मुक्तक -१,
जब दुई आँखाका , मोती पोखिदा भुईँ बज्छ
निद्रा बोलाइ कोल्टे फेर्दा ,रातीको दुई बज्छ
नमीठो अतीत सम्झिदा,फेरि भविस्य सोच्दा,
थकित भैदिन्छ मन, मुखबाट खुई बज्छ ।
मुक्तक -२,
कसैको दुर्दशामा , आइदिन्छ मान्छे हुल लगाएर
गुहार गर्दै चिच्याउँदाखेरी , बस्छ चुकुल लगाएर
बाँचुञ्जेल मीठो बोल्न, शब्द सकिन्छ कि झैँ गर्नेले ,
अन्त्येष्टिमा गुणगान गर्छ , अञ्जुली फूल लगाएर ।
मुक्तक -३
जब खुशी दिने मान्छे भगवानको रोजाइ भैदिन्छ
नियति भनौं या यस्तै जिन्दगीको भोगाइ भैदिन्छ
श्रीमानको वियोगमा , छट्पटाएकी ती अबलालाई ,
यो समाजले दिने सान्त्वना , 'लोग्ने टोकाइ' भैदिन्छ ।
मुक्तक -४,
गुनासो नसुनी उल्टै न्यायबाट वञ्चित गरिन्छ
खास यथार्थ नबुझी निर्दोषीलाई डण्डित गरिन्छ
पैसा खन्याइ कानुन किनी, जघन्य अपराध लुकाइ
माथिल्लो निकायबाटै दोषीलाई संरक्षित गरिन्छ ।
मुक्तक -५,
समाजमा कसैलाई नटेरी भुल गरेर
अब गल्ती नदोहोर्याउने कबुल गरेर
तिनै साधु सन्त अनि, सति सावित्री ठहरिए,
पैसैले ती काला कर्तुत टालटुल गरेर ।
- छत्रकोट-१ हुँगा, गुल्मी ।