स्रग्विणी छन्द ।
*
देश माटो यही देश हो सिर्जना
रोप उम्रन्न के, देश नै तिर्सना ।
फूल फुल्छन् यहीँ अन्न झुल्छन् यहीँ
हेर डाँफे चरी मस्त डुल्छन् यहीँ ।।१।
देश थोपा अहो देश हो सागर
किन्तु नेपाल झैँ छैन अर्को तर ।
देश कोशी नदी वाग्मती सुन्दर
बग्छ काली यहीँ देश प्यारो घर ।।२।
देश यो शक्ति हो देश नै भक्ति यो
देश सामर्थ्य यो देश आशक्ति हो ।
देश यो मर्म हो देश नै कर्म यो
देश सेवा यही देश यो धर्म हो ।।३।
देश माथा बडो देश यो गौरव
देश यो पर्व हो देश नै उत्सव ।
देश नेपाल यो देश हो प्राण यो
देश नै स्वर्ग यो देश हो त्राण यो ।।४।
देश भूगोल यो देश नक्सा स्वयम्
देश एक्लो नहोस् देश हामी वयम् ।
बाँच्छ भाषा स्वयम् बाँच्छ रे भेष यो
मिल्नुमै एकता हाँस्छ रे देश यो ।।५।