छन्द -शार्दूलविक्रीडित
हाँक्लान् देश भनी प्रशासनिक ती अड्डा भए स्थापना
होला कानुन औ सुशासन जहाँ भन्दै बस्यौँ पालना ।
गर्ला देश भन्यो बिकास नगरी अल्झिन्छ बेकारले
कस्तो खेल रचाउँदैछ जगमा यो बालुवाटारले ।।१।
बस्छन् बैठक जो बनेर मुखिया मन्त्री त्यहीँ बस्दछन्
फाली भैकन निस्कने सबजना बन्दै सियो पस्दछन् ।
पानी सुक्छ सधैँ भने बगरमा के पाउला झारले
कस्तो खेल रचाउँदैछ जगमा यो बालुवाटारले ।।२।
जग्गा बेच्न तयार आपस मिले किन्ने तिनै माफिया
रातारात धनी बनी सहरमा हिँड्ने तिनै माफिया ।
नाफा दिन्छु तँ खा भनेनछ कसो बिर्सेछ व्यापारले
कस्तो खेल रचाउँदैछ जगमा यो बालुवाटारले ।।३।
बन्लान् नीति नयाँ भने स्वजनले नेतृत्व नै फेरिए
यस्तो चाल नयाँ रच्यो समयले पर्खाल भै घेरिए ।
हाम्रा यी सरकारका सब कुरा भन्दैन यो प्यारले
कस्तो खेल रचाउँदैछ जगमा यो बालुवाटारले ।।४।
जस्तो नाम छ यो दुरुस्त हुन गो सुक्खा भयो बन्जर
पानी थाक्दछ बालुवा तर कहाँ भिज्ने कुरा गर्छ र ?
कुर्सी प्रेम बडो विचित्र छ जहाँ बोल्दैन संस्कारले
कस्तो खेल रचाउँदैछ जगमा यो बालुवाटारले ।।५।
खेलाडी जतिछन् अहो सबजना पर्खेर मौका यहाँ
गर्ने गोल भए क्रिकेटसरि भो छक्का र चौका यहाँ ।
रेफ्री धेर भए परन्तु रमिता हेर्दैछ सन्सारले
कस्तो खेल रचाउँदैछ जगमा यो बालुवाटारले ।।६।