लाखौं लाख गरेर खर्च जसको निर्माण गर्दै थिएँ
खोजी बेस र दक्ष मानिस यहाँ आफै खटेको थिएँ
राम्रै सोच विचारमा प्रविधिमा बन्दै थियो यो जुन
आस्थाको मनभित्रको धरहरा गर्लम्म पल्ट्यो किन?
यो विज्ञान रह्स्य खोज्दछ भनी चर्चा चलेकै थियो
पढ्नेका मनमा असाध्य बलियो विश्वास बन्दै थियो
केही भो त्यसरी पढी प्रविधिको भो चाल यस्तो किन?
आस्थाको मनभित्रको धरहरा गर्लम्म पल्ट्यो किन?
मेरो पौरख जे थियो जति थियो साँचेर खै राखिन
आफ्नो सीप र दक्षता मनमनै राखेर खै बाँचिन
आफ्नै वैभव सीपले समयमै जस्तो बन्यो यो जुन
आस्थाको मनभित्रको धरहरा गर्लम्म पल्ट्यो किन?
कत्रो आश उमङ्गमा रहरमा निर्माण गर्दै थिएँ
आफै भाग्य बनाउने रहरमा विश्वास सार्दै थिएँ
आफ्नै कर्मठ हातले मिलिजुली गर्दै थिएँ सिर्जन
आस्थाको मनभित्रको धरहरा गर्लम्म पल्ट्यो किन?
छन् कस्ता कठिनाइमा प्रविधिमा सामान सोध्दै थिएँ
राम्रा साधन, सीपमा र विधिमा सल्लाह खोज्दै थिएँ
केकस्ता श्रम, सीप, सोच, विधि हुन् खोजें सबै छोडिन
आस्थाको मनभित्रको धरहरा गर्लम्म पल्ट्यो किन?
श्रद्धाभाव थियो, समादर थियो, विश्वास चोखो थियो
स्नेही भाव थियो, सहायक बनी बस्ने इरादा थियो
यस्तै भाव विचारमा चहकिलो बन्दै गरेथ्यो मन
आस्थाको मनभित्रको धरहरा गर्लम्म पल्ट्यो किन?
खोजी गर्छु म फेरि त्यो प्रविधिमा गल्ती भएको किन?
सोची हेर्छु म फेरि सीप, श्रममा गल्ती भयो के किन?
गल्तीले कसको भयो यति ठूलो नोक्सान यस्तो किन?
आस्थाको मनभित्रको धरहरा गर्लम्म पल्ट्यो किन?
मैले रच्नु छ फेरि यो धरहरा आस्था र विश्वासको
फेरी हेर्नु छ फेरि सीप अबको अभ्यास निर्माणको
साँच्चै सुन्दर उच्च खूब बलियो बन्ने लिई कामना
आस्थाको मजबूत त्यै धरहरा लाग्दैछु निर्माणमा !
२०७७ साउन १८
पाल्पा,
हाल – काठमाण्डौं ३२, मनोहरवस्ती