Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सुन्दर भविष्यको खोजीमा प्रवासको एक बर्ष -शान्ति अर्याल अधिकारी

सुन्दर भविष्यको खोजीमा प्रवासको एक बर्ष -शान्ति अर्याल अधिकारी

नेप्लिज डायस्पोरा

१७, श्रावण २०७७
images
सुन्दर भविष्यको खोजीमा प्रवासको एक बर्ष -शान्ति अर्याल अधिकारी

 


बिगतलाई सम्झिदा

समय बितेको पत्तै नहुने रहेछ बिगतलाई सम्झिएर हेर्दा अनौठो लागीरहेछ । मुटुभरी जन्मभूमि, जन्मदाता, आफन्त र साथीभाइहरुको माया बोकेर आँखाबाट बर्बर आशु खसाल्दै सुन्दर भबिष्यको खोजीमा आकाशिएको पनि कति छिट्टै बर्ष दिन पुगेछ । साउनको महिना थियो झरी बादल बाढी पहिरोले सताउने नै भयो । जसो तसो घरबाट निस्किने प्रयास गरे । आफन्त सबै बुटवलमा भएको कारण घरबाट निस्किदा बुटवलसम्मको यात्रा न हो भने जस्तो अनुभूति भईरहेको थियो । उसो त केही दिन अगाडी देखी नै आफु आबद्ध भएका सामाजिक संघसंस्थाहरूमा राजिनामा पेश गर्ने र बिदाई हुने क्रम चलिरहेको थियो ।


लामो समयसम्म आबद्ध भएर काम गरिरहेका संघसंस्थाहरू मा एकाएक बिदाई हुनु पर्दा नमिठो अनुभुती हुनु स्वभाविक थियो । सोही दिन पनि बुटवलसम्म आईपुग्दा पनि साउने भेल जस्तै आँशुको बर्षा भने भैरहेको थियो । लाग्थ्यो सगै यात्रा गर्नेहरूले पनि मलाई नै हेरिरहेका छन । तर आशुलाई रोक्न सक्ने क्षमता ममा थिएन । २०६७ सालमा सामुदायिक रेडियो मदनपोखरामा आबद्ध भएर अगाडी बढेका मेरा पाईलाहरु कैयौ चुनौती र कठिन परिस्थितिका बाबजुत पनि निरन्तर अगाडि बढिरहेका थिए।


एक दशकको अन्तरालमा दर्जनौं बढी संघसंस्थाहरूमा आबद्ध भएर काम गर्ने अवसर मिल्यो । जसले गर्दा समाजलाइ नजिकबाट नियाल्ने अवसर प्राप्त गर्नुका साथै सामाजिक तथा राजनीतिक रूपमा समेत आफुलाई शसक्त बनाउदै लैजाने अवसर पाएको अनुभूति हुने गर्दथ्यो । सामाजिक क्षेत्रमा आफुलाई स्थापित गर्दै अगाडि बढ्ने सोच थियो । तर समय परिस्थिति फरक बनेर आइदियो । समयले जता जता डोर्याउदै लैजान्छ उतै उतै डोरिनै पर्ने रहेछ ।


एक दिनको बुटवल बसाईपछि काठमाडौँको लागि यात्रा तय भयो । आमादाजु भाउजु दिदीबहिनी लगायत सबै आफन्तसंग बिदा भएर निस्किनु पर्दाको क्षणले फेरि भाबुक मात्र बनाएन आफुलाई समाल्न सक्ने स्थिति नै रहेन । नभन्दै दिनभरको यात्रा पनि पुरा भयो । काठमाडौं आईपुग्दा रात परिसकेको थियो । कलंकीमा बास बस्ने निधो भयो, त्यही ओर्लिएं ।सामान बढी भएकोले ट्याक्सी लिएर बासस्थान तिर लागे । १८गते राती १:३० बजेको टिकट फिक्स भएको थियो ।१७ गते घुमघाम भेटघाट मै समय बित्यो । टाढा जादैछु भन्ने कुरा मनबाट हटाएको थिए, त्यसैले पनि दिन अलि सहज लाग्यो ।

१८ गते बिहान सबेरै उठेर पशुपतिको दर्शन गर्न जाने कुरा भयो । मन्दिरतिर लागियो साउनको महिना भएकोले पनि अलि भिडभाड नै थियो । समय मस्तै लाग्यो । मन्दिरबाट फर्किएर सामान मिलाउन तिर लागियो । मन पनि भारी भएर आयो आँखाबाट खस्ने भेललाई रोक्न सक्ने स्थिति रहने नै भएन । साथीको समेत हालत उस्तै, नभन्दै रातको १० बजिसकेछ। ट्याक्सी लिएर एयरपोर्टतिर लागियो । समय पनि कति छिटो बितेको एयरपोर्टमा एकछिन रहन नपाउँदै प्लेन आयो भित्र जानुस भन्ने निर्देशन आयो ।


सगै जानुभएका साथीभाई आफन्त सबैसग हात हल्लाउँदै भित्र पस्न बाध्य भए । मुटुभरि पिडा र गहभरि आँसु बोकेर पनि गन्तब्यमा पुग्नु नै थियो । अगाडि बढ्दै गए , सामान चेकजाँच र कागजी प्रक्रिया पुरा गर्दै अगाडि बढ्नु पर्ने, सात समुन्द्र पारि तिरको पहिलो यात्रा, मध्य रातको समय, त्यसमा पनि २ बच्चाहरूको जिम्मेवारी साथमा भएकोले बगिरहेको आशुलाई रोकेर आफुमा साहस जुटाउनुको बिकल्प मसंग थिएन ।


केहि समयको प्रतिक्षापछि प्लेनमा जाने निर्देशन भयो । सोही अनुरुप सबै प्लेन चढियो । रातको १:३० बज्न लाग्दा पनि फोन म्यासेजहरु निरन्तर आईरहेको थियो केही बेर मोबाइल मै ब्यस्त रहे । नभन्दै जहाजले जमिन छोडिहाल्यो बोल्दै गरेको फोन आफै काटियो नजिकै देखिएका बजारका बत्तीहरू पिलपिल गरी निकै टाढा देखिन लागे । बल्ल अगाडी पछाडि हेर्न थाले, नेपालीहरूको संख्या धेरै नै भए पनि मेरा लागी सबै नयाँ अनुहार थिए।

मनभरी पिडा र गहभरि आँसु त छदै छ अर्को तिर कता कता एक्लो महशुश र त्रास पनि थियो निदाउन सक्ने कुरै भएन । बिहानको ४:३० भैसकेको रहेछ। दुबई एअरपोर्ट पुगेर जहाज ल्याण्डिङ भयो । आफ्नो लागि बिल्कुलै नयाँ ठाउँ ! अब कता जाने के गर्ने हेर्दै गर्दा कसैले सोध्यो कहाँ जाने मैले गेट नं. बताए बसमा जान निर्देशन भयो । बस चढियो बसले आफ्नै गन्तब्य सम्म पुर्याएर छाड्यो ।

७ :३० बजे Fly Emirates बाट लिस्बनको लागी टिकट तय भएको थियो । ३ घण्टाको ट्रान्जिट गेट पत्ता लगाउँदा र ट्वाईलेट बाथरूम गर्दा ठिकै भएको थियो ।

सात बजे भित्र जाने निर्देशन भो भित्र पसियो केही बेरमै प्लेनमा जान निर्देशन भयो सबै प्लेन तर्फ लागियो ।

केही बेरमै प्लेन उडिहाल्यो । मनमा कता कता त्रास पैदा भैरहेको थियो । यताउता फर्किएर हेरे चिनेजानेको त परै जावोस एशिएन मुलुक कै मान्छे एउटा पनि देखिन झन निराश भए जस्तो अनुभूति भईरहेको थियो । लामो यात्रा कता कता दिक्क लाग्ने गर्दथ्यो । समय बिताउनको लागि पनि आँखा बन्द गर्ने र खोल्ने गरिरहन्थे । बच्चाहरू भने आफ्नै सुरमा उत्साहित देखिन्थे ।


समय बित्दै गएछ दिउसोको त्यस्तै १२:३० बजेतिर लिस्बनमा जहाज ओर्लियो त्यसपछि भने मनमा भएको त्रास हटेर गयो ।

3.jpg


नयाँ ठाउँको सिकाई, भोगाइ र अनुभव

कृषि र पर्यटन लाई मुख्य पेशाको रूपमा लिएर आफुलाई समृद्धि तर्फ लम्क्याईरहेको चारैतिर हरियाली स्वच्छ र सन्तुलित हावापानी भएको, झट्ट हेर्दा नेपाल कै झल्को मेटाउने सुन्दर देश रहेछ पोर्चुगल । तर मलाई भने सुरूमा कहाँ आए के गरे भने जस्तो लाग्ने। चारैतिर उजाड मरुभूमि भए जस्तो मनले कता कता के खोजिरहेको जस्तो के बिराएँ जस्तो के छोडें जस्तो बास्तबमै भन्नुपर्दा लामो समयसम्म पनि खल्लो अनुभुती भैरहेको थियो ।

केही दिनको आरामपछि आफु बसेको ठाउँलाई नियाल्ने उत्सुकता जाग्यो । नयाँ ठाउँ नयाँ बसाई नया नयाँ साथी भाई भित्र बाहिर सबैतिर नौलो लाग्नु स्वाभाविक थियो । परिस्थिति सहज थिय। सबै जना आ आफ्नै काममा ब्यस्त देखिन्थे । कसैसँग बोल्ने र बस्ने समय नै हुदैन थियो । काम गर्ने उमेर समूहका मान्छेहरू यहाँ कोही पनि बेरोजगार बसेको देख्नु पर्दैन थियो । श्रमलाई सम्मान गर्नुपर्छ, कुनै पनि काम सानो ठूलो हुदैन भन्ने मानसिकता बोकेका मान्छेहरु देख्न थाले ।काम गर्नेलाई होइन गरी खान सक्नेभएर पनि काम नगरी बेरोजगार बस्नेलाई घृणाको दृष्टिले हेर्ने गरेको पाए । आफैलाइ पनि लज्जाबोध हुन थाल्यो । समय बित्दै जाँदा काम गर्ने उत्सुकता पनि बढ्दै गयो ।

फेरि अर्काको देशमा भनेको समयमा काम पाउन कहाँ त्यती सजिलो छ र, आवश्यक कागजात तयार गर्नु पर्ने, त्यही माथि भाषाको समस्या, रेसिडेन्सि प्राप्त गर्दा केही महिना बित्यो । त्यसपछि अन्य आवश्यक डकुमेन्ट तयार गर्दासम्म ५/६ महिना बितिहाल्यो ।

त्यो बिचको समय बिताउन निकै गाह्रो हुने गर्दथ्यो । पछिल्लो समय यही ठाउँमा क्रियाशील संस्था नेपाली महिला समाजमा आबद्ध हुने मौका मिल्यो । साथीहरु सगको कुराकानी बैठक भेटघाटले गर्दा अलि सहज हुन लाग्यो यहाँको बारेमा चिन्ने र बुझ्ने अबसर पनि प्राप्त भयो ।

समय बित्दै थियो आवश्यक कागजात तयार भए पश्चात काम गर्ने ईच्छा जाग्यो । कामको शुरूआत गरे । यसै पनि काम गरेर खट्ने बानी नभयको मान्छे म, फेरि अर्काको काम गर्ने बानी त कहाबाट होस केही दिन निकै गाह्रो लाग्ने गर्दथ्यो । फेरी चाईनिज र यहाँका महिलाहरूले काम गरेको अनुसरण गर्न लागे । उनीहरू काममा निक्कै खप्पिस हुन्छन्। जस्तै कामहरू गर्न पनि पछि पर्दैनन् ।

म मा पनि गर्नै पर्ने रहेछ भन्ने छाप बस्न लाग्यो । केही महिना मात्र बित्दै थियो समयले यति नराम्रोसंग चोट दियो त्यो चोट अझ मेटिएको छैन ।

चाईनाबाट शुरु भएको कोरोना भाईरस एकाएक विश्वभर फैलिन लाग्यो । शुरुमा त यसलाई कसैले वास्ता गरेनन धेरै ले मजाक पनि बनाए । तर फैलिने क्रम बढ्दै गएपछि र धमाधम मृत्यु हुनेको सङ्ख्या बढ्न लागे सगै सबै तिर त्रास फैलियो । अन्य देशहरू जस्तै पोर्चुगल पनि अछुतो रहन सकेन । संक्रमित सगै ज्यान गुमाउनेहरको संङ्ख्या पनि बढ्दै जान लाग्यो । होटल रेष्टुरेन्ट ब्यबसाय सबै कम्पनीहरू बन्द गरियो । मार्च १९ देखि सरकारले आपतकालीन घोषणा लागु गर्यो । आन्तरिक तथा बाह्य हवाई उडानहरू समेत ठप्प भए ।

1.jpg

१५ दिनको लागि गरिएको पहिलो बन्द सकिए लगत्तै पून आपतकालीन (स्टेट अफ इमरजेन्सी)समय थप गरियो । झन्डै २ महिनाको बन्दपछि मे २ बाट केही हदसम्म खुल्ला गरियो । तर बन्द निरन्तर नै रह्यो । मे १८ बाट खोल्न चाहाने सबैलाई कम्पनीहरू खोल्न अनुमति दिए पनि भिडभाड तथा औपचारिक कार्यक्रमहरू गर्न रोक लगाएको छ । बढीमा १० जना भन्दा बढी भेला नहुन निर्देशन गरिएको छ । बाहिर निस्किदा माक्स सेनिटाईजर अनिबार्य गरिएको छ । स्थिति अझ पनि सहज हुने अबस्था देखिदैन । कोरोना को कहर भित्र पिल्सिएर रहिरहेको अबस्था मा अझै निरासापन छाईरहेको छ ।

सक्रंमण फैलिनु र मुत्यु हुनेको संख्या एकातिर छभने लामो समयसम्म रोजगारी गुमाएर भित्रै रहनुपर्दाको पिडा अलग छ । ब्यबसायीहरू समेत चिन्तित देखिन्छन् । बिश्व अर्थतन्त्र नै खस्किएको छ । कोरोनाले तपाई हामी सबैलाई कुनै न कुनै प्रकारबाट पिडित बनाईरहेको तितो यथार्थ हो ।

कोरोनाको कहर भित्र रहेर पनि पिडालाई कम गर्ने र खाली समयको सदुपयोग गर्दै अगाडि बढ्ने तर्फ नै हाम्रो ध्यान गयो । पछिल्लो समय अनेसास पोर्चुगलसगको आबद्धताले साहित्यिक कार्यक्रम संचालन तथा सिर्जना गर्न तर्फ अभिप्रेरित गरायो । त्यस्तै पोर्चुगलमा रहेर पत्रकारिता गरिरहनु भएका आदरणीय अग्रज दाजुहरुसंग परिचित हुदै बिभिन्न किसिमका कार्यक्रमहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी हुने मौका मिल्यो यसले पनि यहाँको बसाईलाई सहज गराउन पक्कै पनि भुमिका खेलेको आभाष भयो ।


एक बर्ष को अबधि मा पोर्चुगल र पोर्चुगिज नागरिक मात्र होईन्, यहाँको नेपाली समाजलाई पनि नजिकबाट नियाल्ने मौका मिल्यो । यति नै छ भनेर निश्चित डाटा पाउन नसके पनि २०/३० हजारको संङ्ख्यामा नेपालीहरू यहाँ रहेको अनुमान गर्न सकिन्छ ।२ दर्जनभन्दा बढी आ-आफ्नो जिल्लाका संगठित समाजहरु, महिला कै क्षेत्रमा क्रियाशील २ वटा सामाजिक संस्था, बिभिन्न उद्देश्यले खोलिएका सहयोगी ग्रुपहरु, आफ्नो भाषा कला र साहित्यको जगेर्ना गर्ने उद्देश्यले संचालित साहित्यिक संस्था यी सबै देख्दा लाग्छ म नेपाल मै छु ।

हरेक राम्रा कुराहरु भित्र नकारात्मक कुराहरुले पनि जरा गाडिरहेका हुन्छन् । ठूलो परिवार भित्र असहमति, असमझदारी हुनु र कहिले काही समस्या उत्पन्न हुनु स्वभाविक हो । यहाँपनि कतिपय ठाउँमा त्यस्तो समस्या नदेखेको भने होइन । नेपालीले नेपाली माथी नै गर्ने शोषण दमन र अत्याचारका कुराहरु यहाँ पनि बाक्लै सुनिन्छ । कतिपय संस्थाहरूमा नेपालमा भन्दा बढी राजनिती भैरहेको देखिन्छ । लिभिङ टुगेदरमा रहेर घरपरिवार बिर्सनेहरू पनि बाक्लै भेटिदो रहेछ ।

यसर्थ यस्ताखाले नकारात्मक तत्वहरूबाट समय मै सचेत हुनु पर्ने देखिन्छ । जन्मभुमी र आफन्तबाट टाढा रहेर बिभिन्न संघर्षहरूसग जुध्दै गरेको अबस्था मा सामाजिक संस्थाहरुलाई दुख सुख बिसाउने साझा संस्थाको रूपमा लिन सके राम्रै होला भन्ने लाग्छ ।

अन्त्यमा,
म नेपालमा रहेर आफ्नै गाउँठाउँमा समय बिताउदै गर्दा अगाडि बढ्न प्रेरणा दिनुहुने, हरेक संघसंस्थामा रहदा साथ र हौसला प्रदान गर्नु हुने सम्पूर्ण आफन्त शुभचिन्तक तथा साथीभाईहरूप्रति हृदय देखी नै आभार प्रकट गर्न चाहन्छु । यो एक बर्षको समय प्रदेशमा बिताउदै गर्दा सहजता प्रदान गर्नु हुने सम्पूर्ण आत्मिय मित्रहरु तथा अग्रज र शुभचिन्तकहरू प्रति पनि नमन गर्न चाहन्छु । धन्यबाद ।

जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी |

( लेखक शान्ति अर्याल अधिकारी नेप्लिज डायस्पोराकी पोर्चुगल प्रतिनिधि हुनुहुन्छ। -सम्पादक।)

images
प्रकाशित मिति :श्रावण १७, २०७७ शनिवार - ०८:०२:१६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend