जब रुन्छ ऊ
मेरो कोमल मनलाई निमोठ्छ
उस्को रुवाईले
मेरो पुरै ध्यान खिचेर
ऊ भएतिरै खिच्छ मलाई
जसरी चुम्बकले फलामका कणहरूलाई
खिच्छन्
ऊ लड्छ मलाई दुख्छ
ऊ हाँस्छ म पुलकित हुन्छु
कसैले उसलाई छोएको देख्न सक्दिन म
कसैले उसलाई गाली गरेको सहन सक्दिन
म बाहेक कसैसँग
सुरक्षित पनि देख्दिन कहिले
जब ऊ रुन्छ
सबै काम छोडेर
उपस्थित हुन्छु उसकै सामु
उसले आफ्नी आमा भुल्छ
मैले गर्भ नबोकी छोरा जन्माउँछु
उसलाई चुम्छु सुम्सुम्याउँछु
मानौ मेरो काख नै उसको संसार हो
ती मीठा लोरी
ती मीठा कहानी
गुनगुनाउँछु भुन्भुनाउँछु
ऊ लुपुक्क टाँसिएर निदाउँछ
मेरो न्यानो काखमा निस्फिक्री
जब ऊ भोकाउँछ
खुन्खुनाउँछ लुट्पुटाउँछ मेरै सामु
उसलाई मन पर्छ कुन्नि माम
उसलाई मन पर्छ
मेरै हातले बनाएको जाउलो
जब कोखाई कोखाई गराउँछु
उसका भर्खर उम्रेका दाँतहरुले
मेरो औला टोकेर जिस्कन्छ
अनि चुर्लुम्म डुब्छु उसको प्रेममा
जब उसको पेट भरिन्छ
र मीठो तरिकाले डकार्छ
म त्यसै आनन्दित हुन्छु
उसले बिर्सन्छ
उसकै आमाका अमृतले भरिएका
स्तनहरू
उसले बिर्सन्छ मातृवात्सल्याका मातृप्रेम
जब उसका कोमल औलाहरूले
स्पर्श गर्छन मेरा स्तनहरूलाई
रसिएर खस्छन मेरा स्तनहरूबाट
सङ्लो पानी अनायसै
उसलाई हुर्काउन
मैले आफ्नो जीवन दिएकीछु
उसलाई बढाउन
मैले मेरो जवानी बन्धकी राखेकी हुँ
मेरा कोमल गुलाबी ओठहरूले
बैशलाई चुम्न नपाई निरश छन्
भित्री मनका रहरहरू ओइलिएर
फूल झैं झरे
मेरा वयस्कपन मबाट यसरी रित्तिए
जसरी मौरीले छाडेका चाका
म त्यो फूल हुँ जसमा कुनै वास्ना हुँदैन
म त्यो वृक्ष हु जहाँ कुनै फलै लाग्दैन
गाजलको अर्थ छैन आँखाहरूलाई
लालीको अर्थ छैन ओठहरूलाई
टिकी र पोते मेरो भाग्यमै रहेन
सिन्दुर रङ्ग्याउने सिउँदो नै छैन्
ऐनामा हेर्छु
सेता फुलेका कपाल
चाउरिएका अनुहार
बेरङ्ग देख्छु आफैलाई
कुनै दिन
उसले पनि भुल्नेछ मलाई
जसरी भुले उसका दिदी दाईहरूले
मेरो यो काँधले बच्चा फेरे
फेरेन मेरो उध्रेको चोली
जब ठूलो भएर शहर पस्नेछ ऊ
फोन गरेर नि सोध्ने छैन मलाई
" धाई आमा " सञ्चै हुनुन्छ ?
- तानसेन, पाल्पा ।
२०७७ साउन ०२