मुक्तक -१
देख्दै मोहित पारीहाल्ने, कस्तूरी झैं चाला देख्छु
सिन्दूर पुछे पनि उनका, रातापिरा गाला देख्छु
कहिले एक्लै भइनन् उनी, कहिले निरास छैनन् उनी
साथमा राखी गुडाइरने, हर्के दाईको साला देख्छु ।
मुक्तक -२
लैङ्गिक हिंसा, बुहार्तन, कुरिति उस्तै चलेका छन्
दमन उस्तै थिचोमिचो, न त अन्यायी ढलेका छन्
अस्तित्व निम्ति जुट्नु पर्यो, अन्यायी विरुद्ध उठनु पर्यो
देशका कुना-कप्चेरामा, कैयन नारी जलेका छन् ।
मुक्तक -३
सदाचारीलाई फसाएर, सधै पाखा लाउनुपर्छ
शक्तिका पद कब्जा गरी, सञ्चारभरी छाउनुपर्छ
देशले यही माग्दोरैछ, खाएसी लोभ लाग्दो रैछ
अब भ्रष्टाचारीले पनि, चुनाव लड्न पाउनुपर्छ ।
मुक्तक -४
अपराधै होस् कसैको त, गल्ती हुँदै नहुँदोरैछ
जेसुकै होस् पिडितमा, पत्थरे दिल छुँदै नछुँदोरैछ
दोषीलाई ढाकी हाल्छन्, निर्दोषीलाई जाकीहाल्छन्
कति 'महाशय'यस्ता छन्, कानूनले छुँदै नछुँदोरैछ ।
मुक्तक -५
कानूनी रुपमा समानता, देख्ने कहिले घडी हुन्छ ?
जहिले पनि हुने खाने, सक्नेकै लडीबडी हुन्छ
नीतिका कुरा लत्याएर, नसक्नेलाई छक्क्याएर
दोषीहरु स्वतन्त्र छन्, निर्दोषलाई हत्कडी हुन्छ ।
✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
२०७६ साउन २०