दर्पण तिमिल्सिना
हिजोको समय र आजको समय आकाश पातालको फरक छ, हिजो सिंहदरबारमा भएको फोहोरी राजनितीको गन्ध दुर दराजसम्म पुग्न महिनौ लाग्थ्यो अथवा भनौं पुग्नै पाउथेन, न त भोट मागेर फर्किएपछि नेताले ती कुना कन्दराका मानिसका असुविधालाई संबोधन नै गर्न दबाब पर्थ्यो । दुख पिडा थियो तर त्यतिबेला मिडिया थिएन, मान्छे अकालमा मर्थे तर सरकारको कानसम्म पुर्याउने सरकारी मिडियाले सुइकोसम्म पनि दिदैनथे ।
अहिले अवस्था फेरिएको छ, मिडियाको पहुँच हातहातमा पुगेको छ । उत्पीडनका समाचार बनेका छन्, विकृती र भ्रष्टाचार विरुद्व संगठित आवाज उठिरहेकाछन्। दुखी पीडितको लागि सरकार भन्दा पहिला मिडिया पुग्छन। तर अचेल सहयोगका नाममा मिडिया र केही स्व-घोषित सामाजिक अभियन्ताहरुले जनस्तरबाट अन्धाधुन्द उठाउने सहयोग रकमको व्यापक अनियमिता र लापरबाही देखिने गरेको छ। पीडितलाई सहयोग गर्ने नाममा ठुलो समूह अचेल आँसुको व्यापार गरिरहेका छन्।
केही दिनअघि काठमाडौंको कपन चौरमा कार्टुनभित्र राखेर फालिएको अवस्थामा भेटिएको एउटा शिशुको भिडियो मिडिया र सामाजिक संजालमा निकै भाइरल भयो । कुनै आमाले बेबारिसे रुपमा छोडेर फालिएको अवस्थामा त्यो अबोध शिशु देखेपछि उसको लालनपालन गर्न भन्दै विभिन्न युट्युबरहरुले सहयोग अभियान नै चलाए । केही दिनमा नै देश बिदेशमा बस्ने मनकारी नेपालीले सहयोग स्वरुप लाखौं रकम पठाए ।
त्यस्तो दर्दानक अवस्था देखेपछि जो कोहिको मनमा पनि दया नलाग्ने कुरै भएन, सन्तान हुने कतिले आफ्नै बच्चाको बिचल्ली भए झै सम्झिए भने सन्तान नहुने केहिले आफुले सन्तानको रुपमा पालनपोषण गर्ने इच्छा व्यक्त गरे । लगातार युट्युब र फेसबुकका भित्ताहरु पिडाले भरिएका भिडियोले रंगिए ।
अहिले त्यो घटना पैसा उठाउन रचिएको नाटक भएको रहस्य बाहिएको छ । नेपाल प्रहरीले घटनामा संलग्नता देखिएका केहीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । घटनाको सत्यतथ्य छानबीन पछि बाहिर आउला ।
यो त एउटा प्रतिनिधी उदाहरण मात्रै हो । यस्तै प्रकृतिका भिडियोहरु अचेल भाइरल हुने र सहयोगको नाममा लाखौं रकम उठाउने धन्दाको रुपमा देखिन्छन । घटना बास्तबिक हो या कसैले स्वार्थको लागि रचेको नाटक हो बुझ्न नपाउदै मानिसहरु आफुले दुख गरेर कमाएको पैसा पठाउन तछाडमछाड गर्छन ।
आफ्नो एकछाक गाँस काटेर, आफ्ना रहरहरु एकातिर थन्काएर कसैको दुखमा मलमपट्टि लगाउन अग्रसर हुने नेपालीको सबैभन्दा राम्रो बानी हो । तर त्यस्ता मनकारी नेपालीको भावना माथि खेलवाड गर्दै समाजसेवाको नाममा अचेल जसले पनि पैसा उठाउने र बाढेको प्रचारबाजी गर्ने गरेका देखिन्छन । पिडित र सहयोगी बिचमा एउटा बिचौलिया छ जसले आफ्नो कमाइ धन्दा तिनै गरिब दुखी असाहयको आँसुलाई बनाएको छ ।
खाडीमा दुख गरिरहेको एउटा श्रमिक नेपाली आफ्नो अनवरत कामबाट थकित हुँदै अबेर राति कोठामा आइपुग्छ। उसँग बोल्ने उसका घरपरिवार त्यतिञ्जेल नेपालमा सुतिसकेका हुन्छन। अनि जब उ दिनभरिका देशका खबर हेर्न अनि परदेशी मन भुलाउन सामाजिक संजालमा पुग्छ। तब उसले देख्ने तिनै असहाय पीडितका कथा भएको छ। अचेल त्यस्ता दुख र बेदनाका घटनालाई दुखान्त कथा बनाएर युट्युबरहरुले सनसनीपूर्ण बनाउछन र आफ्नो च्यानलको भ्युज सँगै सहयोगका लागि नम्बर दिन्छन।
देश दुखेको बेला परदेशीको मन झन् बढी दुख्दो रहेछ। दैनिक जसो अखबार र संचार माध्यमबाट देशको दुरावस्थाबारे लेखिएका कुराहरु देख्दा हर रात ऐठन हुन्छ। श्रम गर्न परदेशिएको एउटा नेपाली ति दुख पाएका, रोगले उपचार नपाएका, सडकमा माग्दै हिडेका नेपालीको अवस्था देख्ने बित्तिकै आफुले सक्दो सहयोग गर्न पाए हुन्थ्यो भन्ने सोच्छ अनि तिनै कथालाई मरमसला थपेर सनसनीपूर्ण बनाउने युट्युबरलाई नै विश्वास गर्दै पैसा पठाउछ।
बिचरा त्यो मनकारी परदेशी युवालाई के थाहा त्यो उसले दुख गरेर जम्मा गरेको पैसा सम्बधित पीडित सम्म पुग्छ या पुग्दैन। न त उसले त्यो पैसाको हिसाबकिताब नै माग्छ, न त त्यो बिचौलियाले ति सबै उठेका रकमको हरहिसाब बुझाउनु नै पर्छ। अलि मन रुवाउने घटना हो भने त्यो एउटा भिडियोबाट लाखौं लाख रकम उठ्छ। तर ति प्राय रकमको श्रोत भनेको विदेशमा श्रम गरिरहेका नेपाली नै हुन्।
साच्चिकै केही राम्रा मिडिया र युट्युबरको कारण केहीले पुनर्जन्म पाएका छन भने केहीले बस्नका लागी ओत पाएका छन। तर केही घटनालाई देखाएर अरुले पठाएको पैसामा सामाजिक अभियन्ता भन्नेहरुलाई भगवान नै ठान्नु पक्कै ठिक होइन। अहिलेका फेसबुक र अन्य सामाजिक संजाल हेर्ने हो भने पैसा बाढ्नेहरु प्रसस्त देखिन्छन तर त्यसको श्रोत र उसले गरेको कमाइधन्दालाई बारे बिरोध त के कुरा उठान सम्म गर्ने हो भने सामाजिक संजालमा झम्टिन आउछन।
जनतालाई दुख परेका बेला हेर्नुपर्ने राज्यले हो। दुख र पीडाको बेला अभिभावाक बनेर राज्य नै अगाडी आउनु पर्ने हो। तर हाम्रोमा राज्यलाई त्यो हेर्ने र देख्ने फुर्सद नै छैन। राज्य त त्यहाँ भेटिन्छ जहाँ भ्रस्टचार र अनिमियाताको मुहान भेटिन्छ। यतिबेला बाढी पहिरोले कतिका घरखेत सँगै परिवार बगाएको छ, बस्ने बास त हराएकै छ त्यो भन्दा सरकारको राहतको आस पनि हराएको छ ।
बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको बेला सरकारले एकद्वार प्रणालीबाट सहयोग पठाउन प्रत्येक बर्ष अपिल गर्छ। तर सहयोगी दाताहरुलाई सरकारी कोषमा रकम पठाउनु भनेको सरकारका आसेपासेलाई पोस्नु जस्तै हो भन्ने लाग्छ। ति सबैको प्रमुख कारण हाम्रो सरकारी संयन्त्र प्रति घट्दै गएकोको बिश्वास हो। जब राज्य प्रति नै भरोसा र विश्वास छैन भने केहि महलपट्टि लगाइदिने ति अभियन्ता प्रति आशा राख्नु स्वाभाविक नै हो। तरपनि सरकार भ्रस्ट र लाचार छ भन्दैमा अरुले अनिमियता गर्न पाउनुपर्छ भन्ने हुदै होइन।
एउटा युट्युबरले लाखौ करोडौ रुपैयाँ उठाएर बाढेको स-गर्व भन्छ। तर त्यति ठुलो रकमको हिसाब बुझाउने कसलाई र नियमन गर्ने कसले ? नैतिकता र भावना मात्रैलाई सत्यता र बिस्वासको कसी मान्न सकिदैन। त्यसरी पैसा उठाउने र बाढ्ने अभियन्ताहरुलाई सरकारको कुन निकायले हेर्नुपर्ने र समन्वय गर्ने हो तुरुन्तै गर्नुपर्ने देखिन्छ। नत्र समाजमा सहयोग उठाउने नाममा एउटा ठुलो विकृतिले जरा गाड्ने निश्चित छ। सहयोग गर्नु पक्कै नराम्रो होइन तर तपाईले सहयोग गरेको रकम बास्तविक पीडित सम्म पुग्छ या पुग्दैन भन्ने यकिन नभईकन पैसा पठाउन हतार पो नगर्ने हो कि ?
ओस्लो, नर्वे