यो मैले २ बर्ष बिताउदै गर्दा राम्रोसँग भोगिसकेको छु र पनि मेरा उदेश्य पुरा भएका छैनन्। त्यसैले मेरो इच्छा शक्तिले यहाँको परिस्थितीसँग जुध्दै अगाडी बढ्न सिकाइसकेको छ।

नेपालमा लकडाउन सुरु हुनुभन्दा २ हप्ता पहिलादेखि नै यहाँ लकडाउन सुरु भएको थियो तर यहाँ र उता नेपालको लकडाउन मोडेल आकाश पातालको फरक थियो। उता पुरै कर्फ्यु लागे झैँ थियो, अत्यावश्यक सामानको पनि अभाव थियो, गाडीहरु सबै ठप्प थिए, प्रहरीको सर्वसाधारणमाथीको ज्याजती पनि बढ्दो क्रममा थियो। उताका ती सबै घटनाक्रम मिडियामा देखेपछि मेरा बुबा-आमालाई चिन्ता बढ्नु स्वाभाविक थियो। बारम्बार सोध्नु हुन्थ्यो, "खानेकुरा किन्न पाइएको छ कि छैन? के खाएका छौ?" कहिले देश नछोडेकी मेरी आमालाई यहाँको परिथिती अलि फरक छ भनेर मैले जति नै बुझाउन खोजेपनि उहाँको हामी प्रतिको ममताले होला, कुनै अभाव छैन भनेर पत्याउनु हुन्थेन। कतिपटक त मैले खानेबेलामा फोन गरेर हामीले खाएका दृश्य देखाउने गर्थे ताकि मेरी आमालाई बिश्वास लागोस हामीले किनेर खान पाएका छौं।

भगवान भण्डारी र शिला आलेको बिगत के हो?

लकडाउन भएपनि यहाँका सपिङ्ग सेन्टर, दैनिक उपभोग्य समानहरुको लागी ग्रोसरी सबै खुलेका थिए। सामाजिक दुरी कायम राखेर मानिसहरु आफ्नो समयानुकुल बजार जान्थे जसले गर्दा न त कुनै अभावको आभास भो न त भीडभाड नै भयो। यति नै बेला नेपालमा सम्झिन्छु सरकारले निश्चित समय तोकेर दैनिक उपभोग्य बस्तुको पसल खोल्ने भनेको छ, जसले गर्दा एकै समयमा मानिसहरु बाहिर निस्किने र भीड हुने वातावरणमा सृजना हुन्छ नै। यो बारेमा सम्बधित सरोकार राख्ने निकायले किन नसोचेका होलान ?

बिदेशमा आफन्त तथा साथीभाईहरुलाई भेट्न पनि हप्ता दिन अगाडीबाट योजना बनाउनु पर्छ। यहाँ ओस्लोमा पनि मेरा केही आफन्त र साथीभाईहरु छन्। लकडाउन सुरु भएपछी ति सबै सित भेटघाट सबै रोकिएको थियो । एकप्रकारको अत्यास बढ्दो क्रममा थियो। युरोपकै अन्य देशमा आक्रामक रुपमा फैलिरहेको कोरोनाबाट हामी सबै जसो तर्सिरहेका थियो। हामी एउटै फ्लाटमा २ परिवार बस्छौं। किचेन अनि बाथरुममा सेयर गर्नुपर्छ। मलाई चाहि डर एउटै कुराको हुन्थ्यो यदि कोरोना देखिईहाल्यो भने यो ठाउँमा छुट्टै आइसोलेसनमा कसरी बस्न सकिएला? कोरोना नै लागेपनि रोगलाई त जितौला भन्ने आत्मविश्वास थियो तर रोग लाग्यो भने त्यसले पार्ने अरु असरहरुलाई कसरी झेल्न सकिएला भन्ने चिन्ता बढ्दो क्रममा थियो। घरबाट फोन गर्दा "महिनौंलाई पुग्ने रासन पानी ल्याएका छौं, बाहिर निस्केका छैनौं" भनेर आश्वस्त पार्ने गर्थ्यौं र पनि २,३ दिनमा बाहिर त निस्किनै पर्थ्यो। सजक र सचेत हुँदै दिन काट्नुको विकल्प थिएन। सामाजिक दुरी कायम त गरिएकै थियो तर अचम्मको कुरो चाहिं सरकारले नै यहाँ मास्कको प्रयोगलाई प्रोत्साहन गरेको थिएन, मास्क किन्न कतै पाइएको पनि थिएन। बस, मेट्रोमा पनि एकाध मान्छेले मास्क लगाएको भेटिन्थ्यो। हामी मास्क नभएपनि मुखमा गलबन्दीले छोपेर, मान्छे देख्दा अलि तर्किएर हिड्ने गर्थ्यौं।

२ हप्ता अगाडी मेरो दाइको छोरा काठमाण्डौमा २ महिना लकडाउनका कारणले थुनिएपछि कयौं ट्रक र टिप्परको यात्रा गरेर पाल्पा पुगेको थियो। गाउँ पुग्ने थाहा पाएपछि गाउँपालिकाको सहयोगमा गाउँ कै स्कुलमा क्वारेन्टिनमा राखियो। उसले भन्दै थियो, यहाँ मान्छेहरु यसरी डराएका छन कि "म संक्रमित पनि होइन तर पनि मेरो सयौं मिटर टाढा आएर खाना दिन पनि डराएका छन्।" रोग नफैलियोस भनेर सतर्क हुनु नराम्रो त पक्कै होइन तर त्यसरी छि:छि , दुरदुर गर्न पक्कै पर्दैन। निश्चित दुरी कायम गरेर नै यो रोगलाई फैलावटबाट रोक्न अवश्य सकिन्छ।

नर्वेमा मलाई अत्यन्तै मन परेको चाहिं यहाँको सरकारले सार्वजनिक सवारी साधनलाई दिएको प्राथमिकता र लगानी हो। सार्वजनिक यातायात यति चुस्त छ कि भनेको समयमा सवारी साधन आउँछ, घरदेखि काम गर्ने ठाउँ होस् या स्कुल कलेजमा हामी घडी हेरेर मिनेट मिनेटको हिसाब गरेर हिड्ने गर्छौ। यो सबै देख्दै गर्दा काठमाण्डौमा रहदाँ घन्टौं जाममा बसेर समयमा कार्यालय पुग्न गरेको संघर्ष सम्झना आउँछ।

कोरोना संक्रमण फैलिने एउटा डरलाग्दो माध्यम यस्तै सवारी साधन पनि हो। लकडाउन कै बिचमा कुनै दिन पनि सार्वजनिक सवारी बन्द भएनन् बरु अत्यावश्यक भीडभाड नहोस भनेर झन बढी संख्यामा उपलब्ध गराएको छ। बस, ट्रेन रित्तो पनि दौडिन्थे तर समयमा तलमाथि भएको थिएन। अहिलेपनि सिट क्षमता घटाइएको छ अनि सवारी साधन भित्र स्पष्ट रुपमा बस्न मिल्ने र नमिल्ने सिट भनेर मार्किङ्ग गरेको छ। यो सबै देख्दा नेपाल सम्झन्छु जहाँ भारत बाट आएका नेपालीहरुलाई गाडीमा ठेलमठेल गरेर उनीहरुको गाउँसम्म पठाईएको देख्छु अनि मन आतिन्छ। लकडाउन खुल्यो भन्ने दिन त्यो ठेलमठेल हुने गाडीहरु अब कसरी व्यवस्थापन होला ?

सुन्दैछु यात्रु संख्या आधा घटाएर यातायात चलाउने कुरा हुँदैछ रे, त्यसको सबै लागत सरकारले व्यहोर्न सक्नु पर्छ नत्र जति नै नियम बनाएपनि तोडिने पक्का छ। यदि सरकारले स्वामित्व लिएन भने यातायात व्यावासीले भाडा दोब्बर बनाउलान, त्यसको प्रत्यक्ष असर पर्ने भनेको फेरी उनै जनतालाई हो जसले महिनौंसम्म रोजगार गुमाएर बसेका छन्। आफ्ना जनतालाई दुख र आपत परेको बेला सरकार छ भन्ने अनुभुती दिलाउनु सरकारको कर्तव्य हो। नर्वे सरकारले लकडाउन सुरु भएपछी करिव २ महिना बस तथा मेट्रोमा टिकट चेकिङ्ग नगर्ने भनेर घोषणा गरेको थियो जसले गर्दा सार्वजनिक यातायात निशुल्क नै चलिरह्यो।

लकडाउन सुरु भएपछी सरकार तथा सम्बन्धित रोजगार कम्पनीले सम्भव भएसम्म कार्यालयको काम घरबाट नै गर्न प्रेरित गरेको थियो । अधिकांश रोजगार कम्पनीहरु तथा होटल रेस्टुरेन्ट बन्द भएका कारण त्यहाँ कार्यरत कामदार तथा कर्मचारीहरुलाई अस्थायी रुपमा कामबाट निकाल्नु पर्यो जसले गर्दा हजारौं मानिसहरु एकैचोटी बेरोजगार भए। त्यसैबेला सरकारले बेरोजगार भत्ता ( unemployment benefit) भनेर त्यसरी अस्थायी रुपमा कामबाट निकालिएका कामदारलाई उनीहरुले पाउदै आएको आम्दानीको आधारमा राहत प्याकेज घोषणा गर्यो। काम गुमेपनि जनताहरुको आम्दानी गुमेन जसले गर्दा जनताहरु घर मै बसेर सरकारले बनाएको नियमलाई साथ दिए।

आम्दानीका आधारमा हरेक व्यक्तीले सरकारलाई निश्चित कर अनिवार्य दिनै पर्छ। यहाँ कर छलेर काम गर्ने र लगानी गर्ने भन्ने कल्पना नि गर्न सकिदैन। यहाँ स्थायी बस्नेका लागी चाहिँ आम्दानीबाट तिरेको कर पेन्सनको रुपमा बुढेसकालमा राज्यले फिर्ता गर्छ तर मलाई सधैं लागथ्यो हामी आफ्नै देशमा फर्किने हो यहाँ तिरेको करले हामीलाई के फाइदा ? तर जब रोजगार गुमेर बसेको बेला राज्य अभिभावक बनेर उपस्थित भयो अनि लाग्यो करको महत्व।

मन परे मात्रै शेयर गर्नुहोला ! सुने मन परिहाल्छ !


नेपालमा हामीले तिरेको करबाट हुने गरेको अनियमियता अनि भ्रष्टाचार गर्ने नेता नेतृत्वबाट करदातामा आक्रोश बढ्दो छ। यहिँ महामारी कै बीचमा नेपाल सरकारले एक हप्तामा कर तिर्न जारी गरेको उर्दीलाई नागरिक तथा सरोकार निकायबाट तिब्र बिरोध भयो। यहीं एउटा परिघटनाबाट थाहा हुन्छ, यदि हामीले तिरेको करको उचित सदुपयोग भएको भए जनताले त्यसरी उल्लङ्घन गर्ने हिम्मत किन गर्थे होला र ? दुखको बेला सरकारले राहात बाँड्नु त परको कुरा झन निर्मम भएर कर असुलेको छ, स्वछन्द भएर भ्रष्टाचार गरेको छ। अरु देशले आफ्ना नागरिकलाई निशुल्क र सस्तो भाडा दरमा देश ल्याएका छन्। हाम्रो सरकारले सबैभन्दा चर्को भाडा दर कायम गरेर नागरिकलाई 'तिर्न सके आऊ नत्र उतै बस र मर' को व्यवहार गरेको छ।

नर्वेमा नेपालीको संख्या ठ्याक्कै यकिन नभएपनि करिव ३००० को हाराहारीमा अनुमान गरिन्छ, जसमा प्रत्येक बर्ष करिब २०० को हाराहारीमा नेपाली बिद्यार्थी उच्च शिक्षा अध्ययन गर्न यहाँ आउने गर्दछन। नर्वेको शिक्षा निशुल्क भएकोले यहाँको नियम अनुसार हप्ताको २० घण्टा काम गर्ने बिध्यार्थीहरुलाई खान बस्नको लागी खासै समस्या हुने गर्दैन। ओस्लोको कुरा गर्ने हो भने काम को लागी खासै समस्या छैन तर यो वर्षको अगस्टमा ओस्लो बाहिरका शहरमा आउने बिद्यार्थीहरुलाई काम खासै नपाउने कारण यो कोरोनाले झन बढी अप्ठ्यारोमा पार्यो। लकडाउन सुरु भएपछी यहाँका विभिन्न राजनीतिक तथा गैर राजनीतिक सम्बद्ध संघ संस्थाहरु मिलेर एनआरएन, नर्वेको नेतृत्वमा संयुक्त राहत समिति गठन गरेर आपतमा परेका नेपालीलाई सहयोग गरेका छन्।

घरबाट टाढा भएपनि दुखको बेला एक नेपालीले अर्को नेपालीलाई गर्ने सहयोग र साथ सम्झन लायक नै हुने रहेछ। बिदेशमा बस्दा आफ्नो परिवारको साथ त छुट्छ नै त्योसँगै आफ्नोपन र समाजको अभाव पनि खट्किरहेको हुँदो रहेछ। सुख होस् या दुख, यो मनले परदेशमै बसेपनि नेपालीपन झन बढी देखाउन र चिनाउन खोज्दो रहेछ। कोरोना महामारीले आफु बस्दै आइरहेको देश आक्रान्त पारिरहेको थियो र पनि सम्पुर्ण ध्यान नेपालप्रति नै हुने रहेछ। बिकशित राष्ट्रहरुलाई समेत हायल कायल पारेको कोरोनाले यदि नेपालमा महामारीको रुपमा प्रवेश गर्यो भने हाम्रो जस्तो भर्खर पद्दती बस्दै गरेको स्वास्थ्य क्षेत्रले कसरी धान्न सक्ला भन्ने चिन्ता र पीडाबोध जतिबेला पनि भइरहेको छ।

सरकारको उच्च सतर्कता तथा नागरिकको साथले नै नर्वेले कोरोना महामारीको यो लडाँइ जित्ने तरखरमा छ। करिब ८६०० को संक्रमित संगै २४२ जनाको मृत्यु भएको छ भने संक्रमित मध्ये ८१०० बढीले कोरोना जितेर घर फर्किसकेका छन्। नर्वेमा सेरेमोनियल राजा छन् भने कार्यकारी प्रधानमन्त्रीको रुपमा महिना नेत्री छिन। देश बिकासको लागी नेतृत्व कुशल भएको खण्डमा न त गणतन्त्र चाहिने रहेछ न त पुरुष नै। हामी राजनीतिक पद्दतिलाई गाली गरेर बस्छौ, समस्या पद्दती भन्दा पनि नियतमा हो। हाम्रो राजनीतिमा ब्यथिती यति बढ्यो कि राजनीतिक पार्टी र सरकार प्रति जनताको चरम निराशा छ। अब यतिबेला बिदेश मै भएपनि चिन्ता हरेकपल नेपालमा बढ्दै गएको कोरोना महामारीको छ। स्वास्थ्य पुर्वाधारमा त्यसैपनि कमजोर हाम्रो देश त्यसैमा बढ्दो भ्रष्ट्रचारले थिलथिलो भइरहेको छ।

यो कोरोनाको महामारीसंगै हाम्रा नेता नेतृत्वमा सदबुद्धि पलाउदै जाओस् र यो महामारीलाई कुशल ढंगले जित्दै सुन्दर नेपालमा विकासले पनि फड्को मारोस । यो परदेशीको परदेशबाटै पशुपतिनाथसित यहि छ कामना !

गीतकार एकनारायण भण्डारीसंगको कुराकानी हेर्नुहोस

 

 

images
प्रकाशित मिति :आषाढ २, २०७७ मंगलवार - १७:२५:५८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend