शाकाहारी बन्नको लागि उसले धेरै अघिदेखि प्रयास गरेको थियो तर अल्कोहल र लागू पदार्थ सेवन गर्ने ब्यक्ति जस्तो दुई तीन बर्षमा रिल्याप्स भैरहने नियती भोगिरहेको थियो । हुन त उसले आजभन्दा ३० बर्ष अघिदेखि नै बोका, कुखुरा बली दिने कार्य छोडिसकेको थियो । तैपनि कहिले परम्परा र संस्कृतिको नाममा, चाडपर्व र देवी- देवताको नाममा, स्वास्थ्य र पोषणको नाममा, बाबु-आमा र नातेदारको मायाको नाममा, साथीभाईको सत्कार र कहिले जागिरे जीवनको फिल्ड वर्कको नाममा शाकाहारी बन्ने उसको प्रयत्नमा प्रश्न चिन्ह लागिरहेको थियो ।
हिन्दू संस्कृतिमा कहिलेदेखि बलीप्रथाको शुरु भयो भन्ने बारेमा प्रमाणित तथ्य प्राप्त गर्न सकेको छैन उसले । सबैभन्दा अग्रस्थानमा राखिएको तथाकथित ब्राह्मण समुदायले मांस सेवनको त कुरै छाडौं लसुन र प्याज समेत खाँदैनथे भन्ने कुरा पनि उसले सुनेको थियो । कतिपयले त " हामीले त जातले नै पाएको हो ।" भनेर वकालत गर्दथे ।
मानव समाज संस्कृतिको विकासको सन्दर्भमा शिकारी तथा घुमन्ते समाज, कृषि समाज हुँदै अहिलेको औधोगिक समाजमा रुपान्तरण भएको कुरालाई उसले स्वीकार गर्दछ । शिकारी तथा घुमन्ते समाजमा मानिसहरूले जंगली जनावरलाई शिकार गर्ने, कन्दमूल तथा फलफूलबाटै जीवन चलाउने कुरालाई उसले बाध्यता ठान्दछ ।
मानव समाजले विभिन्न प्राकृतिक प्रकोप बेलाबखत भोग्नु परेको कुरा थाहा पाउँछ । २०७२ सालको भूकम्पको भुक्तभोगी नै थियो ऊ । विश्व स्वास्थ्य संगठनले भर्खरै मात्र घोषणा गरेको कोभिड-१९ को महामारीलाई पनि प्रत्यक्ष हेरिरहेको छ उसले । विश्वका सम्पूर्ण देशहरू नै ठप्प हुन पुगेको छन् । संगठनले विभिन्न रोगहरूको कारक तत्वको रुपमा पशुपंक्षीको पनि योगदान भएकोले तिनको व्यापारमा प्रतिबन्ध लगाउन अनुरोध गरेका छन् ।
कोभिड-१९ को कारण विश्वमा ९२ लाखभन्दा बढी मानिसहरू संक्रमित भैसकेका, ४ लाख ७४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका र गरिब मानिसहरूलाई पारेको प्रभाब देख्दा ऊ साह्रै दुःखित छ । नेपालमा २०७६ चैत ११ देखि लकडाउन भएपछि सरकारले जारी गरेको निर्देशनलाई उसले मान्दै आएको छ । यही कोरोना कालमा भगवान गौतम बुद्धद्वारा प्रवर्तन गरिएको शील, समाधि, प्रज्ञाको अभ्यास र चिन्तन मार्फत शाकाहारी बन्ने प्रयत्नमा उसलाई ठूलो सहयोग पुगेको छ ।
- धनगढी ।
२०७७ असार ९